
२४ भदौ, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूमिगतकालीन राजनीतिको अधिकांश समय दक्षिणी झापाको गौरीगञ्जमा बिताए । त्यतिखेरका कम्युनिस्टहरुले राजनीतिक गतिविधि गर्ने सुरक्षित थलो झापाका दक्षिणी देहातलाई बनाएका थिए । त्यतिबेलैदेखि कम्युनिस्ट बलियो भएको ठाउँ हो ।
०४८ सालदेखि ०५६ को चुनावमा यो क्षेत्र निर्वाचन क्षेत्र नम्बर ६ थियो भने ०६४ र ०७० को संविधानसभा चुनावमा क्षेत्र नम्बर ७ भयो । २०७४ यता क्षेत्र नम्बर ५ बनेको यही क्षेत्रबाट एमाले अध्यक्ष ओली संसदीय चुनावमा निरन्तर प्रतिस्पर्धा गरिरहँदा उनका प्रतिस्पर्धी भने चुनावैपिच्छे फेरिएका छन् ।
मुलुकमा बहुदल पुनर्स्थापना भएपछि २०४८ सालमा पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार भएका ओलीले नेपाली कांग्रेसका पूर्णानन्द शर्मालाई पराजित गरे । त्यतिखेर दमक, कमलझोडा, गौरादह, गौरीगञ्ज क्षेत्र नम्बर ६ मा पर्थ्यो ।

‘कम्युनिस्टहरुले ठूल्ठूला कुरा गर्थे, हामीले सामान्य कुरा गर्यौं’, त्यो चुनावको स्मरण गर्दै शर्मा भन्छन्, ‘ग्रामीण क्षेत्रको उत्थान गर्दा गाउँका सम्पूर्ण मानिसको आवश्यकता पूरा हुनुपर्छ, कांग्रेसको समाजवादी अवधारणा यही हो भनियो ।’
एमालेले सामन्ती व्यवस्थालाई समुल नष्ट नगरेसम्म शोषित पीडितको उत्थान नहुने कुरा गरेको बताउँदै उनले भने, ‘अहिले पनि उनीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लगाइरहेका छन् ।’ त्यसपछि पूर्णानन्द शर्मा कहिल्यै चुनावमा उठेनन् ।
पार्टीले त २०५१ मा पनि उम्मेदवार बनाउन खोजेको तर चुनाव जित्न ‘मनि एण्ड मसल’ चाहिने कुरालाई ध्यानमा राखेर नउठ्ने निधो गरेको उनी बताउँछन् ।
ओली भने त्यसयताका प्रत्येक चुनावमा उम्मेदवार भए । २०६४ सालको संविधानसभाबाहेक अरु सबै चुनावमा जितेका पनि छन् । ओलीको विजयबारे शर्मा भन्छन्, ‘पहिलो कुरा त, कम्युनिस्टहरुले भूमिगतकालमा संगठन बनाउने काम यही क्षेत्रमा गरे, जसले गर्दा एमालेको संगठन नै बलियो भयो ।’

यो क्षेत्रमा कांग्रेस कमजोर हुनुको कारण बताउँदै शर्मा भन्छन्, ‘हामी शिक्षकलाई पार्टीको झोला बोकाउन हुँदैन भन्नेमा गयौं, उनीहरुले एक–एक शिक्षकलाई राजनीतिमा ल्याएर कांग्रेसभन्दा बलियो भए ।’ जे होस्, २०५१ यता ओलीले एकपछि अर्को चुनावमा फरक प्रतिस्पर्धीलाई हराउँदै आए ।
०५१ मा निर्वाचन क्षेत्र नं. ५ मा ओलीसँग प्रतिस्पर्धा गरेका केशवकुमार बुढाथोकी पराजित भएपछि क्षेत्र नम्बर २ मा सरे । उनी क्षेत्र नम्बर २ मै पर्ने शनिश्चरेका बासिन्दा हुन् ।
०५६ को चुनावमा ओली झापा २ र ५ बाट उठेका थिए । एमालेबाट फुटेर बनेको मालेका महासचिव सीपी मैनालीलाई हराउन भन्दै उनी २ मा गएका थिए । हराए पनि । त्यसयता मैनालीले झापा २ मा प्रत्यक्ष चुनाव लडेका छैनन् । निर्वाचन क्षेत्र नम्बर ५ मा हारेका काशीराज ताजपुरियाले पछि आत्महत्या गरे ।
दुबै क्षेत्रमा जितेका ओलीले एक क्षेत्र रोज्नुपर्ने भएपछि क्षेत्र नम्बर २ रोजेर ५ छोडे । निर्वाचन क्षेत्र नम्बर ५ मा भएको उपचुनावमा कांग्रेसका डा. गोपाल कोइराला विजयी भए ।
तर ०६४ को संविधानसभा निर्वाचनमा ओली फेरि क्षेत्र नम्बर ५ बाट उठेर नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भए । अहिले नेपाली कांग्रेसमा रहेका लिङ्देन त्यसबेला आफूले केपी ओलीको रुपमा दक्षिणपन्थी शक्तिलाई हराएको बताउँछन् ।

त्यसबेला जनताले परिवर्तन चाहेको र दलहरुबीचमा फलानो–फलानोलाई चाहिँ जिताउनै पर्छ है भन्ने अघोषित सम्झौता पनि नभएकाले ओलीलाई हराउन सकेको उनले बताए ।
‘त्यसपछि चाहिँ दलहरु गोप्य सम्झौतामा पनि चले’, यसपालि कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि झापा ५ बाट उम्मेदवार सिफरिस भएका लिङ्देन भन्छन्, ‘यसपालि त्यस्तो हुने वाला छैन । दुई–दुई पटक संसद विघटन गर्ने ओलीलाई फेरि संसद पठाउनेमा जनता छैनन् ।’
ओलीले ०७० सालको प्रतिनिधिसभा चुनावमा झापा ५ मा माओवादीका गोपाल किराती, कांग्रेसका सुरेश सुब्बा लगायतलाई हराए । त्यसबेला संघीय समाजवादी पार्टीबाट उम्मेदवार रहेका दिपेनवाला राई चुनावी गणितमा ओलीले महारथ हासिल गरेको टिप्पणी गर्छन् । ०७४ को चुनावमा एमाले–माओवादी गठबन्धन भयो, ओली झापा ५ बाटै साझा उम्मेदवार बने । उनीसँग कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी पराजित भए ।
यसपालि कांग्रेसको क्षेत्रीय समितिले अधिकारीलाई पनि उम्मेदवारमा सिफारिस गरेको छ । पार्टीले टिकट दियो भने उनी ओलीसँग दोस्रोपटक चुनाव लड्ने पहिलो उम्मेदवार हुनेछन् । तर गठबन्धनमा झापा ५ कसको भागमा पर्छ भन्ने यकिन भइसकेको छैन । कांग्रेसकै भागमा पर्यो भने पनि अधिकारी पाँच जनाबाट छानिनुपर्छ । ओली चाहिँ सातौंपटक यही क्षेत्रबाट उम्मेदवार बन्ने पक्का छ ।
प्रतिक्रिया 4