
शनिबार झिसमिसेमै कतै जानु थियो, सोमबारदेखि शुक्रबारसम्म हप्ताको पाँच दिन अफिस आवतजावत गर्दा दैनिक १०० माइल गाडी चलाउनुपर्ने झण्झटबाट मुक्ति पाउन ट्याक्सी (उबर) लाई डाकें। एक फरासिला, पढेलेखेका अश्वेत चालक तीन मिनेटदेखि घरको दैलोमा पर्खिबसेको जनाउ फोनको स्क्रिनमा आयो। तयार नै थिएँ। उनी अर्थात् ओमारको गाडीमा बसें। सामान्य शिष्टाचारपछि कुराकानी अगाडि बढ्यो। हामी १०औं वर्षको दोस्ती पछि पुन: भेट भएझैं मनका कुराहरू साटासाट गर्न थाल्यौं। आधा घण्टाको सवारमा बातचितको श्रीगणेश म आफैंले गरें।
सामान्य अभिवादन पश्चात् मैले सोधें- ‘कस्तो छ मित्र, बिहानको ६ मात्र बजेकाले यो रात्रिकालीन सिफ्टको अन्त्य हो कि दिनको शुरुआत ?’
उनले सम्मान र आदरभावका साथ भने- ‘भर्खरै आधा घण्टा अघिबाट काम शुरु गर्दैछु।’ मैले उनको कुरा भुईंमा खस्न नपाउँदै पूरक प्रश्न सोधिहालें– ‘पहिलो ट्रिप होला, होइन ?’
चलायमान जिन्दगीमा यसरी कहाँ पहिलो सिफ्टमा आधा घण्टा बिताउन सकिन्छ भन्ने भावका साथ उनले भने- ‘यो चौथो ट्रिप हो।’ उनले आफूलाई कर्मयोगी मानिस भएको पुष्टि गर्न खोजे।
आधा घण्टाको यात्रालाई रमाइलो बनाउन प्रयास गरें। मैले केही प्रश्नहरू तेर्स्याएँ। ‘लकडाउनमा तपाईंले अँगाल्नुभएको व्यवसायमा के कस्तो असर परेको छ ?’, ‘पूर्णकालीन रूपमा यही काममा हुनुहुन्छ कि आंशिक मात्रै हो ?’ यस्तै प्रश्नहरू तेर्स्याइरहँदा आफू फरासिलो र भद्र मानिस हुँ भन्ने पुष्टि गर्न सकेसम्म विनम्र बनिरहेको थिएँ।
उनले लकडाउनको बारेमा खाँट्टी अंग्रेजीमा धाराप्रवाह कुरा गरे। वस्तुनिष्ठ रूपमा आफूले व्यहोरेका, सरकारी लापरबाही, जनताको अधिकार, वर्तमान बेलायती संसदमा मञ्चन भइरहेको घटनाक्रम जस्ता कुरामा राम्रै सुझबुझ रहेको सुनाए।
म अझै रोकिइनँ। आफ्नो अन्तरमनको राय मिसाएर मैले सोधें, ‘त्यसो भए टोरी (कन्जरभेटिभ पार्टी) ले राम्रो गरिराखेको छैन ? बोरिस जोन्सनले छाड्नुपर्छ, होइन त ?’
उनको चलाखी र यथार्थ जवाफले म अवाक् भएँ। ‘यसले राम्रो पटक्कै गरेन, यो पार्टी हामी जस्ता गरिखानेको पक्षमा छँदैछैन, यसले हाम्रो प्रतिनिधित्व गर्नै सक्दैन र पनि लोकतन्त्रको लागि बीचमा सरकार फेर्नु राम्रो होइन। जनताको जनादेश पाएकोले यो पार्टीको सरकारले पाँच वर्ष काम गर्न पाउनुपर्छ भन्ने छ। हामीले देख्यौं नि टेरेशा मेले ‘डेभिड क्यामरुनको लागि दिएको म्याण्डेट हो, मेरो लागि होइन– म आफ्नो लागि जनतामा जान चाहन्छु’ भनी बीचैमा ‘फ्रेस म्याण्डेट’ लिनको लागि जाँदा पूर्ण बहुमतको सरकार ‘हंग-पार्लियामेण्ट’ बन्यो। यसले डेमोक्रेसीलाई राम्रो गरेन।’
उनले एक परिपक्व र समझदार राजनीतिज्ञले जस्तो आफ्नो तर्क धाराप्रवाह राखिरहे। म सुनिरहें।
