+
+

मैले चुनाव जित्ने निश्चित छ : जीवनराम श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १८:५०

२२ कात्तिक, काठमाडौं । काठमाडौं–८ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ उम्मेदवार छन् । गत स्थानीय तहको चुनावमा पाएको मत हेर्दा यो क्षेत्रमा श्रेष्ठको पार्टी तेस्रो स्थानमा छ ।

पहिलो भएको कांग्रेस र सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र समेतको समर्थनमा चुनाव लड्दै गरेका श्रेष्ठको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार शिवसुन्दर वैद्यसँग हुने देखिन्छ । यद्यपि यस क्षेत्रमा हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीलाई पनि बलियो प्रतिस्पर्धी मानिएको छ ।

०७४ मा एमालेबाट स्वयं राजवैद्य समेतको पहलमा चुनाव जितेका श्रेष्ठ यसपटक एमाले फुटाएर बनेको नेकपा एकीकृत समाजवादीका सचिव छन् । श्रेष्ठ यस पटक पनि चुनाव जित्ने दृढता व्यक्त गर्छन् । भन्छन्, ‘घरदैलो गर्दा जुन खालको अनुभूति भएको छ । म पहिलो हुने सुनिश्चित छ । दोस्रो हुनेको बीचमा राम्रै मतान्तर रहन्छ ।’ उनै श्रेष्ठसँग गरिएको छोटो कुराकानी :

अघिल्लो पटक निर्वाचित भएको क्षेत्रमा दोहोरिएर उम्मेदवार हुनुहुन्छ । मतदाताका आकांक्षा र प्रतिक्रियामा के कस्तो फरकपन पाउनुभएको छ ?

स्थानीय समस्याहरुका सम्बन्धमा एक खालको समानता छ । तैपनि, ०७४ सालको निर्वाचनको बेलामा जुन जुन समस्याहरु देखिएको थियो ती समस्या कतिपय समाधान पनि गरेको छु । अझै पनि कतिपय बाँकी छ ।

म निर्वाचित भइसकेपछि यो क्षेत्रलाई केन्द्रित गरेर केही योजनाहरु अगाडि सारेको् थिएँ । चमती एकीकृत आयोजना जुन असफल भएर रहेको थियो । चुनाव जितेँ भने पूरा गर्ने प्रतिवद्धता जनाएको थिएँ । यो करिब करिब पूरा भएको अवस्था छ ।

यो क्षेत्र जात्रा, पर्व, मूर्त–अमूर्त सम्पदाहरुको केन्द्र छ । यसलाई संरक्षण गर्ने, सम्वद्र्धन गर्ने कुरामा अलि बढी जोड गरेर लागिरहेको छु । भूकम्पबाट क्षतिग्रस्त भएका कतिपय सम्पदाहरु अझै पुनर्निर्माणको कामहरु बाँकी छ । यसलाई पूरा गर्नैपर्ने छ ।

संस्कृति र सम्पदालाई नै केन्द्रमा राखेर यो क्षेत्रलाई एउटा नमूना बनाउने र विकास गर्ने भनिएको छ । विश्व सम्पदा सूचीमा रहेको हनुमान ढोका र स्वयम्भुलाई जोडेर वल्र्ड हेरिटेज ट्रेल बनाउने भनेर काम सुरु गरेको छु ।

स्थानीयले खानेपानी, ढल व्यवस्थापनलाई मुख्य समस्याका रुपमा लिएका छन् । यसतर्फ कत्तिको ध्यान दिनुभएको छ ?

खानेपानी समस्या आम रुपमा थियो र छ । खानेपानीको लाइन भएको ठाउँमा पानी नआउने समस्या र कहिँ लाइन र पानी दुबैको समस्या छ । जस्तै नागर्जुन नगरपालिकाको वडा नं ४ र ५ का कतिपय ठाउँहरुमा यो समस्या छ ।

यसका लागि ०७४ मा म निर्वाचित भइसकेपछि कतिपय ठाउँमा खानेपानीको ट्याङ्कीहरु बनाउने, कतिपय ठाउँमा बोरिङहरु बनाउने काम भएको छ । ठूला ठूला ट्याङ्की बनाउने काम पनि भएको छ । मेलम्चीको दोस्रो चरणको कामलाई विस्तार गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने छ ।

ढल व्यवस्थापनको समस्या छ । वर्षातमा डुबानको समस्या हुने ठाउँ पनि छ । डुबान हुने ठाउँमा ढल निर्माण गरेर त्यसलाई निकास दिने विषयमा कतिपय ठाउँमा कामहरु अगाडि बढेको छ । यसलाई पूर्णता दिनुपर्ने छ ।

विष्णुमती खोला हाम्रो जन्मदेखि मृत्युसम्मको संस्कार जोडिएको, सभ्यतासँग जोडिएको छ । यसलाई सफाइ गर्नुपर्छ भनेर आफ्नै नेतृत्वमा अभियान नै चलाएको थिएँ । कोरोना भइरसको महामारीका कारणले रोकियो । यसलाई पनि अगाडि बढाउनुपर्ने छ ।

तपाईंले सांसद भएर गरेको कामलाई मतदाताले कसरी सम्झिए ?

