
२६ माघ, सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आइतबार शपथ लिएका मन्त्रीहरु पूर्वपञ्चदेखि मूर्ति चोरीमा मुछिएकाहरु समेत छन् ।
मुख्यमन्त्री शाहीले विस्तार गरेको मन्त्रिपरिषदमा हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन, गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी भौतिक, पूर्वाधार तथा सहरी विकासमा पदमबहादुर रोकाया र उद्योग, पर्यटन, वन तथा वातावरणमा छिरिङ दमदोल लामा (कार्चेन)ले जिम्मेवारी पाएका छन् ।
विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री र चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री यसअघि नै थिए ।
गणेशप्रसाद सिंह, जलस्रोत तथा ऊर्जा विकासमन्त्री
शिक्षक संगठनबाट राजनीतिक यात्रा शुरु गरेका गणेश प्रसाद सिंह तीन दशकदेखि राजनीतिमा छन् । उनी २०४६/०४७ सालको जनआन्दोलनमा अखिल नेपाल शिक्षक संगठनको सदस्य हुँदै ०४८ मा संगठनको केन्द्रीय सदस्य बनें ।
०४८ मा संयुक्त जनमोर्चा नेपाल जाजरकोटको सदस्य भए । २०५२ देखि माओवादी जनयुद्धमा होमिएका सिंह ०५४ मा नेकपा (माओवादी केन्द्र)को पूर्णकालीन सदस्य भएका थिए । ०६० मा उनी क्षेत्रीय व्यूरो सदस्य बने ।
०६९ मा पार्टीको जाजरकोट जिल्ला इञ्चार्ज रहेका सिंह हाल पार्टीको प्रदेश सदस्य छन् । २०७४ मा तत्कालीन नेकपाबाट जाजरकोट १ (क)बाट कर्णाली प्रदेश सदस्यमा निर्वाचित भएका उनी ०७६ मा प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्ष बने । सिंह पहिलो पटक मन्त्रिपरिषद्मा पुगेका हुन् ।
जिल्लामा काम गर्ने नेताको छवि बनाएका हक्की स्वभावका सिंह पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतका विश्वास पात्र मानिन्छन् । नलगाड नगरपालिका-५, ऐरारीमा २०१८ साल बैशाख १९ गते जन्मिएका सिंहले एसएसली पास गरेका छन् ।
हिमबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री
वौद्धिक छवि बनाएका पाका नेता हुन् हिमबहादुर शाही । कांग्रेस प्रतिपक्षमा रहेका बेला सरकारलाई कडा प्रश्न गर्दै प्रशंसा बटुलेका शाही अहिले उत्तर दिने ठाउँमा पुगेका छन् ।
प्रवीणता प्रमाण पत्र तहसम्म अध्ययन गरेका उनले लामो समय शिक्षण पेसामा बिताएका थिए ।
कम्युनिष्ट विचारधारबाट राजनीतिमा प्रवेश गरेका शाहीले ०३२ सालमा भारतको बनारसमा वीपी कोइरालासँग भेटवार्ता गरी नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको र २०३२ सालमै प्रतिबन्धित नेपाली कांग्रेसको दैलेख जिल्ला कार्य समिति गठन गरेको उनी बताउँछन् ।
२०३३ साल वैशाखमा गाउँर्फक अभियान अन्तरगत शाही तिलुखानाको उपप्रधानपञ्च मनोनित भए र ०३५ सालमा राजीनामा दिए । उनीसँग ०३४ सालबाट पटक-पटक विभिन्न पक्षबाट गिरफ्तार भै जेल जीवन बिताएको अनुभव छ ।
२०४० सालमा पार्टीको जिल्ला कोषाध्यक्ष भई काम गरेका उनले २०४९ देखि ०५४ सम्म दैलेख जिल्ला विकास समितिको सभापति भएर काम गरे ।
२०७४ मा भएको प्रदेश सभा निर्वाचनमा शाही कांग्रेसबाट दैलेख २ -ख) बाट सामानुपातिक सांसदको रुपमा कर्णाली प्रदेश सभा सदस्य चुनिए । कांग्रेस प्रदेश संसदीय दलका सचेतक रहेका शाही पहिलो पटक मन्त्रिपरिषद्मा पुगेका हुन् ।
शाही दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका ४ तिलुखानामा २००४ भदौ २६ गते जन्मिएका हुन् ।
यज्ञबहादुर बीसी, सामाजिक विकास मन्त्री
यज्ञबहादुर बीसी पूर्वशिक्षक हुन् । उनले ०२९ सालदेखि ०४३ सालसम्म शिक्षण पेशामा बिताए । लामो समय शिक्षण पेसामा बिताएकाले उनको विशेष रुचि शिक्षामा छ ।
सरकारले यसपटक उनलाई पुनः प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएको छ । बीसी यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा पनि सामाजिक विकास मन्त्रीकै जिम्मेवारीमा थिए ।
