+
+

प्रदेश १ को नाममा दलहरूका आ-आफ्नै अडान, सम्वादमा ब्रेक

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन १७ गते १४:५०

१७ साउन, विराटनगर । प्रदेश १ सरकारले मात्र होइन, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले पनि दशौं तथा अन्तिम अधिवेशनबाटै प्रदेशको नाम राख्ने बताएका थिए ।

प्रदेश सभाबाट बजेट पारित भए लगत्तै प्रदेशको नामाकरणको विषय टुंग्याउने उनीहरूले बताएका थिए । जसअनुसार दलहरुले पटक पटक आन्तरिक र सर्वदलीय बैठक बसाले पनि । तर नाममा सहमति जुटेन ।

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गते बोलाएको बैठकमा नामका विषयमा दलहरू आफ्नै अडानमा रहेपछि त्यसयता त सम्वाद नै रोकिएको छ ।

नामका विषयमा सहमतिका लागि सभामुखले साउन १० गतेदेखि १७ गतेसम्म बैठक स्थगित गरी छलफलका लागि समय दिएका थिए । दलका नेताहरूको सल्लाहमा उनले सात दिनको समय दिए पनि यो समयमा दलहरूले सम्वाद गरेनन् ।

भुगोललाई आधार मानेर नाम राख्ने कि पहिचानलाई आधार मानेर प्रदेशको नाम राख्ने भन्नेमा दलहरूबीच विवाद छ । नेकपा एमालेले कोशी प्रदेश र कांग्रेसले सप्तकोशी प्रदेश प्रस्ताव गरेका छन् । दुवै दल भित्र पहिचानको पक्षमा केही सांसद छन् । दुवै दलले प्रस्ताव गरेको नाम एउटै नदीको हो ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहित राप्रपा बाहेकका साना दल बहुपहिचानको पक्षमा छन् । माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले प्रदेशको नाम कोशी किराँतमा सहमति खोज्ने निर्णय गरेको थियो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो दलहरू आफ्नै व्यस्ततामा रहेका कारण छलफल हुन नसकेको बताउँछन् । ‘दलहरू आफ्नै व्यस्ततामा रहे,’ उनले भने, ‘यो बीचमा नामका विषयमा छलफल भएकोे छैन ।’

नामका विषयमा दलहरू अडानमा रहेका कारण छलफल नभएको बताउँछन् नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला । ‘अस्ति सभामुखले बोलाएको बैठक पछि बसेका छैनौं,’ कोइरालाले भने, ‘सबै दल आफ्नै अडानमा छन्, बस्दा टुङ्गोमा पुग्नेगरी बस्नु पर्छ ।’

सल्लाह गरेर बैठक बस्ने जानकारी दिँदै उनले प्रकृयामा लैजानुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस रहेको बताए ।

नेकपा एमाले भने सत्ता पक्षले नामको विषयमा छलफल गर्न नचाहेको आरोप लगाएको छ । एमाले नेता जीवन घिमिरे नेपाली कांग्रेसले बैठक बोलाउने सहमति भए पनि बैठक नबोलाएको बताए । ‘सभामुखले बोलाएको सर्वदलीय बैठकपछि नेपाली कांग्रेसले बैठक बोलाउने सहमति थियो,’ उनले भने, ‘तर आजसम्म कांग्रेसले खबर गरेको छैन ।’

‘प्रदेशको नामकरण प्रदेश सभाको २ तिहाइले गर्ने हो, नामकरण पहिचानको आधारमा गर्नुपर्छ भन्नेमा हाम्रो पार्टी प्रष्ट छ,’ माओवादी केन्द्रका नेता आङ्बो भन्छन्, ‘प्रदेशमा हाम्रो पार्टीलाई प्राप्त जनमत एजेण्डाको रक्षा गर्नेसम्मको मात्र हो । सदन र सरकारबाट हामी आफ्नो भूमिका निर्वाह गरिरहेका छौं ।’

नेकपा एमालेले कोशी बाहेकको नाममा सहमति गर्न नसक्ने बताएपछि छलफल अघि नबढेको सत्ता पक्षकोे तर्क छ । एमालेको अडानकै कारण मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका विषयमा भड्किलो अभिव्यक्ति दिइरहेको सत्ता पक्षका नेताहरू बताउँछन् । ‘नामका विषयमा एमाले रिजिक्ट छ,’ कांग्रेसका एक सांसदले भने, ‘एमालेका कारण मुख्यमन्त्रीको भडकाउ खालको अभिव्यक्ति आएको हो ।’

किराँतको बिकल्पमा विजयपूर

एमालेको अडान बाहेक अन्य पहिचान झल्कन सक्ने नाममा सहमति खोज्न माओवादी तयार छ । पछिल्लो समय माओेवादीले विजयपूर नामका विषयमा छलफल गर्न सकिने बताएको छ । ‘विजयपूरसँग किराँत र लिम्बूहरूको सभ्यता जोडिन्छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘एमाले कोशीको अडानबाट पछि हटे विजयपूरमा सहमति हुनसक्छ ।’

एमाले नेता घिमिरे कोशी बाहेकका विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताउँछन् । ‘हामी एकल जातीय पहिचानमा जाँदैनौं, बहुपहिचानमा छलफल गर्न सक्छौं,’ उनले भने, ‘विजयपूरमै सहमति खोज्ने हुँदा छलफलमा प्रस्ताव आओस् ।’

कांग्रेस एमाले मिले अधिवेशन अन्त्य

प्रदेशको नामका विषयमा सत्ता पक्ष नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले नजिक छन् । दुई दल मिलेर प्रस्तुत भए प्रदेशले नाम प्राप्त गर्नेछ । तर मुख्यमन्त्री राजेन्द्र राई भूगोलका आधारमा नाम राख्ने अवस्था आए अधिवेशन अन्त्य गर्ने तयारीमा छन् ।

मुख्यमन्त्रीले नराम्रो नाम आउनु भन्दा अर्काे संसदलाई नाम राख्ने जिम्मेवारी दिनुपर्ने बताइसकेका छन् । मुख्यमन्त्रीको अडानले गर्दा नेपाली कांग्रेस एमालेसँग नजिक नभएको एक सांसदले बताए ।
‘कांग्रेस एमाले मिल्ने हो भने अरु २ जना सांसद थपिदा दुई तिहाई पुग्छ,’ कांग्रेसका एक सांसदले भने,‘मुख्यमन्त्री र प्रदेश प्रमुख पहिचानको पक्षधर हुन्, कांग्रेस एमालेले भूगोलका आधारमा नाम राख्न सहमति गरे अधिवेशन नै अन्त्य हुन्छ ।’

९० जना सांसद रहेको प्रदेश १ मा नेपाली कांग्रेससँग २१ र एमालेसँग ३९ सांसद छन् । दुई तिहाईका लागि ६१ मत आवश्यक पर्छ । माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाको ३, राप्रपा र संघिय लिम्बुवन राष्ट्रीय मञ्चको एक–एक जना सांसद छन् ।p

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?