
६ भदौ, काठमाडौं । ललितपुर एकान्तकुना अवस्थित यातायात व्यवस्था कार्यालयको सवारी पार्किङमा थिए, काठमाडौंका मिलन विश्वकर्मा । दिउँसो २ बजे, भर्खरै सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेका उनी फोनमा कसैसँग आफ्नो खुशियाली बाँड्दै थिए ।
दिनहुँ चाप हुने यातायात व्यवस्था कार्यालयमा उनी जस्ता धेरै जना ट्रायलको पालो कुर्ने र ट्रायल सजिलोसँग पास गर्ने आशामा अभ्यास गरिरहेका हुन्छन् । गाडी चलाउन अनिवार्य चाहिने सवारी अनुमतिपत्र पाउन त्यति सजिलो भने छैन । यसलाई मिलनको अनुभवले पनि पुष्टि गर्छ ।
मिलन भन्छन्, ‘मानसिक तनाव पनि उत्तिकै हुन्छ, बायोमेट्रिक विवरणका लागि बिहान ८ बजेदेखि लाइन बसेको दिउँसोको ४ बजे बल्ल पालो आयो । सर्भर पनि राम्रोसँग चल्दैन, अनलाइन फारम पनि मुश्किलले भरें ।’
मिलनले लाइसेन्स लिन गरेको यो प्रयास पहिलो होइन, यसभन्दा अगाडि उनी दुई पटकसम्म ट्रायलमा अनुत्तीर्ण भएका थिए । तेस्रो पटकको प्रयासमा उनले ट्रायल पास गरेका हुन् ।
मिलनको छेउमै बसेका थिए, ललितपुरका आङबहादुर लामा । ट्रायलमा असफल भएर निराश देखिएका लामालाई यातायात कार्यालयसँग ज्यादै नै मन दुःखेको रहेछ ।
उनी भन्छन्, ‘भद्रगोल व्यवस्थापन, कर्मचारीको रुखो व्यवहार, सेवाग्राहीको समयको कुनै प्रवाह नै छैन; नागरिकले तिरेको राजस्वबाटै तलब खाने हुन् तर नागरिकलाई गर्ने व्यवहार कत्ति पनि राम्रो छैन ।’
लामा ट्रायल अभ्यासको लागि कार्यालयले बढी पैसा लिएको बताउँछन् । एकपटकमा एक राउण्ड लगाउन पाइन्छ । त्यसको लागि पनि कार्यालयले दोब्बर पैसा उठाउने गरेको उनले बताए । यातायात कार्यालयको ट्रायल अभ्यास गर्न सेवाग्राहीले मोटरसाइकलका लागि १००, कारको लागि ६५० र हेभी गाडीको लागि १००० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।
त्यही भीडमा थिए ललितपुरका आयुष श्रेष्ठ पनि । उनी लाइसेन्स नवीकरण गराउन आएका रहेछन् । उनलाई नवीकरणका लागि एउटा हस्ताक्षरको आवश्यक थियो, तर हस्ताक्षर गराउन तीन घण्टासम्म कुरेछन् । तीन घण्टापछि मात्रै उनको काम भयो । आयुष भन्छन्, ‘सामान्य कामको लागि पनि घण्टौं कुर्नुपर्ने, डिजिटल युगमा छौं भन्ने तर काम भने ढुंगे युगको जस्तो छ । अनलाइनमा फारम भर्दा निश्चित समय नै तोकिंदैन काम माया मारेर दिनभरि बस्नुपर्छ ।’
काठमाडौं फर्पिङका सिरोज बलामी लाइसेन्स नवीकरणका लागि यातायात व्यवस्था कार्यालयमा बिहान ७ बजे नै आएका रहेछन् । उनको समस्या पनि आयुषको जस्तै छ । सिरोज भन्छन्, ‘कार्यालयमा बेलाबेलामा सिस्टम परिवर्तन भइरहन्छ, मेरो दिदीले ट्रायलको लागि चार महिना अगाडि फारम भर्नु भएको थियो । दिदी कार्यालयले तोकिदिएको मितिमा आउँदा सिस्टम परिवर्तन भइसकेको रहेछ । अब नयाँ फारम भरेर मात्र आउनुपर्ने रे ! नवीकरणको काम कहिले हुने हो भन्नेमा उनी अन्योलमा थिए ।’
सिन्धुपाल्चोकका अजय तामाङ बिहान ६ बजे नै ट्राफिक प्रहरी कार्यालय आएतापनि उनको काम कतिखेर हुन्छ भन्न सकिने अवस्था थिएन । ट्रायल पास गरेसँगै त्यसको लागि रसिद लिन कार्यालय आएका उनको काम दुई बजेपछि नहुने भनियो । अनि निराश अवस्थामा उनी घर फर्किंदै थिए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘प्रक्रिया एकदमै जटिल, टोकन लियो, एउटा ढोकादेखि अर्को ढोका, अनलाइन फारम भरेदेखि लाइसेन्स पाउने समयसम्म असाध्यै गाह्रो रहेछ ।’

