+
+

अमेरिकालाई रुसको चेतावनी : चीन र भारतमाथि स्पेस स्टेसन खस्नबाट कसले रोक्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते ९:४८
Photo Credit : Getty Images

काठमाडौं । युक्रेनमाथि हमला गरेसँगै रुसविरुद्ध अमेरिका लगायतका पश्चिमा मुलुकहरुले विभिन्न प्रतिबन्धहरुको घोषणा गरेका छन् । त्यसमा कतिपय प्रतिबन्धहरु यस्ता छन् जसले रुसी अन्तरीक्ष कार्यक्रमलाई नै कमजोर गराइदिने छन् ।

युक्रेन हमला पश्चात् रुस र अमेरिका बीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रलाई ठूलो झट्का दिने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन् । प्रतिबन्धहरुले रुसको एरोस्पेस उद्योगमा भारी नोक्सानी हुने बाइडेनको भनाइ छ ।

अमेरिकाले रुसी सेना, सामुद्रिक उद्योग, आर्थिक संस्था, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र विदेश मन्त्री लगायतमाथि पनि प्रतिबन्ध लगाएको छ ।

ह्वाइट हाउसका अनुसार रुसको अन्तरीक्ष कार्यक्रममा सिधै कुनैखाले प्रतिबन्ध त लगाइएको छैन तर कतिपय निकै संवेदनशील प्रविधिहरु रुसमा निर्यात गर्नमा रोक लगाइएको छ । उक्त प्रविधिको प्रयोग अन्तरीक्ष उद्योगमा हुने गर्दछ । अमेरिकाले रुसविरुद्ध सेमी कन्डक्टर, टेलिकम्युनिकेसन, एनक्रिप्सन सेक्योरिटी, लेजर, सेन्सर, नेभिगेसन, एभियोनिक्स तथा मेरिटाइम प्रविधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

रुसमाथिको प्रतिबन्धपछि अन्तराष्ट्रिय स्पेस स्टेसनमा भैरहेको कामहरुमा के असर पर्ला ? किनकी स्पेस स्टेसन, अर्बिटल यात्रा तथा अन्तरीक्ष यात्रीको तालीमका विषयमा रुस र अमेरिकाबीच सम्झौता विद्यमान छ । अमेरिकाद्वारा लगाइएको नयाँ प्रतिबन्धले अन्तरीक्ष स्टेसनमा हुने रुसी गतिविधि र उपस्थितिमा कुनै प्रतिबन्ध नलागेको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले जनाएको छ ।

अन्तरीक्ष मिसनमा नासा र रुसी अन्तरीक्ष एजेन्सी रोस्कोमस बीच सहकार्य हुने गरेको छ र अन्तराष्ट्रिय स्पेस स्टेसनको उपयोग गर्ने गर्दछन् । साथै अन्तरीक्ष यात्रीको तालीम पनि चलिरहन्छ ताकि स्पेस स्टेसनमा कुनैपनि बेला अन्तरीक्ष यात्रीको कमी नहोस् । नासाका अनुसार अर्बिटल मिसन तथा ग्राण्ड स्टेसन अपरेसनमा रुससँगै मिलेर काम भैरहेको छ । त्यसमा कुनैपनि प्रतिबन्ध नलागेको नासाको भनाइ छ ।

अन्तराष्ट्रिय स्पेस स्टेशनको सुरक्षा र अन्य मिसन पूरा गर्नका लागि रुसको स्पेस एजेन्सीसँग सहकार्य गरिरहने नासाले प्रष्ट पारेको छ । नासाका अनुसार अमेरिका र रुसबीच अन्तरीक्षमा गैरसैनिक सहकार्य जारी रहनेछ । रुसमाथि लगाइएका प्रतिबन्धको अन्तराष्ट्रिय स्पेस स्टेसनको काम कारवाहीमा कुनै असर नपर्ने नासाको भनाइ छ । तर नासाको उक्त प्रष्टीकरण भन्दा अगाडि रुसी अन्तरीक्ष एजेन्सी रस्कोमसका तर्फबाट भयानक प्रतिक्रिया बाहिर आएको थियो ।

रस्कोमसका निर्देशक दिमित्री रोगोजिनले एक ट्वीट गर्दै अमेरिकाले अन्तराष्ट्रिय स्पेस स्टेशनमा रुसको सहयोग बन्द गरेमा स्पेस स्टेसनलाई युरोप वा अमेरिकामाथि खस्नका लागि कसले रोक्ने ?भनेर प्रश्न गरेका थिए ।

ट्वीटरमा उनले भनेका थिए– ५ सय टनको स्पेस स्टेसन भारत र चीनमाथि पनि खस्न सक्दछ । के तिमी उनीहरुलाई यसरी डर देखाउन चाहन्छौ ? स्पेस स्टेसन रुसमाथि नउड्ने भएकाले आफूहरुलाई कुनै जोखिम नरहेको र सबै जोखिम युरोप, अमेरिका तथा विश्वका अन्य मुलुकहरुले उठाउनुपर्ने भन्दै उनले के अमेरिका यसका लागि तयार छ ? भनेर प्रश्न गरेका थिए ।

रस्कोमसका निर्देशकको उक्त ट्वीटपछि नासाले प्रष्टीकरण दिँदै अन्तरीक्ष स्टेसनमा रुस र अमेरिकाको सहकार्य जारी रहने र प्रतिबन्धले असर नपार्ने बताएको हो ।

यसअघि पनि अमेरिका र रुसबीच स्पेस स्टेसनका विषयमा विवाद उत्पन्न हुने गरेको थियो । गत वर्ष नोभेम्बरमा रुसले एन्टी स्याटेलाइट मिसाइल हानेर आफ्नो कसमस १४०८ ध्वस्त पारेको थियो । उक्त स्याटेलाइट २ हजार किलो तौलको थियो । रुसले सन् १९८२ मा उक्त स्याटेलाइट लञ्च गरेको थियो र केही वर्षदेखि निकम्मा बनेको थियो । एन्टी स्याटेलाइट मिसाइल हानेर ध्वस्त पार्नेबेला उक्त स्याटेलाइट पृथ्वीभन्दा ४८५ किलोमिटर माथि थियो । त्यसको केही तलको कक्षमा स्पेस स्टेसनले पृथ्वीको परिक्रमा गरिरहेको हुन्छ ।

उक्त घटनापछि अमेरिकाले स्पेस वाक कार्यक्रम रद्द गरेको थियो । किनकी उक्त विस्फोटपछि फैलिएको फोहोरले अन्तरीक्ष यात्रीको ज्यानलाई खतरा हुनसक्थ्यो । अमेरिकाले रुसी कदमको निन्दा गरेको थियो । रुसले लापरवाहीपूर्ण काम गरेको अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेका थिए ।

रुसले सन् २०१४ यता १० पटक एन्टी स्याटेलाइट मिसाइलको परीक्षण गरिसकेको छ । उसको उक्त मिसाइलको नाम नुडल एन्टी स्याटेलाइट मिसाइल सिस्टम हो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?