
५ भदौ, साउन । कोभिड महामारीको दोस्रो लहरमा कलाकार मिलन शेरचन संक्रमित बनिन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडलाई त जितिन् । तर, त्यसको बाछिटा भने अझै हटिसकेको छैन ।
‘अहिले पनि बिरामी नै छु । जसोतसो हिँडिराखेको छु । आजै(आइतबार) हो धेरै दिनपछि बाहिर निस्किएको,’ आइतबार पोखरा आर्ट ग्यालरी भेटिएकी शेचरनले भनिन्, ‘डाक्टरले पनि बोटविरुवा नछोऊ भनेका छन् ।’
शेरचन कुनैबेला पातपतिंगर बटुलेर कलामा उत्रिन्थिन् । तर, अहिले त्यो बाटो पनि बन्द भएपछि बालुवातिर सरेकी छन् । ‘आफ्नै जीवनमा पहिरो गइरहेको छ । त्यसैले पहिरोकै चित्र बनाएँ,’ आफूले बालुवाबालुवा जोडेर बनाएको चित्र देखाउँदै विस्तारै भनिन्, ‘यो सब बालुवाको हो, वन्ली स्यान्ड ।’
शेरचनले भदौ १० गतेदेखि सिर्जनशील कलाकार समूह कास्कीले पोखरा आर्ट ग्यालरीमा आयोजना गर्न लागेको ‘इटर्नल लाइन्स’ अर्थात् अनन्त रेखाहरु शीषर्कको कला प्रदर्शनीमा क्यान्भासमा कोरिएको आफ्नो चित्र प्रर्दशन गर्नेछिन् । उनी संस्थाकी अध्यक्षसमेत हुन् ।
१५ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा गण्डकी प्रदेशभरका ८७ जना कलाकारले आफ्नो कला प्रस्तुत गर्ने संस्थाका उपाध्यक्ष दलबहादुर गुरुङले जानकारी दिए । बर्सेनि ‘मनसुन’ शीर्षकमा चित्रकला प्रदर्शन गर्दै आइरहेको थियो । तर, यस वर्ष भने विषयलाई फरक रुप दिन र सबै कलाकर्मीलाई सहभागी गराउन ‘थिम’ फेरिएको उनले बताए ।
‘यसमा पोखराका मात्रै होइन, गण्डकीभरिका अग्रजदेखि अनुज पुस्ताका सबै कलाकारले आफ्नो कला देखाउने मौका पाउनेछन्,’ गुरुङले भने, ‘चित्रकलाका साथै ललितकलालाई पनि समेट्ने हाम्रो प्रयास हो ।’ उनले पहिले क्यान्भासमा सजिने चित्रमा अब सिर्जनशील तर्फ गइरहेको सुनाए ।
कलाकार हेमकान्ति गुरुङले यस वर्षदेखि चित्रकलामात्रै नभएर फोटोग्राफी, पर्फमेन्स आर्टलाई पनि प्रदर्शनीमा समेटिएको जानकारी दिइन् । ‘यसमा केही कपी गरिएका चित्रहरु पनि छन्, हामीलाई थाहा छ । तर, ती साना भाइबैनीले बनाएका हुन् । कम्तिमा यहाँ उभिएपछि उनीहरुले सिक्नेछन् । हामीले प्लेटफर्म नदिए कसले दिने ?’ उनले भनिन् ।
कलाकार अमृत कार्कीले ‘मनसुन’मा पहिले संस्थाका सदस्यमात्रै सहभागी हुने भए पनि अब सबै वर्गका कलाकर्मी सहभागी हुन पाउने जानकारी दिए । ‘हाम्रो पछिको पुस्ताका लागि पनि यो एउटा प्लेटफर्म हो,’ उनले भने, ‘अब कलाकारले आफूले जे देखे त्यो त्यहीभन्दा पनि जे देख्दैनन्, त्यो पनि कोर्नेछन् ।’
प्रतिक्रिया 4