+
+

कार्बन शताब्दी युगमा फड्को मार्दै विश्व, नेपाललाई के फरक पर्छ ?

२०औं शताब्दीलाई सिलिकन सेमिकन्डटर युगको रूपमा चिनिन्छ भने अब आउने शताब्दीलाई कार्बन शताब्दीको युगमा लैजान विश्व वैज्ञानिक जगत अघि बढिरहेको छ। नतिजा अझ सकारात्मक आए हामीले अहिले प्रयोग गरिराखेको इलेक्ट्रिक प्रविधिमा ठूलो परिवर्तन आउनेछ। 

डा. प्रशान्तध्वज अधिकारी डा. प्रशान्तध्वज अधिकारी
२०७९ असोज २० गते १४:३४

प्राकृतिक स्रोत खोज भनेको सतहमा देखिने र सतहभित्र रहेका पदार्थहरूको भूमिमा उपस्थिति अवस्था थाहा पाउनु हो। सतह बाहिर रहेका पदार्थहरू नाङ्गो आँखाबाट पनि देख्न सकिन्छ। सतहभित्र रहेको पदार्थहरूको (खनिज सम्पदाको) रहस्य हाम्रो लागि अनुसन्धानकै विषय बन्छ। खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत हो। पृथ्वीभित्र रहेका तामा, फलाम, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्यास, खरी, गेरु, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ।

संसार आज पदार्थ (म्याटरीएल्स) को उपभोगको बाटोमा छ। ब्रह्माण्ड बन्न आवश्यक सबै वस्तुहरू पदार्थ हुन्। प्राकृतिक रूपमा उत्खनन् भएका पदार्थहरूलाई मात्र उपभोग गर्दा नपुगेर अप्राकृतिक रूपमा पनि पदार्थहरूलाई प्रयोगशालामा उत्पदान गरी मानवीय जीवनलाई अझ अगाडि बढाउने बाटोमा आजको वैज्ञानिक जगत हिंडिरहेको छ।

कार्बन शताब्दी युगमा फड्को मार्दै विश्व, नेपाललाई के फरक पर्छ ?

२०औं शताब्दीलाई सिलिकन सेमिकन्डटर युगको रूपमा चिनिन्छ भने अब आउने शताब्दीलाई कार्बन शताब्दीको युगमा लैजान विश्व वैज्ञानिक जगत अघि बढिरहेको छ। तर ती अप्राकृतिक तरिकाबाट प्रयोगशालामा उत्पादित कार्बन पदार्थहरू (जस्तै, कार्बन न्यानो ट्यूब, ग्राफिन आदि) को उपयोगिताको नतिजा अझै आउन बाँकी छ। यदि नतिजा अझ सकारात्मक भए सिलिकन सेमिकन्डटरको ठाउँमा कार्बन प्रविधि भित्रिनेछ।

यदि यस्तो भए हामीले अहिले प्रयोग गरिराखेको इलेक्ट्रिक प्रविधिमा ठूलो परिवर्तन आउनेछ। आज विश्वमा रहेका देशहरू कि स्रोतको परिचालनबाट धनी भएका छन् कि प्रविधिको विकास गरी त्यसलाई उद्योगमा रूपान्तरण गरी। अति स्रोत हुँदाहुँदै पनि सदुपयोग गर्न नसकी द्वन्द्वमा फसेका वा फसाइएका राष्ट्रबाट प्रविधियुक्त राष्ट्रहरूले स्रोतलाई कौडीको भाउमा उपभोग पनि गरिराखेका छन्।

आजको युगमा कसरी भएको स्रोतलाई पहिचान गरी अधिकतम प्रयोग गर्ने भन्ने सोचबाट विश्व समुदाय अघि बढिरहेको छ। नेपाल र हामी नेपाली स्रोत हुँदाहुँदै पनि सदुपयोग गर्न नसकी विकासमा धेरै नै पछि परिसकेको छौं। आजको संसारमा विकासको गति यति तीव्र छ कि कुनै अलमलमा परी समय खेर फाले, ती अलमलमा पर्ने देश पछि त परिहाल्छन्। त्यो बाहेक भविष्यमा यी मुलुक तीव्र गतिमा हिंडेका मुलुकका लागि चाहिने जनशक्ति पठाउने राष्ट्रको रूपमा चिनिंदै जानेछन्। यसको उदाहरण लिन लगभग हामी सँगसँगै राजनीतिक परिवर्तन गरेको देश कोरियालाई लिन सकिन्छ। उनीहरूको हाल वार्षिक आय ३० हजार डलर माथि छ, हाम्रो केवल १२०० डलर मुनि।

