
१३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रमुख विपक्षी नेकपा एमालेसँग गठबन्धनको प्रयास गर्दा एमालेले विगतमा ४२ महिना मुलुकको नेतृत्व गर्दाको अवस्था हेर्न सुझाएका छन् ।
शुक्रबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो सुझाएका हुन् ।
‘एमाले नेतृत्व रहँदा ४२ महिना जुन प्रकारको समस्या राष्ट्रले भोगेको छ यो कुरा कांग्रेसले अहिले नै भुलेको छ भने त केही भन्नु छैन’ खनालले भने, ‘यो विषयमा कांग्रेस र प्रधानमन्त्रीले गम्भीरतापूर्वक सोच्नुपर्दछ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले एमालेसँग सहमति गर्दा मुलुकमा शान्ति कायम हुने दिवास्वप्न पनि नदेख्न कांग्रेसलाई सुझाएका छन् ।
‘एमालेको नेतृत्वसँग सहमति गरेर यो मुलुकमा शान्ति कायम होला, अग्रगति कायम होला भन्ने सपना देख्नुभएको छ भने यो दिउँसो आकासतिर हेरेर देखेको सपना मात्रै हो । त्यो सपना नदेखे पनि हुन्छ’ नेता खनालले भने ।
एमसीसी राष्ट्रियतासँग जोडिएको विषय भएको उल्लेख गर्दै एमसीसीका राष्ट्रिय सहमति आवश्यक पर्ने उनले बताए । ‘यो गम्भीर सवालमा नेपाल एक्ताबद्ध हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ’ उनले भने ।
एमसीसीका विषयलाई लिएर सत्तागठबन्धनका बीचमा देखा परेको विवादतर्फ संकेत गर्दै उनले भने, ‘अझै सहमतिको सम्भावना खोज्नुपर्छ । संभव छ भने कमन ग्राउण्डमा उभियौं र देश र जनतालाई विभाजित नगरौं ।’
सहमतिका लागि कसरी अगाडि बढ्ने भन्ने विषयलाई कांग्रेसले गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ । ‘उहाँ(कांग्रेस)हरु मुलुक र जनता जे जुकै हुन् तर, एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने मुलुक संकटतिर जान्छ’ खनालले भने ।
प्रतिक्रिया 4