चार वर्ष अघिकै नजिर अगाडि हुँदाहुँदै फेरि बेलायती संसदले यस्तो अपरिपक्व निर्णय गर्दै गर्दैन भन्ने उनको ठोकुवा थियो। उनले अगाडि थपे, ‘बोरिसलाई अरु तीन वर्ष हामी जस्ताले व्यहोर्नुपर्ने हामी बेलायतीहरूको नियति बन्यो। उनी राम्रो भएर होइन, उनको पार्टीमा उनलाई प्रतिस्थापित गर्ने अर्को सक्षम उत्तराधिकारी तयार छैन। त्यसैले उनैले हामीमाथि बाँकी अवधि पनि राज गर्छन्।’
मनमनै एकछिन घोत्लिएँ– अहिले बेलायती बुकीहरूमा गरिने सर्भेमा दुई जना अग्रपंक्तिमा छन् तर दुवै अंग्रेज मूलका होइनन्। वर्तमान अर्थमन्त्री ऋषि सुनाक र गृहमन्त्री प्रीति पटेल। दुवै जना बोरिसका प्रिय पात्र हुन्। त्यसैले बोरिसलाई चुनौती दिने हैसियत राख्दैनन्। उनकै छायाँ बन्न बाध्य छन् र बोरिसले लगाएको गुन तिर्न पनि राजनैतिक चुनौती साध्दैनन्।
मलाई लाग्यो हाम्रो मातृभूमिमा मात्रै होइन, विकसित भनिने देशमा पनि सरकारप्रतिको यो वितृष्णा चरम हुँदोरहेछ। मैले कोट्याउँदै अघि बढें। ‘सरकारले कोभिडमा त राम्रै आर्थिक राहत दियो नि होइन र ?’ मेरो प्रश्नमा रोचक जवाफ दिंदै उनले भने- ‘यसको खास जस त ऋषि सुनाकलाई दिन्छन् नि बेलायती आम जनताले। उनले थोरै लाजै पचाएर क्षेत्रीयतावादीको आभास दिंदै जवाफ दिए। उनी रोकिएनन्– ‘उनलाई अर्थतन्त्रको मात्र चिन्ता छ– जनस्वास्थ्यको चिन्ता कम देखियो, यो उल्टो सोचले देश हाँक्न सक्दैन। दैनिक लाखौंको संख्यामा संक्रमित छन्, दैनिक ५०० मर्दैछन्। अब लकडाउन खुकुलोको नाममा जनतामाथि यो चरम लापरबाहीको दीर्घकालमा ठूलो मूल्य चुकाउनुपर्छ देशले।’
उनी रोकिएनन्। ‘अर्थतन्त्र चल्नु पर्यो– जनता मरे मरोस् ? यस्तो पनि सरकार हो ? जनताको नाममा गरिने शासन यस्तो हुन्छ भन्ने मलाई लाग्दैन। पहिलो शर्त जनताको जीवनरक्षा हो– दोस्रो अर्थतन्त्र हुनुपर्नेमा उनी उल्टो हिंड्दैछन् र उनले (ऋषिले) सरकारी कोषमा भएको सञ्चित केही व्यवसायलाई दिएको न हो ? हेर– उनले अनेकन् नाममा यो जनताबाटै उठाउने हो– तिमी हेर्दै जाउ नि।’
उनले मलाई मुखभरिको जवाफ दिए। चुनौती स्वीकार्दै म सुनि मात्र रहें।
एक शिक्षित, भाषाको निखारता हेर्दा बेलायतमै जन्मेका जस्ता लाग्ने एक अश्वेत ट्याक्सी ड्राइभर यतिमै रोकिएनन्। उनी उग्रराष्ट्रवादको जगमा बनेको सरकार र यसको नेतृत्वको कटाक्ष गर्दै बोरिस र ट्रम्पको तुलना गर्दै थिए।
‘ट्रम्पले कहिल्यै लोकतन्त्र मानेनन्, उनी लोकतन्त्रवादी हुँदै होइनन्, त्यो उनको संस्कारै थिएन र दुनियाँलाई लोकतन्त्रको दुहाई दिने अमेरिका सिंगो विश्वमा उपहासको पात्र बन्यो। इतिहासलाई यसरी बन्धक आजसम्म बनाएको पाइएको थिएन’ (ट्रम्प) बोरिसको खास साथी भन्दै अट्टहास हाँसो हाँसे ओमार !
