+
+

राजधानीको ध्यान तानेको त्यो स्वतन्त्र उम्मेदवार

प्रवीण आचार्य प्रवीण आचार्य
२०७९ वैशाख २१ गते १५:०३

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावले राजनीतिक माहोल तातेको छ । पाँच वर्षमा एक पटक आउने चुनाव अनि विभिन्न पदमा उम्मेदवारी दिएका एक लाखभन्दा धेरै उम्मेदवारका कारण आम मान्छेको चासोमा वृद्धि हुनु स्वाभाविक नै देखिन्छ । अझ राजधानी काठमाडौं र यसमध्ये पनि सबैभन्दा महत्वपूर्ण काठमाडौं महानगरमा सबैको नजर अडिएको छ ।

मुख्य राजनीतिक दलले यस महानगरमा विजयी हुनुलाई प्रतिष्ठाको विषय बनाउनु र सबै किसिमका संचारमाध्यममा यहाँको चुनावी सरगर्मीले महत्व पाउनुले पनि यस क्षेत्रको महत्व बुझ्न सकिन्छ । चुनावमा कसको हार वा जित हुने हो त्यो त मत परिणाम आएपछि मात्र थाहा होला । तर हाल एक स्वतन्त्र उम्मेदवारको विशेष चर्चा भइरहेको छ । यस लेख मार्फत सोही स्वतन्त्र उम्मेदवारको चर्चाको बारेमा एक आम मान्छेका हिसाबले केही विषय समेट्ने प्रयास गरेको छु ।

नेपालमा व्यक्तिभन्दा पार्टी हावी हुने र पार्टीहरूको संगठनले चुनावमा विजयी हुन सहयोग गर्ने प्रचलन रहेको छ । अझ विदेशमा जस्तो विभिन्न मुद्दामा खुल्ला बहस नहुने र व्यक्तिको क्षमताले धेरै महत्व नपाउने परिपाटी रहेको देखिन्छ ।

अझ मुख्यतया ग्रामीण र दुर्गम क्षेत्रमा त अशिक्षा र गरिबीका कारण विभिन्न प्रलोभनमा परी मतदाताले मत दिने गरेको देखिन्छ । यस्तो अवस्थामा देशको राजधानीमै पनि मुख्य राजनीतिक दलका उम्मेदवार नै हावी भई आएको इतिहास छ । यसका साथै हाम्रो राजनीतिक प्रणालीका कारण युवा उम्मेदवारहरूले पार्टी र मूल राजनीतिमा कम अवसर पाएको अवस्था छ ।

नेपालमा विगत लामो समयदेखि विभिन्न राजनीतिक उपलब्धि हासिल गर्नका लागि आन्दोलनहरू भएको र विकासका नाराले खासै महत्व नपाएको अवस्था थियो । हाल केही न केही मात्रामा विकासका विषयले महत्व पाउने गरेको छ । तर धेरै उम्मेदवारसँग पार्टी पंक्तिमा कसरी अगाडि बढ्ने, आफ्ना माथिका नेतालाई कसरी रिझाउने, जनताबाट मत कसरी लिने भन्ने विषयको अनुभव भएतापनि देशको दिगो विकास र आर्थिक समुन्नतिका लागि आवश्यक योजना तर्जुमामा भने कमजोरी रहेको देखिन्छ ।

अझ नेपाल जस्तो देशमा पूँजीको सही सदुपयोग र दूरगामी महत्वका योजनाले स्थान पाउनुपर्नेमा नेतृत्वकर्ताको कमजोरीले सो हुन नसकिरहेको अवस्था छ । अझ एक उम्मेदवारले अर्को उम्मेदवारलाई आरोप–प्रत्यारोपमा मात्र समय खर्चिने, आफ्ना योजना जनतामाझ राख्नमा महत्व नदिने र केही गर्छु भनेर आफ्नो विचार राखे तापनि कसरी सो योजनाहरू अगाडि बढाउने भन्ने ज्ञान नहुने गरेको देखिन्छ ।

यस्तो परिस्थितिमा मुख्यतः सहरी क्षेत्रका आम मान्छे राजनीतिक प्रणाली, उम्मेदवारको चालचलन, दिशाहीन गतिविधिले दिक्क भएको स्थिति छ । यसमा पनि मुख्यतः युवा जमातले आफ्ना उम्मेदवारबाट स्पष्ट धारणा खोज्ने र मूल प्रवाहको राजनीति भन्दामाथि उठेर आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने उम्मेदवार खोजिरहेको देखिन्छ ।

कुनै पनि राजनीतिक दलले काठमाडौं महानगर जस्तो आफ्नो प्रतिष्ठा जोडिएको स्थानीय निकायमा जित हात पार्नका लागि पूर्णरूपमा प्रयास गर्नु स्वाभाविक हो । अझ आफ्नो पार्टीको जित होस् भनी सक्षम उम्मेदवार उठाउनु पनि स्वाभाविक हो । तसर्थ हरेक उम्मेदवार आ–आफ्नो हिसाबले केही खुबी भएकै छन् भन्नुपर्छ । तर हाल आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका इन्जिनियर बालेन शाहको विशेष चर्चा छ ।

चर्चा हुनुको कारण राजनीतिक आस्थाभन्दा पनि उनले अगाडि सारेका विषय र योजना हुन् । उनले अगाडि सारेका विषय सही छन् वा गलत, अझ चुनाव जिते भने सो योजनाहरू कसरी अगाडि बढाउँछन् वा चुनाव हारे भने कसरी अगाडि बढ्छन् त्यो भविष्यले देखाउला । तर आरोप–प्रत्यारोपको राजनीतिबाट आजित भएका आम मान्छेले एउटा मेयरले गर्न सक्ने वा गर्नुपर्ने कामका विषयमा केही कुरा जान्ने, सुन्ने र आफ्नो धारणा राख्ने मौका पाएका छन् ।