०४३ सालमा शिक्षण पेसा छोडेर पोखरीडाँडा पञ्चायतको प्रधानपञ्च बनेका बीसी ०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस तत्कालीन १० नम्बर इलाका सभापति बने ।
२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनी पोखरीकाँडा गाविसको अध्यक्षमा निर्वाचित भए । २०५२ सालदेखि २०७२ सालसम्म पार्टीको क्षेत्रीय सभापति रहे ।
२०७२ सालमा भएको पार्टीको १३औं महाधिवेशनमा सुर्खेत जिल्ला सभापतिमा चुनाव लडेका बीसी तीन मत अन्तरले पराजित भए ।
२०११ साल भदौ २१ गते सुर्खेतको बराहताल गाउँपालिका ६ बिउरेनीमा जन्मिएका बीसी अन्डर एसएलसी हुन् । २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा बीसी सुर्खेत क्षेत्र नम्बर २ बाट समानुपातिक सांसद बनेका थिए ।
पदमबहादुर रोकाय, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री
जुम्लाका सांसद पदम बहादुर रोकाय पहिलो पटक मन्त्री बनेका छन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा एमालेको तर्फबाट जुम्लाबाटै समानुपातिक उम्मेद्वार बनेका थिए । ०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २५७ मत अन्तरले पराजित भए ।
०७४ को निर्वाचनमा वाम गठबन्धननको तर्फ एमालेबाट जुम्ला १ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद रोकायाले मन्त्री बन्न पार्टी नै परित्याग गर्नुपर्यो । नेकपा एमाले फुटेपछि उनले माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजे र मन्त्री बन्ने अवसर पाए ।
आईएसम्म अध्ययन गरेका रोकायले भौतिक भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
तत्कानीन नेकपाको सरकार हुँदा एमालेबाट मन्त्री बन्नेमा रोकायाको नाम पटक-पटक चर्चामा आए पनि अन्तिममा काटिने गरेको थियो ।
रोकाया कनकासुन्दरी गाउँपालिका-७, जुम्लामा २०१० असार १० गते जन्मिएका हुन् । ०३० सालमा विद्यार्थी राजनीतिमा लागेका रोकाया ०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिए ।
०४४ मा उपप्रधानपञ्च, ०४६ मा जुम्ला नेकपा मालेको संस्थापन सदस्य, ०४७ मा नेकपा एमाले जुम्ला जिल्ला कमिटी सदस्य हुँदै पार्टीको सचिवालय सदस्यसमेत बने । उनी हाल नेकपा -एकीकृत समाजवादी)को केन्द्रीय सदस्य छन् ।
छिरिङ दमदोल लामा (कार्चेन), उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री
पिछडिएको समुदाय र अल्पसंख्यकको अधिकारका लागि लडिरहने नेताका रुपमा आफूलाई चिनाउन रुचाउने छिरिङ दमदोल लामा (कार्चेन) हुम्लाका पुराना कम्युनिष्ट नेता हुन् ।
२०४५ सालदेखि संयुक्त जनमोर्चाबाट राजनीति शुरु गरेका लामाले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा १० वर्ष भूमिगत भए । द्वन्द्वका बेला उनले मोहन वैद्य (किरण), डा. बाबुराम भट्टराई, पोष्टबहादुर बोगटी र नेत्रविक्रम चन्द (विप्लव) लगायतका नेताहरुलाई हुम्लामा आश्रय दिए ।
०७० मा पोलिटब्युरो सदस्य र तीन/तीन पटक पार्टीको हुम्ला जिल्ला इन्चार्ज रहेका लामा आफू जिल्लाको पहिलो माओवादी भएको बताउँछन् । हुम्लाबाट मन्त्री बन्ने उनी पहिलो माओवादी हुन् ।
हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्षसमेत रहेका गैरसांसद लामा हाल ६ महिनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।
मूर्ति चोरीको मुद्दामा जेल सजाय भोगिसकेका लामा मन्त्री बनेपछि यतिबेला चौतर्फी विरोध भइरहेको छ । उनको नैतिक आचरणमाथि समेत प्रश्न उठिरहेको छ ।
चर्को बिरोधका बीच पार्टी अध्यक्ष पुष्पकमकल दाहाल (प्रचण्ड)कै जोडबलमा उनी मन्त्री बनेको माओवादी नेताहरु बताउँछन् ।
प्रतिक्रिया 4