
१७ कात्तिक, काठमाडौं । विश्वमा वैकल्पिक ऊर्जाको रुपमा विकास भइरहेको हाइड्रोजन नेपालमा पनि उत्पादन गर्ने प्रतिबद्धता प्रमुख राजनीतिक दलहरुले गरेका छन् ।
४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसै साता सार्वजनिक भएका दलका प्रतिबद्धता तथा घोषणा पत्रमा हाइड्रोजन उत्पादन, नेपालमै हाइड्रोजन प्लानट स्थापना जस्ता विषय समेटिएका छन् ।
नेकपा एमालेले आफ्नो घोषणापत्रमा हाइड्रोजन लागायत सबै प्रकारका ऊर्जाको समिश्रण र ऊर्जा बैंकका माध्यामबाट ऊर्जा सुरक्षाको प्रत्याभूति गरिने उल्लेख छ ।
यस्तै नेपाली कांग्रेसले जलस्रोतको बहुआयामिक उपयोग गर्दै ग्रीन हाइड्रोजन तथा ग्रीन एमोनियाको उत्पादन तथा बिक्री गर्ने घोषणा गरेको छ । नेपालले आर्थिक उपार्जनका लागि यो ऊर्जा प्रयोग गर्ने कांग्रेसको घोषणा पत्रमा भनिएको छ ।
नेकपा माओवादी केन्द्रले अन्य दलहरुले भन्दा एक कदम अघि बढेर नेपालमा आगामी ५ वर्षमा हाइड्रोजन उत्पादन प्लान्ट नै स्थापना गर्ने घोषणा गरेको छ । ‘विश्वमा बढ्दो ऊर्जा सङ्कटलाई मध्यनजर गर्दै आवश्यक नीति र संस्थागत संरचना विकास गरी सरकारले ५ वर्षभित्र हाइड्रोजन प्लान्ट स्थापना गर्ने छ’ माओवादीले आफ्नो घोषणापत्रमा भनेको छ ।
गत २३ र २४ असोजमा हाइड्रोजन ऊर्जा उत्पादनबारे नेपालमा पहिलो पटक सम्मेलन भएको थियो । एनआरएनएका पूर्वअध्यक्ष एवम् एमआईटी फाउन्डेसनका अध्यक्ष शेष घलेको पहलमा भएको सम्मेलनले हरित हाइड्रोजन अर्थतन्त्र निर्माण गर्ने गरी रोडम्याप बनाउन सरकारलाई आग्रह गरेको थियो । घलेले हाइड्रोजन उत्पादन जलवायु र जीवन रक्षा, ऊर्जा सुरक्षा र रोजगारी सृजना गर्न नेपालका लागि आवश्यक र सम्भव रहेको दाबी गरेका थिए । एक अध्ययनलाई उदृत गर्दै घलेले विश्वमै नेपालको हाइड्रोजन उत्पादन लागत सस्तो मध्येमै पर्ने भएको भन्दै यसलाई सम्भव बनाउन सार्वजनिक निजीदेखि विदेशी लगानी मात्र होइन सामाजिक हितका विभिन्न कोषहरु पनि परिचालन गर्न सक्नुपर्ने बताएका थिए ।
विज्ञ तथा सरोकारवालाहरुका अनुसार जलश्रोत र अन्य सम्भाव्यताका आधारमा नेपाल हरित हाइड्रोजन हब बन्न सक्ने भन्दै यसको उत्पादन र निर्यातबाट मुलुकले ठूलो आर्थिक र सामरिक लाभ लिन सक्ने औल्याएका थिए ।
प्रतिक्रिया 4