
काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ अहिले चर्चामा छ । स्टारकास्ट मात्र नभएर नेपालका पर्यटकीय थलोमा सुटिङ भएको फिल्म दर्शकका लागि प्रतीक्षित छ ।
बोमन इरानी, अनुपम खेर र परिणिती चोपडा छायांकनका लागि नेपालमा दुई साता रहे । फिल्मको छायांकनका लागि उनीहरु सोलुखुम्बु र मनाङ पुगे । तर स्वास्थ्य अवस्थाका कारण मुख्य कलाकार अमिताभ बच्चन भने नेपाल आउन सकेनन् ।
अमिताभ नेपाल आउन नसकेपछि मुम्बईमै सेट खडा गरेर अहिले फिल्मको धमाधम छायांकन भइरहेको छ । मुम्बईको राजश्री स्टुडियोमा सुटिङ भइरहेको फिल्ममा अमिताभको दृश्य छायांकन भइरहेको छ ।
रोचक कुरा के छ भने नेपालमा छायांकन हुँदा फिल्म क्रुलाई उडानमा साथ दिएका पाइलट विवेक खड्का समेत फिल्मको हिस्सा बनेका छन् । उनलाई निर्माण कम्पनी राजश्री फिल्मले मुम्बईमै बोलाएर सुटिङ गराएको छ ।
मुम्बईको भव्य सेटमा हेलिकप्टर पाइलटकै रुपमा खड्काले अभिनय गरेका छन्, जहाँ उनले बलिउड महानायक अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका छन् । छायांकनको तस्वीर उनले इन्स्टाग्राममा सेयर गरेका छन् ।
अमिताभसँग फिल्म खेल्नुलाई पाइलट खड्काले आफ्नो जीवनको सपना पूरा भएको बताएका छन् । यसैसाता उनको छायांकन सकिएको छ र उनी केही दिनमै काठमाडौं फर्कने तयारीमा छन् ।
उचाइको नेपाल व्यवस्थापन हेरेका प्राविधिकका अनुसार नेपालमा खड्काको लङ्सट लिइएको थियो भने मुम्बईमा चाहिं क्लोजअप । फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरिरहेका छन् ।
प्रतिक्रिया 4