+
+
ललितपुर-२ :

उम्मेदवारसँग योजनाका चाङ, मतदातालाई छैन भरोसा

सागर चन्द सागर चन्द
२०७९ कात्तिक २२ गते १०:४८

२२ कात्तिक, ललितपुर । चक्रपथलाई शहरको सिमाना मान्दा शहरभित्र र बाहिर दुवैतिर पर्छ ललितपुर क्षेत्र नम्बर–२ । पाटन दरबारस्क्वायरदेखि लाँकुरीभञ्ज्याङसम्म फैलिएको यस क्षेत्रका समस्या पनि चक्रपथले दुई खण्डमा बाँडेको छ ।

चक्रपथभित्रको समस्यामा खानेपानी, ट्राफिक व्यवस्थापन, पुरातात्विक सम्पदा संरक्षणका विषय छन् भने चक्रपथ बाहिर सडकलगायतका पूर्वाधार । खानेपानीको समस्या भने निर्वाचन क्षेत्रभरिको साझा समस्या हो । ललितपुर–२ मा महालक्ष्मी नगरपालिकाको १० वटा वडा र ललितपुर महानगरपालिकाका वडा नं ६, ७, ८, ९, ११, १२, १६, १७, १९ पर्छन् ।

महालक्ष्मी नगरपालिका लामाटारका बासिन्दा तपेन्द्र रिजाल शहरसँगको सहज पहुँच नहुनु आफ्नो क्षेत्रको समस्या भएको बताउँछन् । सडक फराकिलो नभएको, सार्वजनिक सवारी साधन नियमित नभएको जस्ता समस्या रहेको उनको भनाइ छ । ‘साँघुरो रोड छ, शहर (पाटन, लगनखेल) आउजाउ गर्न सजिलो छैन, सार्वजनिक सवारी पर्याप्त छैनन्’, रिजाल भन्छन् । शहरसँगको पहुँच सहज बनाउने योजना अघि सार्ने उम्मेदवार आफ्नो रोजाइमा पर्ने उनले सुनाए ।

शहरी क्षेत्रमा भने सवारी साधनको चाप बढी भएको, साँघुरा गल्लीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको र पुरातात्विक सम्पदाको संरक्षण नभएको गुनासो लिएर बसेका छन् मतदाता ।

पाटन दरबार स्क्वायर क्षेत्रमा भेटिएका रञ्जन शिल्पकार गुनासो गर्छन्, ‘पुरातात्विक र ऐतिहासिक क्षेत्रमा गाडी चल्न दिइएको छ । साँघुरा गल्लीमा पार्किङको समस्या छ । खानेपानीको पनि उस्तै समस्या छ, हाम्रा जात्रा, पर्व र सम्पदा मासिंदैछन् ।’

ललितपुर–२ बाट पार्टीका र स्वतन्त्र गरेर २३ जना उम्मेदवार छन् । तीमध्ये एमालेका प्रेमबहादुर महर्जन र सत्ता गठबन्धनको समर्थन पाएका एकीकृत समाजवादीका कृष्णलाल महर्जन मुख्य प्रतिस्पर्धी मानिएका छन् । स्वतन्त्र उम्मेदवारहरू भने दल र दलबाट चुनिएका नेताले काम गर्न नसकेको भन्दै मत मागिरहेका छन् ।

२०७४ को चुनावमा २८ हजार मत ल्याएर चुनाव जितेका थिए तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णलाल महर्जनले । पाँच वर्ष संसदमा पुगेर पनि पार्टीका कारण जनचाहना अनुसार काम गर्न नसकिएको बताउँदै उनी मतदाताकहाँ पुगिरहेका छन् । आफ्नै सरकार हुँदा पनि विकास निर्माणका लागि बजेट पार्न नसकिएको गुनासो पोख्छन् कृष्णलाल ।

उनले मतदातालाई भनिरहेका छन्, ‘अघिल्लो पटक पार्टीले सहयोग गरेन । त्यसैले लाँकुरीभञ्ज्याङलाई पर्यटकीय स्थल बनाउन सकिएन । गोदावरी, कर्मनासा खोलामा करिडोर खोल्ने योजना पूरा भएन ।’ पार्टी फुटेपछि हाल एकीकृत समाजवादीमा रहेका कृष्णलाल अघिल्लो चुनावमा गरेका वाचा पूरा गर्ने वचन दोहोर्‍याइरहेका छन् ।

नेकपा एमालेका प्रेम महर्जन भने स्वार्थको भरमा बनेको सत्ता गठबन्धनले जनता झुक्याएको बताउँदै मत मागिरहेका छन् । काँठ क्षेत्रमा यातायातको सहज पहुँच र शहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनदेखि पुरातात्विक सम्पदा जोगाउनेसम्मका योजना मतदातालाई सुनाइरहेका छन् उनी ।

