+
+

भगवान, हामीलाई पुरुषदेखि बचाऊ !

समाजले महिलाको योनीमा राखिदिएको इज्जतले गर्दा कैयौं महिला निसास्सिएर बाँचिरहेका छन् । न्यायालयसम्म पुगे पनि न्याय मर्छ । त्यसपछि उनीहरू आफू मरी-मरी बाँच्छन् ।

अञ्जली राना अञ्जली राना
२०७९ जेठ १२ गते ७:२८

नारी शब्द आफैंमा पनि एउटा पहिचान हो, परिभाषा हो, पवित्रता हो । नारी धर्ती हुन्, प्रकृति हुन््, धर्तीको शब्दकोश हुन् । नारी शब्द आफैंमा पनि पवित्र छ । नारी सहनशीलताको प्रतिमूर्ति पनि हुन् । नारी शब्दलाई व्याख्या गर्न खोज्नु आफैंमा एक मूर्खता हुन जान्छ । प्रकृतिको अद्वितीय रचना हुन् नारी ।

हाम्र्रो समाजमा नारी शब्दको परिभाषा संकुचित छ । जन्मभन्दा अगाडि गर्भैदेखि नारीको जीवनमाथि समाजको पितृसत्तात्मक सोच हावी हुनथाल्छ । जुन समाजको आकार नारीले बढाइन्, त्यही समाजले तल्लो स्तरको दर्जा दिएको छ । वषर्ाैंदेखि नारीको आत्मबलमाथि समाजले निरन्तर प्रहार गर्दै आएको छ । कैयौं नारी समाजबाट तिरस्कृत हुने भयले आफ्नो अधिकार अनुसार बाँच्न छोडेर दायित्व, कर्तव्य र जिम्मेवारीको नाममा पीडित हुन बाध्य छन् ।

नारी स्वतन्त्रता सबैभन्दा ठूलो आवश्यकता हो । कुनै सभा, समारोहमा गएर मजाले नारी स्वतन्त्रता, महिला सुरक्षा तथा सशक्तीकरणका बारेमा बोल्न सकिन्छ । के हामीले कुनै सभा, समारोहमा जति दमदार भाषण प्रस्तुत गर्दछौं, त्यसरी नै काम गर्छौं ? जसरी भन्छौं, त्यसरी नै व्यवहार गर्छौं ? पछिल्लो समय बाहिर निस्केका केही घटनाले मान्छेका कतिवटा आवरण हुन्छन् भन्ने नै छुट्याउन मुश्किल बनाइदिएको छ । शिक्षकबाट बलात्कार, बावुबाट छोरी बलात्कृत, हाकिमबाट कर्मचारी बलात्कृत आदि आदि । कुनै पनि यस्त्ाो ठाउँ छैन, जहाँ नारीहरू भन्न सकून् कि हामी स्वतन्त्र छौं । ‘भगवान’ सँग हरेक दिन पुरुषदेखि बचाऊ भनेर प्रार्थना गर्नुपरेको छ ।

समाजमा घट्ने एक जटिल घटना बलात्कार हो, जसले नारीको जीवन दिनदिनै जलिरहेको छ । छोरी भएर जन्मिएको कारण भयभीत भएर हिंड्नु परिरहेको छ । केही मिटरको दूरीमा रहेको पसलमा जान २० वर्षको दिदीको साथमा आठ वर्षको भाइ सँगै लिएर जानुपर्छ ।

समाजले निर्धारण गरेको, बनाएको संकुचित सोचकै कारण एउटा समाजमा मात्र नभई सिंगो संसारमा नारीहरू बन्दी र बलात्कृत भएका छन् । यो देशमा न्यायको खोजी गरिरहेकी एक पूर्व मोडेल र न्याय नपाएकी निर्मला प्ान्त जस्ता हजारौं नारी बलात्कृत भएका छन् । यी प्रतिनिधिमूलक घटना मात्र हुन् । वषौर्ंदेखि गुम्सिएर रहेको एक पूर्व मोडेलको आवाज विस्फोट भएको हो । यस्ता लाखौं आवाज दबिएर रहेका छन् । बारबार विस्फोट हुने प्रयासलाई रोकिएका छन् ।

कमजोरी नारीको होइन, समाजले दिएको संस्कार र चेतनाको परिमाण हो । समाजले नारी हरेक कुरा सहन सक्ने हुनुपर्छ भन्ने गलत संस्कार बसालिदियो । अनि पुरुषप्रधान समाजले आफ्नो हैकम जमाउन सुरु गर्‍यो । समाजले नै निर्माण गरेका संस्कारहरूले महिला वेदनाका पानाहरू पल्टाउन दिंदैन । चिच्याएर पीडा अभिव्यक्त गर्न दिंदैन । भावनाहरू पोख्न दिंदैन । साहस प्रदर्शन हुन दिंदैन ।

मेरो देशको कानुन बलियाका लागि मात्र बनेको हो, समान न्याय दिनको लागि होइन । पुरुषप्रधान भनिने मेरो समाज नारी प्रधान समाज किन हुन सकेन ? किनभने पुरुष शक्तिशालीका बिम्व हुन् । महिला निरीह, कमजोर र गृहिणीकी प्रतीक हुन् । कसले भत्काउँछ यस्ता बिम्व र प्रतीकहरू ?

