
९ भदौ, विराटनगर । उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा नेपाली कांग्रेस मोरङ क्षेत्र -४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । विराटनगर महानगरपालिका-३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कार्यकर्ताले बस्नेतमाथि हातपात गरेका हुन् ।
मंसीर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रदेशको सामानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दै पुगेका राजु थापाले हातपात गरेका हुन् ।
स्थानीय तहको चुनावमा आफूलाई टिकट नदिएको भन्दै असन्तुष्ट बनेका उनले समानुपातिक सूचीमा आफ्नो नाम राख्न भनेपछि बस्नेतले प्रदेश निर्वाचन क्षेत्रबाट प्रक्रिया पुर्याएर सिफारिस आउनुपर्ने बताए । सोही विषयमा विवाद बढ्दै जादा थापा र बस्नेतबीच हात-हालाहालको अवस्था सृजना भएको घटनास्थलमा कांग्रेसका एक कार्यकर्ताले बताए ।
‘उनी मेरो भाइ हुन्, तर डोमिनेशन गरेर बोले,’ थापाले भने, ‘त्यसपछि हात हालाहाल भयो, अरुले छुट्याए ।’ उनले आफूले क्षेत्र नम्बर ४ को ख बाट समानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दा बस्नेतले नमानेको बताए ।
क्षेत्रीय सभापति बस्नेतले प्रक्रियाको कुरा गर्दा विवाद भएको बताए । समानुपातिक सूचीमा क्षेत्रले सिफारिस गर्नका लागि लागि प्रदेश निर्वाचन क्षेत्रबाट सिफारिस आउनुपर्ने बताएपछि थापा आवेशमा आएको उनले बताए ।
‘समानुपातिक सिफारिसका लागि प्रदेश निर्वाचन क्षेत्रीय समितिले सिफारिस गर्छ, मैले हस्तक्षेप गर्न मिल्दैन,’ उनले भने,‘मैल विधिको कुरा गरेरको थिए, उहाँ आवेशमा आउनुभयो ।’
उनले घटना सामान्य भएको बताए । ‘उहाँ आज मेरो घरमा आउनु भएको थियो, घरमा एकछिन छलफल पछि चिया पसल गएपछि विवाद भयो,’ उनले भने,‘ उहाँ सुरुदेखि नै आक्रामक रुपमा हुनुहुन्न्थ्यो ।’ बस्नेत विराटनगर-३ का पूर्व वडा अध्यक्ष हुन् ।
प्रतिक्रिया 4