+
+

व्यवसायीहरुले भने : स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ

कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरुले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १४:१९

७ माघ, काठमाडौं । कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।

विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरुले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन् ।

संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए । उनले यस्तो बेलामा सरकारले सहुलियत ऋण उपलब्ध गराएर स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिन माग गरे ।

व्यवसायी बाँस्तोलाले व्यवसायीहरुले पनि एउटा पेशामा मात्रै आधारित भएर काम गर्नु नहुने बताए । उनले राज्यले भरोसा नदिएको खण्डमा मजदूर र व्यवसायीहरु आफ्नो पेशाबाटै पलायन हुने अवस्था आइसकेको बताए ।

व्यवसायी बाँस्तोलाले भने, ‘राज्यले एउटा सबैजना अट्नेगरी एउटा नियम बनाएर त्यसमा हिँडाउन सक्नुपर्छ । फेरि लकडाउन भए आर्थिक अवस्था बिग्रिँदै जान्छ । अर्थतन्त्रमा नकारात्मक असर देखिन्छ । लकडाउन भनेर लकडाउन होइन, त्यसमा नियमअनुसारको आ आफ्नो गतिविधि गर्न पाउने गरी काम गर्न दिनुपर्छ ।’

यस्तै यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोपकार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताए । उनले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै उनले व्यहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताए ।

उनले सबै बालबालिकाहरुले कोरोनाबिरुद्धको खोप नलगाइसकेको र नेपालमा पनि पर्याप्त जनसंख्याले खोप नपाएकोले सरकारले गरेको उक्त निर्णय कार्यान्वयनमा लैजान कठीन रहेको बताए ।

प्रवक्ता बर्तौलाले विमानस्थलमा खोपकार्ड लगाएकाहरुलाई मात्र चढ्न दिँदा त्यसको रेकर्ड राख्ने सिस्टम नभएको भन्दै उनले सरकारले यस्ता निर्णयलाई सच्याएर सहजतापूर्वक काम गर्ने वातावरण मिलाइदिनु पर्ने बताए ।

‘अहिलेसम्म नेपालीहरु ३५-४० प्रतिशतले मात्रै खोप लगाएका छन् । बाँकी ६५ प्रतिशतले जहाज चढ्न पाउने कि नपाउने ? त्यो अवस्था पनि छ । अर्कोकुरा १८ वर्ष मुनिकाले खोप लगाइसकेको अवस्था छैन । बच्चाहरुलाई चढ्न दिने कि नदिने ? कार्यान्वयन गर्ने हो भने त्यो सबै राम्रोसँग कार्यान्वयन गर्नुपर्छ होइन भने निर्णयको लागि मात्रै गरेर अव्यवहारिक छ ।’ प्रवक्ता बर्तौलाले भने, ‘एयरपोर्टमा त्यो कार्ड हेरेपछि त्यसको रेकर्ड राख्ने सिस्टम के ? न त्यो कार्डमा कोर्ड नम्बरहरु छ, न नम्बरिङहरु छ, त्यो नम्बरको आधारमा हामीले चढ्न दिनलाई । भोलि कोही मानिसले खोप लगाएको मानिस गए/नगएको भनेर हेर्न आयो भने हामीले देखाउन सक्ने प्रमाण केही पनि हुँदैन । त्यसैले यो व्यवहारिक छ जस्तो लाग्दैन ।’

त्यस्तै होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताए । उनले सरकारले विगतमा झैँ यसवर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको बताए । व्यवसाय टिकाउने कुरामा पनि ध्यान दिनुपर्ने भन्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाएर अघि बढ्नुपर्ने उपाध्यक्ष शाहको भनाइ छ ।

उपाध्यक्ष शाहले भने, ‘स्वास्थ्यको मापदण्ड पालना गराउनु र यति ठूलो संक्रमण भएको बेलामा नियन्त्रण गर्नु ठिक हो तर त्योसँगै व्यवस्थापनका उपायहरु कसरी गर्ने ? व्यवसाय कसरी टिकाउने कुराहरु सरकारले हेरेकै छैन । आर्थिक गतिविधि कसरी चलायमान बनाउने यो कुरा हाम्रोमा आएन । २०२० मा पनि यस्तै किसिमको थियो र अहिले पनि ।’

उपाध्यक्ष शाहले सरकारले आर्थिक क्षेत्रलाई नजरअन्दाज नगरी सँगै लिएर जानुपर्ने बताए । उनले भने, ‘आर्थिक क्रियाकलाप कसरी गर्ने भन्ने एउटा समन्वयात्मक कसिमले राष्ट्रिय कार्यदिशा आउनुपर्छ । अहिले राजनीतिको वरिपरि मात्रै देश घुमिरहेको छ । आर्थिक क्षेत्रलाई पनि सबल रुपले हेरिदिनुपर्छ । त्यसको लागि सरकारले निजी क्षेत्रको साथ सहयोग लिएर अघि बढ्नुपर्छ । आर्थिक क्षेत्रलाई नजरअन्दाज गरिनुभएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?