+
+

‘राम्राले चुनाव जिते युवा विदेशिनु पर्दैनथ्यो’

म लन्डनमा बस्छु । तर, पोखराको निर्वाचनलाई चासोका साथ हेरिरहेको छु । मलाई आफूले रोजेको पार्टीले जितोस् भन्ने छ । अर्को, मुलुकको विकासको आधार नै स्थानीय तह भएका कारण यो निर्वाचनमा राम्रा मान्छेले जितुन् भन्ने म चाहन्छु ।

भक्त गुरुङ, लन्डन भक्त गुरुङ, लन्डन
२०७९ वैशाख २३ गते १९:२०

स्थानीय तहको सरकार भनेको देशको समृद्धिको आधार स्तम्भ हो । नेपालको संविधानले स्थानीय तहलाई स्वायत्त सरकारको रूपमा परिकल्पना गरेको छ । देशको समृद्धिको आधार तय गर्ने स्थानीय तह निर्वाचनलाई प्रवासमा बसेका नेपालीले पनि निकै चासो र महत्वका साथ हेरिरहेका छन् ।

देश विकासको मेरुदण्ड स्थानीय तहमा राम्रा उम्मेदवारले जितुन् भन्ने चाहना प्रवासमा बस्ने नेपालीलाई हुन्छ । मेरै कुरा गर्नुहुन्छ भने पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर मेरो मत खसाल्ने थलो हो । अहिले परदेशमा भए पनि बाटुलेचौरको चुनावी रौनक मलाई झलझल्ती याद आउँछ ।

यो वडा पहिल्यैदेखि नेकपा एमालेले जित्दै आएको हो । यो पटक पनि एमालेको पक्षमा निकै राम्रो माहोल छ भन्ने मलाई थाहा छ । अहिले पोखरा महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका कृष्ण थापा पनि सोही वडाको बासिन्दा हुनुहुन्छ । त्यसैले मेयरको उम्मेदवार नै आफ्नो वडाको भएका कारण पनि त्यहाँ चुनावी माहोल तातेको मलाई थाहा छ ।

वडाको अध्यक्ष पदमा पनि राजेश गुरुङ भन्ने युवा उठ्नुभएको छ । यसअघि उहाँ वडा सदस्यमा निर्वाचन जितेर गाउँठाउँमा विकास गरेर जनताको मन जितेर अहिले वडामा उठ्नुभएको छ । मैले थाहा पाएसम्म उहाँहरूको पक्षमा माहोल छ । हामी यहाँबाट निर्वाचनमा उहाँहरूलाई सघाइरहेका छौं ।

म बेलायतको राजधानी लन्डनमा बस्छु । तर, पोखराको निर्वाचनलाई म चासोका साथ हेरिरहेको छु । यसका केही कारण छन् । पहिलो, आफूले रोजेको पार्टीले जितोस् भन्ने मेरो चाहना छ । दोस्रो मुलुकको विकासको आधार र न्याय, शिक्षा, स्वास्थ्य अनि पूर्वाधार विकास गर्ने नै स्थानीय तह भएका कारण यो निर्वाचनमा राम्रा मान्छेले जितोस् भन्ने म चाहन्छु ।

म पनि कुनै समय नेपालबाट विदेशिएँ । अहिले पनि हजारौं युवा देश छोडेर अर्को मुलुक गइरहेका छन् । यो सबै हुनुमा हाम्रो मुलुकको राजनीतिक अस्थिरता, हाम्रो देशले अँगालेका विकास निर्माण सम्बन्धी नीति र यसले युवालाई जोड्न नसक्नु हो भन्ने मलाई लाग्छ ।

एकातिर मुलुकमा अस्थिरताका कारण युवा पलायन भइरहेका छन् भने अर्कोतिर विदेशमा पनि दुःख पाएका युवाको संख्या धेरै छ । देशमा हुँदा पनि र विदेशमा हुँदा पनि दुःख पाएका नेपालीको कथा–व्यथा थाहा पाएपछि अब यस्तो अवस्था अर्को पुस्ताले नभोगोस् भन्ने मेरो चाहना छ । कुनै पनि नेपाली युवा अब मुलुक छोडेर विदेशिनु नपरोस् भन्ने मेरो कामना छ ।

देश राम्रो र समुन्नत बन्यो भने पक्कै त्यस्तो दिन नआउला भन्ने लाग्छ । नेकपा एमालेको प्रवास कमिटीको अध्यक्ष भएका कारणले पनि मलाई यो निर्वाचनमा थप जिम्मेवारी र चासो छ । संसारभरिका ‘प्रवासी नेपाली मञ्च’ लाई अहिले निर्वाचनमा आवश्यक सहयोग र प्रचारका लागि यहाँबाट हामीले परिचालन गरिरहेका छौं ।

पार्टीको अन्तर्राष्ट्रिय कमिटीको मातहतमा ६ वटा महादेशमा महादेश कमिटी छन् भने ४० वटा देशमा राष्ट्रिय कमिटीहरू छन् । यी सबै कमिटी र मञ्चलाई नेपालको निर्वाचनमा आवश्यक पर्ने सहयोगका लागि जुट्न निर्देशन दिइएको छ । सकेसम्म मञ्चमा रहेका साथीहरूलाई नेपालमै मतदानका लगि जान प्रेरित गरेका छौं । धेरै साथी त निर्वाचनमा मत खसाउनका लागि नेपाल गइसक्नुभएको पनि छ ।