दुःखको साथ भन्नु पर्दा विकसित राष्ट्रको एक मझौला परिवारले एक वर्षमा ट्वाइलेटजन्य  सामग्री र पेपरमा मात्र खर्च गर्ने रकम हाम्रोमा सामान्य परिवारले कमाउन पूरा वर्ष दिन कुर्नुपर्छ। अनि हामी कसरी आफूलाई विश्व मञ्चमा सम्मानित तरिकाबाट उठाइरहन सक्छौं।

पदार्थीय (स्रोत- खनिज पदार्थ र अन्य पदार्थ) हिसाबले नेपाल धनी राष्ट्रमै पर्दछ। नेपालको संविधान– २०७२ अनुसार अब यस्ता खनिज पदार्थहरू प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र आउने भएकाले स्थानीय सरकारहरूले पनि उचित नीति अवलम्बन गर्नैपर्छ। पछिल्लो समय सरकारले खनिजको उत्खनन् र प्रशोधनका लागि नयाँ योजना अघि सारे पनि कार्यान्वयन भइसकेको छैन। नेपालमा खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि वि.सं. २०२४ मा भौगर्भिक विभागको स्थापना गरिएको थियो। यसले नेपालमा पाइने खनिजहरूबारे संक्षिप्तमा जानकारी बाहिर ल्याएको छ।

फलामलाई नेपालमा सबैभन्दा बढी मात्रामा पाइने खनिज पदार्थ मानिन्छ। जुन कृषि, पूर्वाधार विकास र आविष्कारका क्षेत्रमा बढी खपत समेत हुने गरे पनि प्रतिफल हाम्रोमा राम्रो अझै छैन। त्यसैगरी चुनढुङ्गा नेपालमा पाइने वस्तुहरूमध्ये तुलनात्मक बढी सर्वसुलभ रूपमा पाइन्छ र हाल हामीले सिमेन्ट उद्योगमा उपयोग गरिराखेका पनि छौं। पेट्रोलियम पदार्थ पनि नेपालमा पाइने विभिन्न अध्ययनले देखाएको छ। यसका लागि सरकारले आवश्यक अन्वेषणको प्रक्रिया अगाडि बढाएको छ। त्यसमध्ये दैलेखमा सरकार सफलताको नजिकै पुगिसकेको अनुमान गरिएको छ। यी बाहेक नेपालको तराईको भूभाग, मुस्ताङ क्षेत्र र काठमाडौं उपत्यकामा ग्याँस पाइने अनुमान पनि गरिएको छ।

नेपालका विभिन्न क्षेत्रमा पाइने हल्ला गरिएको युरेनियम उत्खनन् गरेर बिक्री वा प्रशोधन गर्न सकिन्छ कि सकिंदैन त्यो भोलिका दिनमा अनुसन्धानले देखाउला। आणविक अस्त्र र ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनियमलाई “रणनीतिक खनिज” मानिन्छ। उक्त रेडिओधर्मी धातुबारे धेरै जनामा जिज्ञासा उत्पन्न हामीकोमा पनि अहिले आएर भएको छ। खानी तथा भूगर्भ विभागबाट प्राप्त जानकारी अनुसार नेपालमा पाइने खनिज उत्खननका लागि स्वदेशीदेखि विदेशी कम्पनीहरू समेत आकर्षित भइरहेका छन्।

हालसम्म ३०० भन्दा बढी कम्पनीले खनिज उत्खननको अनुमति लिएको तथ्यांक छ। उत्खनन अनुमति लिएका कम्पनीहरूले केकस्तो काम गरिरहेका छन्, त्यहाँबाट उत्पादित खनिजहरूको बिक्री–वितरण वा व्यवस्थापन कसरी गरिरहिएको छ भन्ने अनुगमन हुनुपर्दछ। नत्र यहाँका खनिज पदार्थहरूको सदुपयोगभन्दा बढी दुरूपयोग हुनसक्ने अवस्था आउन सक्छ।