काठमाडौंकी पूजा अधिकारी अनलाइन फारम भर्न नै मुश्किल भएको बताउँछिन् । भन्छिन्, ‘प्रविधिमैत्री बन्दै गएको भनिए पनि सेवा लिन घण्टौं लाइनमा बस्नुपर्ने रहेछ ।’
काठमाडौंकी मन्दिरा अधिकारीको दुःख पनि उस्तै छ । मन्दिरा भन्छिन्, ‘सर्भर राम्रोसँग चल्दैन, सात बजेबाट खुल्छ भन्छन् तर फारम भर्न बटम थिच्दा–थिच्दा अन नै हुँदैन; अथक् प्रयास पछि बल्ल भर्न पाएँ ।
मन्दिराका भनाइमा, घामपानीमा बस्ने ठाउँ नै छैन, न व्यवस्थापन नै राम्रो छ । सेवाग्राही अनुकूल वातावरण नै छैन । उनी भन्छिन्, ‘नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी सबै बनाएँ तर सबैभन्दा गाह्रो लाइसेन्स बनाउन रहेछ । बायोमेट्रिक विवरण बुझाउन आएको अब कहिले बन्ने हो थाहै छैन ।’
कार्यालय परिसरमै भेटिएकी काठमाडौंकी विपना न्यौपाने भन्छिन्, ‘सरकारी परिचयपत्रदेखि लाइसेन्स बनाउन धैर्य हुनुपर्छ । आफूले गरेको योजना अनुसार काम नै हुँदैन । कार्यालयबाट समय मिलाएर आयो, सोचेको समयमा काम नै बन्दैन ।’
ढिलासुस्ती, लापरबाही, बिचौलियाको विगविगीले काम फटाफट नभएको बताउँछन् काठमाडौंका गौरव शर्मा । सवारी चालक अनुमतिपत्र लाइसेन्सको पर्खाइमा लाखौं नागरिक छन् । हत्तपत्त परीक्षा सञ्चालन नहुने, फारमकै लागि महिनौं कुर्नुपर्ने, ट्रायल पास गरे पनि स्मार्ट लाइसेन्स पाउन वर्ष दिनभन्दा बढी पर्खनुपर्ने हुँदा सेवाग्राहीले गुणस्तरीय सेवा पाउन नसकेको बताउँछन् उनी ।
यी प्रतिनिधि घटना मात्र हुन् । सवारी चालक अनुमति पत्रको लागि लाखौं नेपालीले सास्ती खेप्नु परेको छ । सहज र सुलभ तरिकाले सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।
देशैभरिका आवेदकहरूले एकैपटक सर्भर हिट गर्ने भएकाले नेटवर्क जाम हुने र दिनैपिच्छे डाउन हुँदा समस्या हुने बताउँछन् यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु । पनेरुका अनुसार, सवारी चालक अनुमतिपत्रको माग धेरै भएकाले काममा केही ढिलासुस्ती भएको हो । अहिले यातायात व्यवस्था विभागसँगै प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयबाट पनि सेवा दिन थालिएकोले पहिला जस्तो झन्झटिलो छैन ।
वागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय, हेटौंडाका प्रमुख भक्त भण्डारी भन्छन्, ‘सेवाग्राहीको अत्यधिक चाप तथा कार्यालयको सेवा दिने क्षमता कमजोर भएकाले सेवा सुलभ र सरल हुन नसकेको हो ।’
‘लकडाउनको अवधिमा दुई महिनादेखि एक वर्ष पछाडिसम्मको मिति बुक गरिने भए पनि हालको समयमा १५ दिन भन्दा पछाडिको मिति बुक गर्न नपाइने भण्डारी बताउँछन् । कर्मचारीको दरबन्दी तथा व्यवस्थापन पक्षले गर्दा सेवा केही हदसम्म प्रभावित भए पनि बजारमा चलेको हल्ला सत्य नभएको भण्डारी बताउँछन् ।
भण्डारीले भने, ‘काठमाडौंका चार र हेटौंडाको एक गरी पाँच वटा कार्यालयबाट दैनिक २५०० कोटा खुल्ला हुनेछ । तर दर्ता, परीक्षा सञ्चालन, नतिजा प्रकाशन, लाइसेन्स छपाइ तथा वितरणको काममा लामो प्रक्रिया रहने भएकाले सेवाग्राहीले समयमै सेवा पाउन केही कठिनाइ भने पक्कै भएको हुनसक्छ ।’
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4