
आफ्ना छोराछोरी अरुभन्दा अब्बल बनाउने हरेक अभिभावकको चाहना हुन्छ । उनीहरुको चाहना हुन्छ कि छोराछोरीले राम्ररी पढुन् । अरुभन्दा जान्ने होउन् । बालबालिकालाई पढ्न लेख्नमा मात्रै सीमित राख्न चाहँदैनन् अहिलेका अभिभावक । उनीहरुको आईक्यू लेभल पनि बढाउन चाहन्छन् ।
बालबालिकाको दिमाग तेज बनाउने भन्दै कतिपय अभिभावकले काजु, बदाम, ओखर, च्यवनप्रास जस्ता पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खुवाउने गर्छन् । अहिले यो ट्रेण्ड नै बनेको छ ।
बालबालिका स्मार्ट हुनु र आईक्यू लेभल राम्रो हुनुमा फरक छ । आईक्यू र स्मार्टनेस यस्तो गुण हो, जसले बालबालिकालाई अन्य भन्दा फरक देखाउँछ । आईक्यूमा सुधार गर्ने कुनै उमेर हुँदैन । सानै उमेरबाट अभिभावकले बालबालिकालाई स्मार्ट बनाउन सक्छन् ।
यसरी बढाउन सकिन्छ बालबालिकाको आईक्यू
विभिन्न बाजा बजाउन सिकाउने
बाजा बालबालिकाको विकासको लागि निकै फाइदाजनक हुन्छ । विभिन्न सांगीतिक बाजा बजाउन सिकाउनुले बालबालिकाको आईक्यू लेभल मात्रै बढाउँदैनन् गणितसम्बन्धी सीपको समेत विकास हुन्छ । यसका लागि बालबालिकालाई गिटार, वीणा, मादल, हारमोनियम जस्ता वाद्ययन्त्र बजाउन सिकाउन सकिन्छ ।
खेल सिकाउने
बालबालिकाको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य हुन्छ । खेलका माध्यमबाट बालबालिकाले विभिन्न कुरा सिक्छन्, जसले उनीहरुलाई चलाख बन्ने रणनीति तय गर्न सिकाउने र नीति नियमको पालना गर्न समेत सिकाउँछ । बालबालिकालाई खेलप्रति आकर्षित गर्न अभिभावकले पनि कहिलेकाहीं उनीहरुसँग खेल्नुपर्छ । जसकारण उनीहरुमा आत्मविश्वासका साथै आईक्यूको लेभल पनि बढ्छ ।
खानामा ओमेगा-३ फ्याटी एसिड समावेश गर्ने
बालबालिकाको मस्तिष्क विकासका लागि ओमेगा-३ फ्याटी एसिड आवश्यक हुन्छ । यसले उनीहरुको मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यदि बालबालिकामा ओमेगा-३ फ्याटी एसिडको कमी भएमा बिर्सिने बानी बढ्नुका साथै पढ्ने क्षमतामा समेत ह्रास आउँछ । यस्ता समस्याबाट पार पाउन बालबालिकालाई स्मार्ट र आईक्यू लेभल बढाउन उनीहरुको खानामा ओमेगा-३ फ्याटी एसिड राख्नुपर्छ ।
गणितका सवाल हल गराउने
बालबालिकालाई खेलकुदका माध्यमबाट गणितका सवाल हल गराउन सकिन्छ । दैनिक यस्तो प्रयासले बालबालिकाको आईक्यू लेभल बढाउन मद्दत गर्छ । यस्तो प्रयासले बालबालिकाको मस्तिष्कमा गहिरो प्रभाव पार्छ, जो दीर्घकालीन हुन्छ ।
लामो सास लिन सिकाउने
लामो सास लिनुलाई शारीरिकका साथै मानसिक स्वास्थ्यका लागि समेत फाइदाजनक मानिन्छ । गहिरो तथा लामो सास लिंदा राम्रो विचारको विकास हुन्छ । यति मात्रै होइन गहिरो सासले बालबालिकामा एकाग्र भएर काम गर्ने बानीको विकास हुन्छ । यसले तनावबाट मुक्ति पनि दिन्छ ।
बालबालिकाको शारीरिक, मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न र आईक्यू लेभलमा सुधार गर्न दैनिक १० देखि १५ मिनेट गहिरो सास लिने अभ्यास गराउनुपर्छ ।
दिमाग प्रयोग गर्ने खेललाई महत्व दिने
बालबालिकालाई चनाखो बनाउन र आईक्यू लेभल बढाउन उनीहरुलाई दिमागको प्रयोग गर्नुपर्ने खेल खेल्न सिकाउनुपर्छ । यसले उनीहरुलाई आफ्नो जुक्ति लगाउन तथा सोचेर खेल्न मद्दत गर्छ । जसका कारण उनीहरुमा सिक्ने चाहना जाग्छ । यसले उनीहरुलाई नयाँ-नयाँ प्रयोग गर्ने र सिक्ने बानीको विकास हुन्छ । यसका लागि बालबालिकालाई चेस जस्ता खेल खेल्न लगाउनुपर्छ ।
लाइभ हिन्दुस्तानबाट
प्रतिक्रिया 4