
२१ पुस, काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न प्राकृतिक ग्यास बाहेकको अर्को विकल्प अझै नदेखिएको लगानी बोर्डले जनाएको छ ।
मल कारखाना चलाउन प्रमुख स्रोत उर्जा बिजुली वा प्राकृतिक ग्यास कुन हुने भन्नेबारे विवाद भइरहेको बेला बोर्डले गरेको अध्ययनमा यस्तो निष्कर्ष बाहिरिएको हो । बिजुलीलाई प्रमुख उर्जा स्रोत मानेर मल कारखाना खोल्न तत्तकाल असम्भव देखिएको बोर्ड स्रोतले बतायो ।
मल कारखानाबारे काम थाल्न सरकारको निर्देशन पछि बोर्डले कारखाना सञ्चालनको विधि र प्रयोग हुने उर्जा एवं लगानीबारे तुलनात्मक अध्ययन गरेको एक अधिकारीले बताए । ‘मल कारखानाका लागि वाटर इलेक्ट्रोलाइसेस वा प्राकृतिक ग्यास भन्ने विषयमा तुलनात्मक अध्ययन गरेका थियौं,’ ती अधिकारीले थपे, ‘बिजुलीलाई उर्जाको प्रमुख स्रोतका रुपमा प्रयोग गर्न सकिने वाटर इलेक्ट्रोलाइसेस विधि असम्भव देखियो ।’
गत साउनबाट बोर्डले शुरु गरेको अध्यायन टुंगिने चरणमा पुगेको र धेरै कुरा अहिल्यै खोल्ने अवस्थामा नरहेको बोर्डका सूचना अधिकारी रमेश अधिकारीले बताए । नेपालमा मल कारखाना खुल्न सक्ने र त्यो देशको हितमा कसरी हुन्छ भन्ने हिसाबले प्रविधि र उर्जाको विकल्पमा बोर्डले अध्ययन गरेको अधिकारीले बताए ।
‘देशमा अहिले बिजुलीको उपलब्धता प्रशस्त भएका कारण बिजुलीबाट वा विश्वमा अत्यधिक प्रयोगमा रहेको प्राकृतिक ग्यासमा आधारित कारखाना खोल्न सकिन्छ भन्ने बारे तुलनात्मक अध्यायन गरेका थियौं,’ अधिकारीले भने, ‘अध्ययनका सीमाका कारण अहिल्यै सबै कुरा भन्ने बेला आएको छैन ।’ कुन प्रकारको उद्योगमा कति खर्च लाग्ने र निर्माण चरण के कस्तो हुने भन्नेबारे भने अध्ययनको समग्र रिपोर्टसँगै सार्वजनिक गर्ने बोर्डको तयारी छ ।
नेपालमा रासायनिक मलको अभाव चर्किन थालेपछि गत वर्ष सरकारले आगामी तीन वर्ष भित्रै नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गरेको थियो । मल काखाना स्थापनाबारे अध्ययन गर्न तत्कालिन अर्थमन्त्री विष्णु पौडेलका संयोजकत्वमा उद्योग र कृषि मन्त्री सम्मिलित उच्चस्तरीय समिति गठन भएको थियो ।
उक्त समितिले प्राकृतिक ग्यासमा आधारित मल कारखाना नेपालमा खोल्न सकिने प्रतिवेदन प्रधानमान्त्रीलाई बुझाएको थियो । सोही प्रतिवेदनको अधारमा विस्तृत अध्ययन गर्न बोर्डलाई सरकारले चालु आवमा ५० लाख रुपैयाँ बजेट विनियोजना गरेको थियो ।
प्रतिक्रिया 4