
१० फागुन, काठमाडौं । तालिवानले पुरानो सत्ताका सैन्य अधिकारी र जवान समेटेर अफगानिस्तानका लागि ‘ग्राण्ड आर्मी’ बनाउने भएको छ ।
सोमबार पत्रकार सम्मेलनमा सैन्य रुपान्तरणको निरीक्षण गर्ने जिम्मा पाएका तालिवानका एक नेताले सेनाका पुराना अधिकृत र सैनिक समेटेर ‘ग्राण्ड आर्मी’ खडा गर्न लागेको जानकारी दिएका हुन् । अमेरिकी फौजद्वारा गत वर्ष काम नलाग्ने गरी बिगारेका ८१ वटा हेलिकप्टर र विमानमध्ये ५० प्रतिशत मर्मत गरेको र्याङ्क क्लिअरेन्स कमिशनका प्रमुख लतिफुल्लाह हकिमीले बताए ।
तालिवानले सत्ता कब्जा गर्ने बेला तीन लाख साना हतियार, २६ हजार ठूला हतियार र ६१ हजार सैन्य बाहन नियन्त्रणमा लिएको पनि हकिमीको भनाइ थियो ।
अमेरिकी फौजको बहिर्गमनसँगै तालिवानले गत अगस्त १५ मा काबुल कब्जा गरेपछि त्यहाँको पुरानो सेना छिन्नभिन्न भएको थियो । त्यस क्रममा पुरानो सेनाले आफ्ना टुकडीबाट भागेर सबै हतियार र सैन्य बाहन त्यही छाडेका थिए ।
सत्तामा आएलगत्तै तालिवानले पुरानो सत्ताका लागि काम गरेका सबैलाई आम माफी दिने बाचा गरिसकेको छ । तर, अगस्टयता पुरानो सेनामा सेवा गरेका १०० भन्दा बढी सदस्यको हत्या गरेको गत जनवरीमा राष्ट्र संघले बताएको थियो ।
तर, हकिमीले सबैलाई आम माफी दिने तालिवानको नीति सफलतापूर्वक कार्वान्वयन भएको दाबी गरेका छन् । उनले भने, ‘यदि आम माफी दिने घोषणा नगरेको भए हामीले निकै खराब अवस्था देख्न सक्थ्यौं ।’
‘हाल आत्मघाती हमलाकारीहरूले जुन व्यक्तिलाई पछ्याएर निशाना बनाउथे तिनै व्यक्तिलाई सुरक्षा दिन थालेका छन्’, उनले थपे । मुलुकको आवश्यकता र राष्ट्रिय स्वार्थ अनुसार ग्राण्ड आर्मी खडा गरिने पनि उनले प्रस्ट पारे ।
‘एउटा सेना निर्माण गर्ने हाम्रो कार्य जारी छ’, हकिमीलाई उध्दृत गर्दै अलजजिराले लेखेको छ, ‘पाइलट, इन्जिनियर, सैनिक, लोजिस्टिक एवं प्रशासनिक कर्मचारीसहितका पेशाकर्मीहरू सुरक्षा क्षेत्रको पदमा छन् ।’
प्रतिक्रिया 4