सांसदको रुपमा मैले कानुनहरु निर्माणमा भूमिका खेलेको छु । शिक्षा ऐन, चिकित्सा शिक्षा ऐन, खेलकुद ऐन लगायतका सबै ऐनहरुलाई जनपक्षीय बनाउनुपर्छ भनेर लागेँ । कानुन निर्माणमा मैले खेलेको भूमिकालाई मतदाताले राम्रै मान्नुभएको छ ।

तर, सांसदहरु भनेको विधायक हुन्, यिनिहरुको मुख्य काम ऐन कानुनहरु बनाउने हो भन्ने विषयमा सबै मतदाताहरु सचेत भइसकेको अवस्था छैन । धेरैको ध्यान स्थानीय समस्या र विकासमै छ । विकासका कामहरु धेरै गर्नुपर्ने भएकाले पनि यस्तो भएको होला । आधारभूत आवश्यकतालाई सबैतिर पूर्ति गर्न सकेका छैनौं । मतदाताले दैलो अगाडिको समस्यालाई महत्वपुर्ण ठानेका छन् यो स्वभाविक पनि हो । अहिले मतदाताहरुले फोहोरमैलाको विषयलाई पनि जोडले उठाउनुभएको छ ।

अघिल्लो पटक बाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्हुन्थ्यो, यसपटक वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार । ०७४ मा विपक्षमा खसेको मत पक्षमा खसाउन कत्तिको चुनौतीपूर्ण छ ?

यस क्षेत्रको विकास चाहने र केन्द्रीय राजनीतिमा पनि भूमिका खेल्न सकोस् भन्ने चाहना राख्ने कांग्रेस भित्रका कतिपय मतदाताहरुले ०७४ मा पनि मलाई मत दिनुभएको थियो । मैले चुनाव जितेँ ।

अहिले राष्ट्रिय राजनीतिमा संविधान र लोकतन्त्र जोगाउनुपर्ने पक्ष एक हुनुपर्यो र हामी एक भएका छौं । लोकतन्त्र ल्याउनका लागि हामी मिलेरै सडकमा आएका हौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आइसकेपछि हामी आ–आफ्नो लाइनबाट राजनीतिमा केन्द्रित भयौं । तर, राजनीतिक रुपमा भएको परिवर्तनसँगै जनताको जीवनस्तरलाई परिवर्तन गराउन सकेनौं । यो नेपालको राजनीतिमा समस्याको रुपमा रहेको छ ।

अहिले नयाँ परिस्थिति बनेको छ । फरक मान्यता बोकेका राजनीतिक पार्टीहरु एक ठाउँमा बसेर लोकतन्त्रको रक्षा गर्नुपर्ने भयो । जनताको समृद्धिको चाहना पूरा गर्नका लागि एक ठाउँमा बस्नुपर्ने भयो । यसकारण वाम लोकतान्त्रिक गठबन्धनलाई जनताले पनि स्वागत गर्नुभएको छ ।

गत स्थानीय तहको चुनावमा जनताले तपाईंको पार्टीलाई तेस्रो स्थान दिलाइदिए । पहिलो भएको कांग्रेसको साथ लिएर दोस्रो भएको एमाले उम्मेदवारसँग लड्दै हुनुहुन्छ । कत्तिको चुनौती छ ?

पाँच दिन भयो घरदैलो सुरु भएको । गठबन्धनका रहेका दलहरु एउटै पार्टी जस्तो भएर हार्दिकतापूर्वक प्रचारमा हिँडिरहेका छौं । फरक–फरक पार्टीका मान्छेहरु आएका छन् भन्ने मतदाताले महसुस गर्नुपरेको छैन । मतदाताको राम्रो रेस्पोन्स पाएका छौं । सबै हिसाबले हेर्दा मेरो क्षेत्रमा गठबन्धनको मात्रै उपस्थिति छ अरु कसैको उपस्थिति नै भइराखेको छैन ।

स्वतन्त्र उम्मेदवार र नयाँ पार्टीका उम्मेदवारबारे तपाईंको धारणा के छ ?

सबैले एउटा एउटा पार्टी समाएकै छन् । यसो भएको हुनाले दलीय उम्मेदवारका बीचमा मात्रै प्रतिस्पर्धा हुन्छ । गठबन्धनको उम्मेदवारसँग प्रतिस्पर्धामा आउने अर्को उम्मेदवार देखेको छैन ।

कति मतान्तरले जित्नुहुन्छ त ?

घरदैलो गर्दा जुन खालको अनुभूति भएको छ । म पहिलो हुने सुनिश्चित छ । दोस्रो हुनेको बीचमा राम्रै मतान्तर रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?