हामी निर्वाचन सहयोगका लागि आवश्यक सामूहिक र व्यक्तिगत आर्थिक सहयोग पनि गरिरहेका छौं । आर्थिक सहयोग संस्थागत रूपमा जाँदा पार्टीले परिचालन गर्छ भने स्थानीय तहका गाउँ, टोल–टोलका उम्मेदवारलाई उनीहरूलाई नै हुने गरी व्यक्तिगत रूपमा पनि आर्थिक सहयोग गरिराखेका छौं ।

मुख्य कुरा विदेशमा बस्ने गैरआवासीय नेपाली देशको समृद्धि चाहन्छन् । नेपालमा रोजगारीको सृजना होस् भन्ने चाहन्छन् । विदेशमा भएकै जस्तो विकास नेपालमा पनि होस् भन्ने चाहन्छन् । उनीहरूले विदेशमा बस्दा यहाँको विकास देखेका छन् । त्यसबाट उनीहरू लोभिएका छन् । मेरो देशमा पनि यस्तै गर्न पाए हुन्थ्यो; यस्तै भएको भए हुन्थ्यो भन्ने लागिरहेको हुन्छ । मेरो देश पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने त्यो लोभ मनमा हुन्छ ।

आफूले देखेको, आफूले भोगेको, आफू बसेको ठाउँकै जस्तो विकास मेरो मातृभूमिमा गर्न पाउँ भन्ने तीव्र इच्छाशक्ति र आतुरता मनमा हुन्छ । मनमा त्यो छटपटी चलिरहेको हुन्छ । तर पनि बाध्यता छन्, विवशता छन् । सोचेको जस्तै सजिलै नेपाल गएर त्यो गर्न तत्काल सकिंदैन । विदेशमा बस्ने नेपालीले यस्ता खाले अभिव्यक्ति चुनावमा व्यक्त गरिरहेका हुन्छन् ।

चुनावमा जुनसुकै पार्टीको समर्थन गरुन् तर उनीहरू देशप्रति चासो राख्दछन् । अब देश बनाउने खालको नेतृत्व आओस् भन्ने चाहना हुन्छ । नयाँ युवापिंढीहरू नयाँ–नयाँ भिजनका साथ आउन् भन्ने इच्छा राखेका हुन्छन् । स्थानीय तहदेखि नै देश बनाउने अठोट लिएर युवाहरू जागुन् भन्ने मलाई पनि लाग्छ ।

पाँच वर्षपछि यो स्थानीय निर्वाचन भइरहेको छ । जसले आफ्नो गाउँठाउँमा परिवर्तन ल्याउन सक्छ । नेपालको नयाँ संवैधानिक संरचना अनुसार स्थानीय तहलाई अधिकारसम्पन्न बनाइदिएको छ । यो एउटा निकायको रूपमा मात्रै होइन, स्थानीय सरकारको रूपमा अधिकारसम्पन्न छ । त्यसैले राम्रा मान्छेहरू आउन् भन्ने विदेशमा बस्नेलाई पनि लाग्छ । देश विकासको खाका तलैबाट वा जरैबाट सुरु होस् भन्ने चाहना हामीमा हुन्छ, त्यो अभिलाषा चुनावमा प्रकट हुन्छ ।

म बेलायतमा बस्छु । मलाई पनि विकासको तीव्र अभिलाषा छ । देशप्रति र आफ्नो गाउँठाउँप्रति चासो छ । त्यस्तै अमेरिका, जापान, अष्ट्रेलिया, खाडी मुलुकमा काम गरेर बसेका नेपाली हुन् वा दक्षिण कोरिया, युरोपका देशमा बसेका सबै साथीहरू चासोपूर्वक अहिलेको निर्वाचनमा सहभागी भइरहेका छन् । धेरै साथी नेपाल फर्किसकेका छन् । उनीहरू प्रत्यक्ष स्थानीय चुनावमा सहभागी बनेका छन् ।

नेपाल जान नसक्ने साथीहरू पनि मोबाइल वा सोसल मिडियाको माध्यमबाट अपील गरिरहेका छन् । आफंैले भनेको जस्तै पार्टीलाई भोट दिन घरपरिवार, छरछिमेक, इष्टमित्रसँग कुराकानी गरिरहेका छन् । हाम्रो एउटै मात्र चाहना के छ भने नेपालमा समृद्धि र विकास होस् । जसरी हामी विदेशिनु परेको छ त्यो खालको परिस्थिति अबका नयाँपिंढीले भोग्नु नपरोस् । आफ्नै देशमा बसेर देशको समृद्धि र विकासमा ईंटा थप्ने अवसर नयाँपिंढीलाई मिलोस् भन्ने हाम्रो चाहना हो । त्यसैले प्रवासमा रहेका ५० लाखभन्दा बढी नेपालीले आफ्नो गाउँठाउँको चुनावमा चासो राखिरहेका छन् ।

(लन्डन निवासी नेकपा एमाले आबद्ध प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष गुरुङसँग अनलाइनखबरकर्मी बसन्त रानाभाटले गरेको कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?