यसले नेपालको आगामी राजनीतिक गन्तव्यमा पनि मूल राजनीतिक दललाई केही सिक्ने मौका दिनेछ भन्ने लाग्छ । त्यो भनेको देशको राजनीतिक परिवर्तनका लागि लडेका, पार्टीको संगठन विस्तारमा लागेका, राजनीतिमै आफ्नो जिन्दगी बिताएका व्यक्तिहरू जति पार्टी राजनीति र राजनीतिक आन्दोलनका लागि उपयुक्त हुन्छन् सोही मात्रामा आर्थिक रूपान्तरणका लागि योग्य नहुन सक्छन् भन्ने हो ।

राजनीति सधैं आरोप–प्रत्यारोप र विरोधले मात्र चल्दैन । हालको युवावर्गले ठोस योजना र मुलुकको आर्थिक परिवर्तन सम्बन्धी बहस रुचाउन थालेका छन् । बहस मात्र होइन देश रूपान्तरणको ठोस खाका र सोका लागि आवश्यक दक्ष जनशक्ति पनि हालको आवश्यकता हो । केवल चिल्ला गफले मात्र अब नपुग्न सक्छ । जनता यसअघि विभिन्न आन्दोलनका नाममा ठगिएका छन् । देश पछाडि परेको छ । त्यसैले हरेक स्थानीय तहमा धेरै ‘बालेन’ हरू अगाडि आउन जरूरी छ ।

देशको महानगरमा हाल भइरहेको चर्चाले आगामी दिनमा अन्य क्षेत्रमा उम्मेदवारहरू बीच राजनीतिक मात्र नभई बौद्धिक लडाइँ चलाउन मद्दत गर्न सक्छ । अझ आम मान्छेमा चेतनाको विकास, सामाजिक संजाल र संचारजगतको पहुँचले पनि आगामी दिनमा मतदाताले आफ्ना उम्मेदवारबाट खोक्रा राजनीतिक गफ र आरोप–प्रत्यारोप भन्दा विकास, निर्माण र योजनाका विषय सो पूरा गर्ने कार्ययोजना सुन्न खोज्ने देखिन्छ ।

काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले चर्चा पाउनु भनेको सबै युवावर्गका लागि खुसीको विषय हो । उनीसँग तल्लो तप्कासम्म संगठन नभएतापनि आफ्ना योजना र सो योजना पूरा गर्न सक्ने ठोस कार्यक्रमको प्रस्तुतिबाट आम मान्छेले समर्थन गर्नु भनेको राजनीतिक चेतनामा परिवर्तनको सङ्केत पनि हो ।

हाल आम नागरिकहरू मूल राजनीतिक दलसँग र ती दलले राजनीतिक खिचातानीमा मात्र सीमित राख्ने बहसबाट खुसी छैनन् भन्ने पनि हो । अझ हाल आमनागरिक तहमा राजनीतिक दलहरूप्रति वितृष्णा बढिरहेको देखिन्छ ।

आफ्नो जीवनको महत्वपूर्ण समय राजनीतिक आन्दोलनमा बिताएका, जेल–नेल खाएका नेताहरूको देशले प्राप्त गरेका राजनीतिक उपलब्धिमा आफ्नै महत्व होला । तर सोही उपलब्धिका आधारमा देशले तय गर्नुपर्ने विकासको बाटोमा पनि नेतृत्व लिन खोज्नु सही नहुन सक्छ ।

राजनीति सधैं आरोप–प्रत्यारोपले मात्र चल्दैन, सधैं विरोधले मात्र चल्दैन । हालको युवावर्गले ठोस योजना र मुलुकको आर्थिक परिवर्तन सम्बन्धी बहस रुचाउन थालेका छन् । बहस मात्र होइन देश रूपान्तरणको ठोस खाका र सोका लागि आवश्यक दक्ष जनशक्ति पनि हालको आवश्यकता हो ।

केवल चिल्ला गफले मात्र अब नपुग्न सक्छ । जनता यसअघि विभिन्न आन्दोलनका नाममा ठगिएका छन् । देश पछाडि परेको छ । त्यसैले हरेक स्थानीय तहमा धेरै ‘बालेन’ हरू अगाडि आउन जरूरी छ । त्यसबाट राजनीतिक दलको कार्यशैलीमा केही न केही मात्रामा परिवर्तन ल्याउन सक्नेछ ।

काम गर्न उमेरले छेक्दैन तर काम गर्न आवश्यक ज्ञान र विवेक भने हुनुपर्दछ । सबै युवाले केही राम्रो गर्न सक्छन् भन्ने छैन । तर पढेकाले राजनीति नगर्ने, अनि कमजोर धरातलमा अडिएका व्यक्तिले देश चलाउने हो भने त्यो राम्रो सङ्केत होइन ।

तसर्थ सामान्य भन्दा सामान्य कामका लागि पनि सोही बमोजिमको योग्यता आवश्यक पर्नेमा राजनीति भनेको अझ उचो किसिमको योग्यता आवश्यक पर्ने क्षेत्र रहेकाले धेरै क्षेत्रबाट योग्य व्यक्तिहरू अगाडि आउन जरुरी छ । आशा छ ती उम्मेदवारहरूको पनि हालको स्वतन्त्र फुच्चे उम्मेदवार जस्तै चर्चा हुनेछ र आम मान्छेको सो उम्मेदवारमा आशा पनि उस्तै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?