+
+

आमाहरुका जीवनकथा समेटिएको पुस्तक ‘छोरीले जन्माएका आमाहरु’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १८:३५

काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने १२ जना छोरीले लेखेको आफ्ना आमाहरुको जीवनकथा ‘छोरीले जन्माएका आमाहरु’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकले सात जना जीवित र पाँच जना दिवंगत आमाहरूको जीवनकथा भनेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित पुस्तक सार्वजनिक समारोहमा उपस्थित र पुस्तकका पात्र समेत रहेका तीनजना आमाहरू निर्मला आचार्य, लक्ष्मीदेवी राई र याममाया विश्वकर्मा पनि उपस्थित थिए ।

पुस्तकको तीन आमाका साथै सञ्चारकर्मी आरती चटौत, सन्तोष परियार र पुस्तककी संयोजक तथा लेखकमध्येकी एक मञ्जु थापाले सामूहिक रूपमा लोकार्पण गरे ।

पुस्तक लोकार्पणपछि सञ्चारकर्मी चटौतले भनिन्, ‘नाम, दाम र परिश्रमसँग महिलाको परिश्रम साटिंदैन भन्दै प्राकृतिक आमा र बनाइएका आमाबीच लाइन खिचिनुपर्छ, तर एकातिर हामी आमालाई पूजनीय स्थानमा राख्दछौं, अर्कोतिर आमाको कामको मूल्यांकन हुँदैन, आमाको नामबाट नागरिकता समेत पाइँदैन ।’

पुस्तकमाथि टिप्पणी गर्दै सामाजिक अभियन्ता एवं लेखक परियारले भने, ‘जब पितृसत्ताको पक्ष नलिई आमाको पक्षमा छोराहरू बोल्नेछन्, तब मात्र परिवर्तन आउने छ । लोकार्पित पुस्तकमा लगभग डेढ सय वर्षको कुरा अभिलेखीकृत भएको छ ।’

पुस्तकको परिकल्पनादेखि लेखन, सम्पादन एवं प्रकाशनसम्ममा करिब डेढ वर्ष लामो परिश्रम लागेको उल्लेख गर्दै संयोजक मञ्जु थापाले आफ्नो एक अनुसन्धानबाट मुलुकमा यस किसिमका पुस्तकको संख्या पाँच सयभन्दा बढी नभएको निष्कर्ष निस्केको बताइन् । ‘कुनै पनि समाजको विकास र राज्य निर्माणमा पुरुषको मात्र योगदान हुँदैन, अझ बढी भूमिका महिलाहरूको हुन्छ । हरेक महिलाका भोगाइहरू घरभित्र मात्र हुँदैनन्, त्यसकारण पनि ती सबैबारे लेखिनुपर्छ,’ उनले भनिन् ।

‘छोरीले जन्माएका आमाहरू’ पुस्तकमा इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, डा. कविता घिमिरे, कल्पना तामाङ, जानु ओझा, तनुजा पाखरेल, निर्मला राई, मीरा बस्नेत, मञ्जु थापा, डा. मोनिका आचार्य र सञ्जिता बराइली गरी १२ जनाका लेख समाविष्ट छन् । ४५० पृष्ठको पुस्तकको मूल्य ६५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?