पुरुषले जे गर्दा पनि हुने तर नारीले पलपल सोच्नुपर्ने ? यदि नारी स्वतन्त्रताको छुट भएको भए १६ वर्षमा बलात्कृत भएकी बालिकाले आठ वर्षसम्म आफ्नो पीडा दबाएर राख्नुपर्दैनथ्यो । समाजले महिलाको योनीमा राखिदिएको इज्जतले गर्दा कैयौं महिला निसास्सिएर बाँचिरहेका छन् । कानुन छ र भनेर बारबार प्रश्न गर्छन् । न्यायालयसम्म पुगे पनि न्याय मर्छ । त्यसपछि उनीहरू आफू मरी-मरी बाँच्छन् ।

नारीले नारीको पीडा बुझेको भए धेरै नारी साहसी बन्थे होलान् । आफ्नो कुराहरू सेयर गर्थे होलान् । आफ्ना समस्याका समाधानबारे बहस गर्थे होलान् । समाजले यस्तो वातावरण सिर्जना गरिदिएको छ, चारपाँच जना एकातिर चारपाँच जना अर्काेतिर बसेर एकअर्काको कुरा काटिरहेका हुन्छन् । के त्यसरी नै महिलालाई काममा लगाएको भए काम गर्न सक्थेनन् होला ? के उनीहरू त्यही सर्कलमा महिला सशक्तीकरणका कुरा गर्न सक्थेनन् होला ? यो तिनी महिलाको दैनिकी होइन, समाजको चेतना हो ।

कुनै एक नारीको समस्या छ भने उनको न्यायका लागि देशभरिकै नारीहरू जाग्नुपर्छ । साथ दिनुपर्छ । होइन भने कसले दिन्छ साथ ? कसले दिन्छ न्याय ? कानुन छैन भने बनाऊ । हराएको हो भने खोज । न्याय सुतेको छ भने जगाऊ । कुनै हालतमा पनि हामी पन्छिन मिल्दैन ।

के यो संसारमा हामी शोषित, पीडित हुनका लागि मात्र आएका हौं ? होइन भने आफ्नो स्वतन्त्रता प्राप्तिका लागि हामी लड्नुपर्छ । गाउँ गाउँबाट उठौं । बस्ती बस्तीबाट उठौं । सहरका टोलटोल, गल्लीगल्लीबाट उठौं । जागौं ।

घटना सार्वजनिक भएकी युवती जस्तै सौन्दर्य प्रतियोगितामा सपना सजाएका हजारौं नारी छन् । के अब उनीहरूले पनि यस्तै अवस्था भोग्नुपर्ने हो ? सौन्दर्य प्रतियोगिता शृङ्गार र पहिरन मात्र प्रदर्शन गर्ने प्लेटर्फम नभएर आफूमा भएको खुबी पनि प्रस्फुटन गर्ने मौका हो । तर, यस्ता घटनाहरूले नारीको अस्मितामाथि ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ । अब के प्रश्न पनि उठ्छ भने हरेक वर्ष देशभरि सयौं यस्ता प्रतियोगिता हुन्छन्, के उनीहरू सुरक्षित छन्, हुन्छन् ?

कहिलेकाहीं धेरै पीडित नारीको आवाज एकजना पीडित महिलाको एउटा आवाज होइन । हजारौं नारीको विस्फोटक आवाज हो । हरेक पीडित नारीको साहस हो । यस्ता आवाजले मरी-मरी बाँच्ने होइन, ज्यूँदै बाँच्ने ऊर्जा दिन्छन् । आँट दिन्छन् । एक नारी पीडित हुँदा देशभरका महिला तथा पुरुष साथीहरू जसरी न्यायको लागि सडकमा प्रदर्शनका लागि निस्किए, त्यसरी नै समाज रूपान्तरणका लागि पनि बुद्धि र विवेक पुगेका युवाहरूले सोच्न जरूरी छ । समाज रूपान्तरणको एकमात्र अस्त्र भनेको चेतना हो । हामीले समाजको चेतनामा काम गर्नुपर्छ । यस्तो काम गर्न धेरै ढिलो भइसकेको हुनेछ । समाज रूपान्तरणको थालनी गरौं । अहिले गरौं । आजदेखि गरौं ।

(लेखक मध्यपश्चिम विश्वविद्यालयमा कानुन संकायमा अध्ययनरत छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?