+
+

२६ वर्षपछि जोडियो अध्यापन पेशाको कडी

महेश न्यौपाने महेश न्यौपाने
२०७९ भदौ ७ गते १७:१४
कक्षा कोठामा कुमार शाह

७ भदौ, रोल्पा । सरकारले माओवादी सशस्त्र द्वन्द्व र आन्दोलनका कारण जागिर गुमाएका शिक्षक तथा कर्मचारीहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेसँगै रोल्पाका १५ जना अध्यापन पेशामा फर्किएका छन् । १५ जना शिक्षकहरूले पुनर्बहालीको पत्र बुझेर सम्बन्धित विद्यालयमा हाजिर भई पढाइरहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जनाएको छ ।

मन्त्रिपरिषद बैठकले द्वन्द्वकालमा जागिर गुमाएका देशभरका ५८६ जना द्वन्द्वपीडित शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो । उनीहरुले विद्यालयमा हाजिर भएको मितिदेखिको तलब भत्ता लगायतका सुविधा पाउने तर सेवाबाट हटाइएको मितिदेखि पुनर्बहाली भई हाजिर नहुन्जेलसम्मको अवधिको तलब भत्ता, बिदा, पोशाक, चाडपर्व खर्च लगायत सुविधा नपाउने निर्णय गरेको थियो । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा गठित कार्यदलले २०७३ मंसिरमा दिएको प्रतिवेदन अनुसार मन्त्रिपरिषदले सो निर्णय गरेको थियो ।

सरकारको निर्णय अनुसार पुनर्बहाली भएका शिक्षकहरुमध्ये एक हुन् रोल्पाका कुमार शाह । उनी निम्नमाध्यमिक तहमा दरबन्दी कायम रहने गरी पुनर्बहाली भएका छन् । २०५३ साल जेठदेखि छोडेको शिक्षण पेशामा उनी २६ वर्षपछि फेरि जोडिएका छन् ।

प्रहरीको तारोमा परेपछि छाडेका थिए जागिर

जनसेवा माध्यमिक विद्यालय राङ्सीमा कार्यरत रहेकै बेला २०५२ साल फागुन १ गते माओवादी सशस्त्र युद्धको घोषणा भयो । शिक्षण पेशासँगै माओवादी राजनीति पनि गर्ने भएकाले उनी राज्यपक्षको तारोमा परे । त्यसपछि केही समय भूमिगत भएर राङ्सी गाउँमै बसे । राङ्सी वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको गाउँ हो ।

लामो समय पठनपाठन अवरुद्ध भएपछि विद्यार्थी र अभिभावकको आग्रहमा उनले प्रहरीलाई छक्याउँदै विद्यालय आएर पढाउने गर्थे । राज्यको दमन बढ्दै जान थालेपछि भने उनी २०५३ साल जेठदेखि पूर्णकालीन कार्यकर्ताको रुपमा भूमिगत भए ।

त्यसअघि उनले २०४३ सालदेखि मावि हरिगाउँ रोल्पामा अस्थायी शिक्षकको रुपमा अध्यापन गर्थे । २०४७ सालमा प्राथमिक तह र २०५० सालमा निम्न माध्यमिक तहमा स्थायी शिक्षकको रुपमा नाम निकालेसँगै उनी जनसेवा मावि राङ्सीमा पोष्टिङ भएका हुन् ।

सशस्त्र युद्धकालमा उनले विभिन्न क्षेत्रको जिम्मेवारी सम्हाले । उनी माओवादी लडाकु तर्फ प्लाटुन सहायक कमाण्डरसम्म भए । लडाकुमा केही समय काम गरेपछि उनलाई पार्टीले सांगठनिक काममा खटायो । ‘पार्टीको रोल्पा जिल्ला समितिको सचिवालय सदस्य भएर केही समय संगठनमा काम गरेपछि २०५६ सालमा मेरो सरूवा काठमाडौंमा भयो । केन्द्रीय प्रचार विभागमा जिम्मेवारी तोकिएको थियो’ शाहले भने, ‘केन्द्रीय आधार इलाकालाई काठमाडौंसँग जोड्ने भन्दै मलाई काठमाडौं पठाइएको थियो । माओवादीको मुखपत्र जनादेश लगायतमा काम गरें ।’ शान्ति प्रक्रियापछि भने उनी माओवादीले नै प्रकाशन गर्ने ‘रेडस्टार’ अँग्रेजी मासिकको सम्पादक भएका थिए ।

२०५८ साल मंसिर ८ गते घोराही आक्रमणपछि सेना परिचालन भयो । उनी २०५८ साल फागुन ३ गते काठमाडौंको महाराजगञ्जबाट पक्राउ परे । उनलाई १ महिना प्रहरीको कष्टडी र २ महिना सेनाको कष्टडीमा छाउनी, स्वयम्भु लगायतका व्यारेकमा राखियो ।

‘सेना र प्रहरीको चर्को यातनाले उनले आँखा देख्दैनथें, कान सुन्दैनथें, नाकले गन्ध भने थाहा पाउँथ्यो’ शाहले विगत स्मरण गरे, ‘निरन्तर करेन्ट लगाएर स्मरण शक्ति गुमेको जस्तो भएको थियो ।’

