
१ साउन, काठमाडौं । मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । २३ वैशाखमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रकै पहिलो मर्जरलाई सफलतापूर्वक सम्पन्न गर्दै आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।
नियामक बीमा समितिले वैशाखमा बीमाको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेको थियो । समितिले चैत २०७९ मसान्तभित्र निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी साढे २ अर्ब र जीवन बीमा कम्पनीको लागि ५ अर्ब पूँजी पुर्याउन निर्देशन दिएको थियो । पूँजी वृद्धिका लागि बोनस र मर्जरलाई प्राथमिकता दिनुपर्ने बताउँदै त्यसबाट पूँजी नपुगेमा अन्तिममा केही प्रतिशत हकप्रद निष्कासन गर्ने दिने बताएको थियो ।
समितिले पूजी वृद्धि अनविार्य गरेपछि मर्जरका लागि पहिलो सम्झौता गरेको दुई कम्पनीले बीमा क्षेत्रकै पहिलो मर्जर सफल पार्दै एकीकृत कारोबार सुरु गरेका हुन् । आइतबार होटल याक एन्ड यतीमा आयोजित औपचारिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबारको सुरुवात गरे ।
कार्यक्रममा सम्बोधन गर्दै उनले वित्तीय क्षेत्रमा स्थायीत्व कायम गर्ने सफल मर्जरको लागि गौरव महसुस गरेको बताए । आफू बीमाको विज्ञ नभएको तर समितिको अध्यक्ष बन्दै गर्दा बीमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा बढी हुने गरेको भन्दै मर्जर र पूँजीवृद्धि मार्फत सबल र दायरा विस्तार गर्ने कम्पनीको लागि पहल गरेको बताए ।
उनले स्थानीय तहमा पैसा रहेको भन्दै कम्पनीहरु स्थानियस्तरमा जानुपर्ने बताए । बीमाको पोलीसी सबैले बुझ्ने खालका बनाउनुपर्ने र गरिबले पनि एक दुई रुपैयाँ तिरेर बीमा गर्न सक्ने बीमा पोसीसी चाहिने उनले बताए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मर्जर मार्फत सूचिकृत संस्था बलियो बन्दा बजार विकासमा थप योगदान पुग्ने बताए ।
उनले मर्जर तथा प्राप्तिमा जाने कम्पनीको लामो समयसम्म सेयर कारोबार रोक्का हुने विषय भने उचित नभएको बताए । मर्जरका अवधिमा कारोबार लामो समय रोक्ने कुरा नभएको भन्दै नीति बनाउँदा राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीच सहकार्य गर्नु आवश्यक रहेको बताए ।
मर्जरपछि कम्पनीको अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ चयन भएका छन् भने प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह नियुक्त भएका छन्।
वैशाख २३ गते दुवै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो । सम्झौता पश्चात दुवै कम्पनीले २ असारमा विषेश साधारण सभा बोलाएर मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको थियो । सभाले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०.८५ को स्वाप रेसियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।
हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १८ करोड भन्दा माथि पुगेको छ ।
बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन कम्पनीले अब बोनस र आवश्यक परेमा हकप्रदको साहरा लिनेछ । यसबाहेक जीवन र निर्जीवन गरी १७ वटा बीमा कम्पनीले मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका छन् ।
प्रतिक्रिया 4