‘उसले हार सुनेकै रहेनछ। त्यसैले हार्दा ऊ मूर्छित भयो। पराजय त कल्पनासम्म गरेको रहेनछ मूर्ख मान्छेले। जनताको अभिमत स्वीकार्न नसक्ने मूर्ख ! अझैसम्म स्वीकारेको छैन– अब त सद्बुद्धि आयो होला भनेको, अझै के के बोल्दै रहेछ’, उनले थपे।
‘म त उनको फोटो टिभीमा देख्ने बित्तिकै यसले यही बोल्छ भन्ने अनुमान लगाइहाल्छु’, उनले ट्रम्पप्रतिको घृणा राम्रोसँग पोखे। लाग्दथ्यो आफूभित्र रहेको उकुसमुकुस कतै पोख्न उनी आतुर थिए र त्यो संयोग भरपूर प्रयोग गर्दैछन्।
हे ओमार– हामी पनि तिमी जस्तै विवेकी बनेर देश-जनता र शासन-सत्ताप्रति उत्तरदायी बन्ने दिन कहिले आउला है ?
आफू अश्वेत भएर मात्र होइन होला शायद उनले ‘तिमीलाई के लाग्छ’ भन्दै मेरो समेत श्रद्धाभाव पाउने अभिप्रायले नेता त बाराक जस्तो हुनुपर्ने बताए। उनको लवज, शिष्टता, सामान्य आचरण, परिवार, दैनिकीबाट हामी सबैले सिक्नुपर्ने पाठ पढाए मलाई।
‘हेर बर्गरको लाइनमा बस्छन् उनी, भेषभुषा हेर– एक सामान्य नागरिक जस्तो छ, वाक्पटुता हेर- संसारलाई मन्त्रमुग्ध बनाउने खूबी छ, उनकी श्रीमती पनि उस्तै नम्र, शिक्षित र आदर्श लाग्छ मलाई त’, उनी धाराप्रवाह बोलिरहे। म एक असल श्रोता बनेर सुनिरहें। राम्रो लागेको कुरामा केही थपें तर चित्त नबुझेको सवालमा भने बोलिनँ किनकि म उनलाई निरूत्साहित गर्न चाहन्नथें।
ओमारसँग प्रचुर सामाजिक र राजनैतिक चेत रहेछ। समाजलाई दलीय राजनीतिले पारेको नकारात्मक प्रभावलाई समेत बोध गर्दै उनले सुन्दर विश्लेषण गरे। उनको विश्लेषणबाट जो कोही पनि प्रभावित हुन्छन् भन्ने मलाई यात्राको क्रममा लागिरह्यो।
पश्चिमतिर सामान्यत: उग्रवामपन्थ विरोधी मनोभाव देखिन्छ। उक्त कुरा ओमारमा समेत झल्किन्थ्यो। उत्तरकोरिया, चीन र पुटिनको सख्त विरोधी उनी सामाजिक जागरण विशेष गरी राजनीतिले नै समाज परिवर्तन गर्छ भन्नेमा अडिग देखिए। यद्यपि राजनीतिमा व्याप्त दण्डहीनता र अपराधीकरणका साथै जवाफदेहीको कमि विकासोन्मुख र अल्पविकसित मुलुकहरूमा मात्र होइन बेलायत र अमेरिका जस्ता ठूला र विकसित देशमा पनि रहेको ओमारको निष्कर्ष थियो। उनीहरूले लोकतन्त्रको लय बिर्सेकोमा दुखित र चिन्तित देखिन्थे उनी। अमेरिका र त्यसमा पनि ट्रम्प शासनकालको खरो विरोधमा उत्रिए उनी। ओमारले उग्रराष्ट्रवादको झण्डामुनि लुकेको निहित स्वार्थ राम्ररी बुझेको अनुभूत हुन्थ्यो। हारलाई नस्वीकार्दा क्यापिटोल (अमेरिकी संसद) मा गराएको हमलाले उनको मन साँच्चै फाटेको रहेछ।
आधा घण्टाको ओमारसँगको भलाकुसारी पत्तै नभई टुङ्गियो। छुट्टिने बेलामा सामान्य औपचारिक बिदाई गर्दै भनें- ‘तिमीसँगको यो छोटो यात्रा अविस्मरणीय रह्यो ओमार। तिम्रो सोच, तीक्ष्ण विवेक र समाजप्रतिको लगावको साँच्चै प्रशंसक भएँ। फेरि कतै भेट होला न होला म तिम्रा यी भावनाहरूलाई सम्मान गर्छु। समयले कतै फेरि भेट्टाए राम्रै भो। नभए आफ्नो ख्याल गर्नु। सुरक्षित हुनु।’
हामी छुट्टियौं। तर, मनमा एकप्रकारको बेचैनीले पछ्याइरह्यो। फोनको एपमा नाम हेरें- ओमार अब्दी। उनले प्रदान गरेको सेवाबारे मूल्याङ्कन गर्ने, टिप्स दिने र उनलाई पुनः सेवाको लागि प्राथमिकतामा राख्ने प्रावधान उक्त एपले दिएको थियो। ती सबै सुविधालाई प्रयोग गरें र पुनः कुनै दिन उनै ओमारसँग यस्तै आधा घण्टा कतै सवार हुने आशा पाल्दै आफ्नो गन्तव्यतिर लागें।
