
२४ कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।
बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आवद्ध नेताहरुको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो ।
कांग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सहसंयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताए । ‘नियमित छलफल गर्ने र समस्या निराकरण गर्ने र अगाडि बढ्ने प्रतिवद्धता भयो । हाम्रा साथीहरु टोल, वडादेखि राष्ट्रिय स्तरसम्म सबै साथीहरुलाई क्रियाशील गराउने, सबै साथीहरुलाई चुनाव परिचालनमा जुटाउने र अगाडि बढाउनुपर्ने भन्नेमा हामीले सन्देश दिएका छौं’ उनले भने ।
नेकपा माओवादी केन्द्रका नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझैपनि बागी उम्मेदवारहरु रहेकाले बागी फिर्ता गराउने विषयमा छलफल भएको बताए । त्यस्तै गठबन्धनका नेता, कार्यकर्ताहरु नै चुनावमा सक्रिय नभएको भन्दै उनले त्यस्ता समस्या समाधानका लागि गठबन्धनमा छलफल अघि बढेको पनि उनको भनाइ छ ।
‘सबैतिर के–कस्तो छ भनेर समस्याहरुको बारेमा आज छलफल भए । कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नेतृत्वसँग पनि कुरा गर्ने र अधिकतम परिचालन गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्यो’ उनले भने ।
बैठकमा नेपाली कांग्रेसको तर्फबाट नेताहरु अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्य, नेकपा माओवादी केन्द्रबाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटा सहभागी थिए । नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी पनि बैठकमा सहभागी थिए ।
प्रतिक्रिया 4