
३० साउन, काठमाडौं । ‘अन्तरपुस्ता ऐक्यबद्धता ः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौं राष्ट्रिय युवा सम्मेलन सकिएको छ ।
९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको सम्मेलनको अन्तिम समारोहमा बोल्दै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४०५ भन्दा धेरै युवाहरु निर्वाचित भएर आएकाले आम युवाहरुमा नयाँ आशा पलाएको बताए । उनले अधिकारको आन्दोलमा मात्र अगाडि बढ्ने युवावर्गले आफ्नो जिम्मेवारी बोध गर्दै उर्जाशिल शक्ति देश निर्माणमा लगाउनुपर्ने बताए ।
वातावरणविद् श्यामकृष्ण श्रेष्ठले आफ्नो ज्यान नै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै युवालाई देशमा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताए ।
सम्मेलनको उद्घाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए। कार्यक्रममा दिगो विकासको स्थानीयकरण, पर्यटनमा युवाको सम्भावना, राजनीति र युवा नेतृत्व लगायतका विषयमा छलफल र बहस भएको थियो ।
दुईदिने राष्ट्रिय युवा सम्मेलनले युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग गर्ने, आगामी संसदीय चुनावमा पचास प्रतिशत युवा उम्मेदवारी कायम गर्न राजनितिक दल, संसद तथा सरकारसंग पहल गर्ने, सीप प्रबर्द्धन र उद्धमशिलता मैत्री नीति र संरचना स्थानीय तहसम्म बिस्तार गर्न माग गर्ने लगायत ९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै राष्ट्रिय युवा परिषद्लाई हस्तान्तरण गरेको सञ्जालका केन्द्रीय अध्यक्ष अमृत देवकोटाले बताए ।
आगामी दिनहरुमा दिगो बिकास र युवाको क्षेत्रमा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय संघ सस्था सहकार्य गर्दै अगाडि बढ्ने र निकट भविष्यमै दक्षिण एसियायी युवा सम्मेलनको तयारीमा संस्था लागेको महासचिव सन्जिप न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया 4