ओमारसँग छुट्टिएपछि सरसर्ती मेरो दिमागमा आफ्नो मातृभूमिको वर्तमान अवस्था घुम्न थाल्यो। चीन सरकारले दिएको र खरीद समेत गरेको २४ लाख बुस्टर खोप भण्डारबाटै हराएको विवरण सरकारी अधिकारीले नै सार्वजनिक गरे। संसदीय समितिमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सम्बन्धित स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिवलाई प्रश्न गरे। चित्तबुझ्दो वास्तविकता आजसम्म कसैले पाउन सकेका छैनन्। यस्तो संवेदनशील जनस्वास्थ्यको सवाललाई छानबीन गरी रेकर्ड सच्याउन एक कर्मचारीको समिति बनाई टुङ्ग्याउने प्रपञ्चमा सरकार देखिन्छ।
लोकतन्त्रको एक सुन्दर पक्ष आवधिक निर्वाचन हो। खासगरी नेपालको वर्तमान संविधानले परिकल्पना गरेको स्थानीय तह पालिका स्तरको सभाले कार्यपालिका, व्यवस्थापिका र कतिपय सवालमा न्यायपालिकाको समेत परिकल्पना गरेको छ। यस्तो अधिकारसम्पन्न स्थानीय तह रिक्त रहँदा जनसरोकारका ५०औं कामहरू ठप्प हुन्छन्। यस्तो अहं र संविधानले समेत रिक्तताको कल्पना नै नगरेको पालिकाहरूको चुनाव गराउन सरकार अनेकन् कानूनी छिद्रहरू खोज्दै पन्छिन खोज्दैछ।
के लोकतन्त्रले यस्तै माग्दछ ? के हामीमा चेतको यति पनि विकास भएको छैन कि ओमारले बोरिसको शासनशैलीप्रति यति घृणा गर्दा समेत उनी बाँकी अवधि निर्वाध रहनुपर्ने तर्क गर्छन्। किन ? किनभने लोकतन्त्रलाई मूल बाटोबाट हिंडाउन केही यस्ता पात्रहरू जनमतको नाममा व्यहोर्नुपर्ने उनमा विवेक छ।
हाम्रातिर सबै खराब छन्, यो होइन, तर केही खराबले धेरै राम्राहरू माथि शासन गरिरहँदा लोकतन्त्रको भाष्य नै लोप भएको अनुभूति हुँदोरहेछ। लोकतन्त्र दलको परिधिमा अट्दैन, यो त दलभन्दा धेरै माथि छ। तर दल लोकतन्त्रको परिधिमा अट्छ। दल जनता र प्रतिनिधि शासक होइन सेवक भएर रहेका ठाउँमा दल आवश्यक छ। मत हाल्ने बेलामा कोही कार्यकर्ता होइन एक समान अधिकारको जनता हो। यो सोच ओमारमा सु-स्पष्ट देखिन्छ तर हामीलाई शासन गर्नेमा यो चेत छैन। कुनै चेत छ त राष्ट्रिय ढुकुटी रित्याएर पदको दुरूपयोग गर्ने चेत छ तर राजनैतिक चेत छैन।
हाम्रो लोकतन्त्रको वर्तमान अभ्यासमा आफ्नो प्रतिनिधि र जनताको बीचमा प्रत्यक्ष सम्बन्ध सम्भव नै छैन। जुन दलबाट आएको हो, त्यो दलको बिचौलिया बेगर सम्पर्क नै सम्भव छैन। पहिले जस्तो जनता रिझाउनु परेको छैन। बरु दल रिझाए उम्मेद्वारी पक्का, उम्मेद्वारी भए जिताउने काम कार्यकर्ताको भागमा र सम्भव नभए अन्तर्घातमा कारबाही निश्चित छ। तब दुःख किन गर्नु र जनताका बीचमा किन जाने ? किन जनताप्रति उत्तरदायी बन्ने ?
हाम्रोमा कहिले बग्रेल्ती ओमारहरू सडकमा ट्याक्सी चलाउलान् र शासन सत्तामा ‘ईक्तिफाकले’ पुगेका अक्षमहरुलाई लोकतन्त्रको पाठ सिकाउलान्।
हे ओमार– हामी पनि तिमी जस्तै विवेकी बनेर देश-जनता र शासन-सत्ताप्रति उत्तरदायी बन्ने दिन कहिले आउला है ?
(सिम्खडा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सदस्य हुन्।)
प्रतिक्रिया 4