
३ भदौ, काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । विद्यालय कर्मचारीहरु विभिन्न माग राखेर गत बुधबारदेखि आन्दोलित हुँदै आएका छन् ।
संगठनले शुक्रबार विज्ञप्ति जारी गर्दै दशकौंदेखि विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना गरी स्थायी नगरिनु र न्यूनतम श्रम ऐन अनुसारको सेवा सुविधा प्रदान नगर्नु घोर अन्यायपूर्ण र आपत्तिजनक भएको जनाएको छ ।
राज्यले अरु सबै क्षेत्रका कर्मचारकिो तलब वृद्धि हुँदा समेत विद्यालय कर्मचारीको तलब नहुनु खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ । विद्यालय कर्मचारीको माग र मुद्दाहरु तत्काल सम्बोधन गर्न संगठनले माग गरेको छ ।
आन्दोलित विद्यालय कर्मचारी परिषद्ले विद्यालय प्रधानाध्यापकहरुलाई सहयोगको अपिल गर्दै विज्ञप्ति जारी गरेको छ । आन्दोलनमा सहभागी कर्मचारीहरुलाई हाजिरी हुन निर्देशन दिएपछि आन्दोलनमा साथ दिन अपिल गरेका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ ‘आन्दोलनमा सहभागी हुनुहने विद्यालय कर्मचारी साथीहरुलाई विद्यालयमा हाजिरी हुन निर्देशन भएको जानकारी प्राप्त भएको हुँदा राष्ट्रिय समितिको तर्फबाट विद्यालय कर्मचारीहरुको अनुपस्थितिले विद्यालयमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै आन्दोलनको क्रियाकलापमा सहभागिताका लागि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।’
परिषदले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३०, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रकृया पुर्याई स्वत स्थायी प्रकृयामा लगिनुपर्ने संघीय शिक्षा ऐन÷शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तैगरी संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरुलार्य एक पटकका लागि उमेर हद नगाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलार्य प्रचलित कानुनबमोजिम शिषक सरहको सेवा सुविधा उपलब्ध गराई अवकाश ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने लगायतको माग राख्दै बुधबारदेखि आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया 4