यति हुँदाहुँदै पनि पदार्थीय दृष्टिकोणबाट रणनीतिक महत्व भएका र भविष्यमा हुनसक्ने पदार्थहरू जस्तै लिथियम, कोबाल्ट, निकल, जुन ऊर्जाजन्य पदार्थको लागि चाहिने भएकोले हामीकोमा यसको सम्बन्धित निकायबाट अध्ययन अनुसन्धान हुन जरुरी छ। हामीले प्रयोग गर्ने गाडी इलेक्ट्रिक युगमा जाँदै छ। त्यो बेलामा ब्याट्रीको लागि यी पदार्थ आवश्यक पर्ने भएकोले आजको दिनमा यिनीहरूको माग उच्च छ।

हिजो स-साना मोबाइलमा खपत हुने ब्याट्रीमा प्रयोग गर्दा त ती धातुहरूको माग उच्च थियो भने गाडीको इलेक्ट्रिक युगमा रूपान्तरण हुने अवस्थामा माग के होला ? शक्तिराष्ट्रहरूले उक्त ऊर्जाशील पदार्थ चन्द्रमाको सतहमा पनि रहेको अनुमान गरिरहेका छन्। त्यहाँबाट पृथ्वीमा झार्नको लागि स्पेश इलिभेटरको विकासमा विश्व वैज्ञानिक जगत गइसकेका छन्।

कुनै एक क्षेत्रमा पाइने खनिजको राष्ट्रव्यापी र विश्वव्यापी महत्व र उपभोग हुनसक्ने भएकाले संघीय सरकारले राष्ट्रिय खनिज उपयोग नीति बनाएर सोही अनुसार प्रादेशिक सरकारहरूले व्यवस्थापनको नीति लिई वातावरणीय समस्या पहिचान गर्न सक्नुपर्छ

रुस-युक्रेन युद्ध सुरु भएपछि विश्वभरि खनिज तेल र ग्याँस विवादको विषय बनेका छन्। तर भविष्यमा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा निकल तथा लिथियम जस्ता खनिजका लागि पनि हुनसक्ने देखिन्छ। किनकि रुस-युक्रेन युद्ध सुरु भएपछि निकलजन्य धातुको मूल्य यसरी आकाशियो कि लन्डन मेटल एक्सचेन्जमा त्रास उत्पन्न गराइसकेको छ।

खनिज सम्पदाको महत्व कति छ भन्ने कुरा युक्रेनमाथिको आक्रमण रोक्न अमेरिका र उसका सहयोगी देशहरूले क्रेमलिनमाथि कडा प्रतिबन्ध लगाए पनि युरोप रुससँग तेल र ग्याँस किन्न बाध्य छ।

नेपालमा पानी पनि रणनीतिक महत्वको पदार्थ थियो र अझ हुने दिन आउँदैछ। हिजोको दिनमा पानी पिउन, सिंचाइ गर्न, सरसफाइ र ऊर्जाको निम्ति मात्र प्रयोगमा थियो भने अब इन्धनको रूपमा प्रयोग हुने दिन त्यति टाढा छ जस्तो लाग्दैन। प्रविधिले पानीमा रहेको हाइड्रोजनलाई आइसोटप हाइड्रोजनमा रूपान्तरण गरी हाम्रै नदीको पानीले गाडी कुद्ने दिन आउँदा हाम्रो पानीको स्रोतको उपयोग अझ बढ्नेछ। किनकि, समुद्रको पानीमा हेभी मेटल तथा अरु वस्तुहरूको मिश्रण हुने भएकोले यी प्रविधिमा हामीले चाहे अनुसार प्रयोग गर्न सकिन्न।

हुन त हामीले हाम्रो पानीलाई पिउन, सिंचाइ गर्न र ऊर्जाको निम्ति त राम्रोसँग उपयोग गर्न सकेका छैनौं।

अर्कोतिर डाँडा-पहाडमा हुर्केको हामी यिनै डाँडा नै विकासको बाधक हो कि जस्तो लाग्थ्यो। तर यिनै डाँडा-पहाडले नै भविष्यमा हामीलाई धनी बनाउनेछ। अबको विकास निर्माणमा नदीजन्य पदार्थले मात्र निर्माण सामग्रीको माग थेग्न सक्दैन। यसको लागि फुटाउने डाँडा नै हो। अझ वातावरणीय असन्तुलनले गर्दा हिमालको हिउँ पग्लने र समुद्रको सतह बढ्ने क्रम जारी छ। यसले गर्दा समुद्रीय इलाकामा नयाँ विकास निर्माण गर्दा जमिनको लेभल भन्दा माथि उकासी निर्माण गर्न थालिसकिएको छ। केही दशकपछि विश्वका केही प्रमुख सरहको अस्तित्व नै संकटमा पर्नेवाला छ।