प्रचण्डलाई छाडेर मोहन वैद्यको साथ

कष्टडीबाट रिहा भएपछि उनले पार्टी हेडक्वाटर नजिक भएर काम गर्ने अवसर पाए । हेडक्वाटर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भन्ने गरिन्थ्यो । हेडक्वाटरसँग भारतको लखनउ, मुम्बई, ओखला जस्ता ठाउँमा बसेको उनको भनाइ छ । हेडक्वाटर केन्द्रीय आधार इलाका रोल्पा आउने भएपछि उनी पनि सँगै नेपाल आए । रोल्पा आएसँगै उनलाई पार्टीको जिल्ला सेक्रेटरी र त्यसपछि जिल्ला सहइन्चार्जको जिम्मेवारी दिइयो ।

शान्ति प्रक्रियाको बहानामा खोजिएको सेफ ल्याडिङले अहिलेसम्म गरेको लगानी डुब्ने भन्दै नेतृत्वलाई सुझाव दिइरहन्थे । सेफ ल्याण्डिङको नाममा सेटब्याक हुन लागेको उनको बुझाइ थियो । पुरानै संसदीय व्यवस्थामा जाने हो भने जनयुद्ध प्रति नै प्रश्न उठ्ने भन्दै उनले पार्टी फोरमहरुमा बारम्बार कुरा राखे ।

युद्धमा उनले भाइ धमेन्द्र शाह गुमाए । माओवादी आन्दोलनमा लागेका शाहलाई सेनाले पक्रेर हत्या गरेको थियो ।

शान्ति प्रकृयापछि २०६९ सालमा प्रचण्डसँग बस्न नसक्ने भन्दै मोहन वैद्यले पार्टीबाट सम्बन्ध विच्छेद गरी नयाँ पार्टी गठन गरे । शाह वैद्यको पार्टीमा सामेल भए । सो पार्टीका केन्द्रीय सदस्यसम्म भएका उनी अहिले राजनीतिमा सक्रिय छैनन् । उनले पार्टीको पैसाले राजनीति नगरेको बताउँछन् । ‘पार्टीबाट एक पैसा लिएको छैन, राजनीतिकै कारण भएको पैतृक सम्पत्ति सकियो’, शाहले भने ।

माओवादी पार्टी विभाजनसँगै सक्रिय राजनीतिलाई विश्राम दिएका उनले व्यावसायिक पत्रकारिता अँगाल्ने सोचका साथ राजधानी दैनिकमा पनि काम गरे । उपसम्पादकका रुपमा उनले त्यहाँ विचार पृष्ठ हेर्थे । केही समयपछि काम गर्न जान छाडे । उनले केही अनलाइनमा पनि काम गरे । पत्रकारिता रोजाइको पेशा भएको उनको भनाइ छ । ‘राजनीति र समाजसँग सम्बन्ध जोड्ने भनेकै पत्रकारिता भएकाले यो मेरो रुचिको पेशा हो’, शाहले भने ।

शिक्षा क्षेत्रमा सन्तुष्ट

२०५३ साल जेठदेखि छोडेको शिक्षण पेशामा उनी २६ वर्षपछि फेरि जोडिएका छन् । उनी सुनिलस्मृति गाउँपालिका–२ हरिगाउँमा रहेको माध्यमिक विद्यालयमा निम्नमाध्यमिक शिक्षकको रुममा कार्यरत छन् ।

२६ वर्ष टुटेको कडी जोडिएकोमा उनी खुसी छन् । ‘शिक्षण पेशा अन्य पेशाभन्दा अलि खुला लाग्छ’ उनले भने ।

भित्रैदेखि लाग्ने हो भने शिक्षा क्षेत्रबाट छिटो सामाजिक परिवर्तन ल्याउन सकिने उनको बुझाइ छ । लामो समयपछि शिक्षा क्षेत्रमा जोडिएकोमा पूर्ण सन्तुष्ट रहेको उनले बताए ।

उनी भूमिगत हुनु अघि अंग्रेजी साहित्यमा स्नातकोत्तर तहका लागि थेसिस लेख्ने तयारीमा थिए । ‘स्नातकोत्तर सकेर सोलुखुम्बु क्याम्पसमा लेक्चर भएर जाने कुरा हुँदै थियो तर समय र परिस्थितिले साथ दिएन’ उनले विगत सम्झदै भने, ‘अभि सुवेदी लगायतको गुरुहरुले लेक्चर भएर सोलुखुम्बु जान निकै प्रोत्साहन गर्नुभएको थियो ।’

सशस्त्र युद्ध शान्ति प्रक्रियामा आएपछि उनले पढाइलाई निरन्तरता दिए । अंग्रेजी साहित्य, राजनीति शास्त्र, ग्रामीण विकास र इतिहास विषयमा स्नातकोत्तर गरेको उनी बताउँछन् । कानूनमा एलएलबी गरेका उनी अधिवक्ता समेत हुन् । राजनीतिशास्त्रमा विद्यावारिधिको शोधार्थी उनले ‘नेपाली माओवादी आन्दोलनमा नेतृत्वको समस्या’ विषयमा विद्यावारिधि गर्न लागेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?