महालक्ष्मी नगरपालिका क्षेत्रले भोगिरहेको खानेपानीको समस्या सम्बोधन गर्ने वाचा गरिरहेका छन् प्रेम महर्जन । उनी भनिरहेका छन्, ‘खानेपानी र यातायात यस क्षेत्रका मुख्य समस्या हुन् । यिनको समाधान गर्छु मैले । पुरातात्विक सम्पदा, ऐतिहासिक स्थललाई व्यवस्थित बनाउने काम पनि हुन्छ ।’

करिब ८२ हजार मतदाता छन् यो क्षेत्रमा । ललितपुर–२ को सबैभन्दा धेरै भूभाग ओगट्ने महालक्ष्मी नगरपालिकामा करिब ३४ प्रतिशत जनसंख्या नेवार समुदायको छ । त्यसैले पनि उम्मेदवारहरू नेवारी सभ्यता, सम्पदा र संस्कृति जगेर्नालाई प्राथमिकतामा राखिरहेका छन् ।

दल र तिनका उम्मेदवारको वितृष्णालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन स्वतन्त्र उम्मेदवार । सत्ता गठबन्धनका उम्मेदवार कृष्णलाल कांग्रेस र माओवादीका स्थानीय नेता कार्यकर्तालाई फकाइरहेका छन् । एमालेका प्रेम पार्टी संगठनको मत जोगाउँदै सत्तारुढ गठबन्धनमा रहेको असन्तुष्ट पक्षको मत आफ्नो पक्षमा पार्ने प्रयासमा छन् ।

ग्वार्कोमा किराना पसल चलाइरहेकी सानुमायालाई उम्मेदवारले गर्ने चुनावी वाचाप्रति विश्वास छैन । ‘पहिला पनि पानी ल्याउँछु, घरघरमा बिजुली फ्रि दिन्छु भन्थे’ उनी भन्छिन्, ‘अहिले पनि यस्तै भन्छन् । यिनका कुरा त म पत्याउँदिन ।’

तैपनि उम्मेदवार भने योजनाका चाङ लिएर मतदातालाई भेटिरहेका छन् । एमालेका प्रेम महर्जन युवालाई हस्तकला र मूर्तिकलाको सीप सिकाएर स्वरोजगार बनाउने योजना सुनाइरहेका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जन सिद्धपुर, लुभुमा टेक्सटाइल हब बनाउने, ग्वार्को, लुभु, लामाटार हुँदै पनौती जोड्ने सडक बनाउने योजना सुनाइरहेका छन् ।

एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवार मतदातालाई फकाउन स्थानीय एजेण्डासहित सैद्धान्तिक विषय पनि पेश गरिरहेका छन् । कृष्णलाल महर्जन भन्छन्, ‘जनतालाई हामीले एमालेमा गरेको विद्रोहको औचित्य बुझाउनु छ ।’ त्यसैगरी एमालेका प्रेम महर्जन भने आफ्नो पार्टीको सरकार हटाएको र पार्टी फुटाएको भन्दै मतदातासामु गठबन्धनको विरोध गरिरहेका छन् ।

स्थानीय चुनावको गणित

२०७९ वैशाखमा भएको स्थानीय तहको चुनावमा महालक्ष्मी नगरपालिकामा एमाले र ललितपुर महानगरमा कांग्रेसको बलियो पकड देखिन्छ । कांग्रेसका चिरीबाबु महर्जन करिब ४३ हजार मतसहित ललितपुर महानगरको मेयर पदमा निर्वाचित भए ।

एमालेका हरिगोविन्द श्रेष्ठ करिब साढे ९ हजार मतसहित महालक्ष्मी नगरपालिकाको मेयर पदमा निर्वाचित भए । महालक्ष्मी नगरपालिका पूरै र ललितपुर महानगरका ९ वटा वडा पर्ने ललितपुर–२ को प्रतिस्पर्धामा दुवै उम्मेदवार सराबरी देखिन्छन् । स्थानीय चुनावमा कमजोर देखिएको एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार भएका कृष्णलाल महर्जन यसपटक स्थानीय चुनावका कमजोरी सच्याउने तयारीमा छन् ।

एमालेका प्रेम भने महालक्ष्मी नगरपालिकाबाट आफूलाई भोट आउनेमा ढुक्क देखिएका छन् । उनी ललितपुरका ९ वडामा बढी केन्द्रित छन् । महानगरको वडा नम्बर ६, ७, ८, ९, ११, १६ कांग्रेस, १२, १७ र १९ मा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।

वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा कांग्रेस सबभन्दा ठूलो दल हो । उसले १९ हजार ८८२ मत पाएको छ । एमालेले १५ हजार ७१० मत पाउँदा माओवादी केन्द्रले ५ हजार २३, राप्रपाले ३ हजार ४९५ र एकीकृत समाजवादीले ३ हजार १९२ मत पाएको छ ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?