ठाउँ हुनेले नयाँ ठाउँमा शहर बसाल्न सक्लान्, तर यो पनि ठूलो खर्चिलो हुन जान्छ। ठाउँ नहुनेले समुद्री तटबन्द बनाउन वा कृत्रिम टापू बनाउनुपर्नेछ। यसको लागि चाहियो ढुंगा, माटो। हाम्रै छिमेकी मुलुक भारतलाई पनि विकास निर्माणको लागि यस्ता सामग्रीको अत्यधिक माग छ। मैले विदेशमा लामो समय विभिन्न मुलुकको उपनिवेश भएको एक राष्ट्र घुम्ने मौका पाउँदा, संग्रहालय घुमेको थिएँ। जुन पहाडमा थियो र सुनखानीसँग सम्बन्धित थियो।

पहाडलाई सुरुङ वा छिया-छिया बनाई त्यो राष्ट्रको दोहन गरेको देख्दा लाग्यो- हामी नेपाली धेरै नै भाग्यमानी रहेछौं। जे भए पनि हाम्रो पुर्खाले यो जमिन कसैको अधीनमा हुन दिएनन्। यो हिसाबले हाम्रो देश भर्जिन ल्याण्डको रूपमा अझै छ। यी ठूला-ठूला पहाडमा के ढुंगामाटो मात्र होला र ? हामी उत्खननको चरणमा जानै नसकेर मात्र हो। ढुंगामाटो मात्रै भए पनि हाम्रा यी पहाडहरू भविष्यमा अरबौं डलरको पहाड हुनेछन्।

हुनत हामीले सतहमा भएको स्रोत त राम्रोसँग उपयोग गर्न सकेका छैनौं भने सतहभित्रको के कुरा गर्ने। जे भए पनि हामीसँग स्रोत अत्यधिक भएकोले र हामी रणनीतिक महत्वको ठाउँमा अवस्थित भएकोले एक पुस्ताले अझै पनि पन्ध्र-बीस वर्ष इमानदारीका साथ थिति बसाली कडा मिहिनेत गरे। अर्को पुस्ताले यहाँ सुखसँग जीवन बिताउने छन्।

तर थिति बसाल्न र व्यवस्थापन गर्न हामीले सकेनौं भने हामी पनि लामो द्वन्द्वमा फस्न सक्छौं। किनकि रणनीतिक महत्वको ठाउँ वा पदार्थको स्वार्थले गर्दा भविष्यमा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा हाम्रोमा पनि हुनसक्छ। हामीले युक्रेनमा भएको लडाईं देखिरहेका छौं। ताइवानलाई लिएर अमेरिका र चीनको टकराव पनि देखिरहेका छौं। ताइवानलाई यी दुवै शक्तिले किन महत्व दिन्छन् त ? किनकि, आजको दिनसम्म आइपुग्दा विश्व जगतलाई चाहिने सिलिकन सेमिकन्डटर जन्य सामग्री जस्तै चिप्सहरूको आधा जस्तो हिस्सा ताइवानले लिंदै आएको छ। त्यसैले गर्दा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धाको स्वार्थ यहाँ पनि लुकेको छ।

अन्त्यमा, कुनै एक क्षेत्रमा पाइने खनिजको राष्ट्रव्यापी र विश्वव्यापी महत्व र उपभोग हुनसक्ने भएकाले संघीय सरकारले राष्ट्रिय खनिज उपयोग नीति बनाएर सोही अनुसार प्रादेशिक सरकारहरूले व्यवस्थापनको नीति लिई वातावरणीय समस्या पहिचान गर्न सक्नुपर्छ। हैन भने भोलि गएर समस्या उत्पन्न हुनसक्छ। हामीकोमा खानी उत्खननमा विगतदेखि नै सरकारी निकायहरूबीचमै समन्वयको अभाव छ। यो समस्या अब प्रादेशिक तथा स्थानीय तहसम्म विस्तार नहोस्। जसले गर्दा स्थानीय सरकारहरूको आय विस्तारमा पनि उपलब्ध खनिजले स्रोतका काम गर्न सकोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?