+
+
उम्मेदवार प्रोफाइल :

पम्फा भुसाल : जोगाउलिन् उपत्यकामा माओवादीको साख ?

दिपेश शाही दिपेश शाही
२०७९ कात्तिक २५ गते १२:२२

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनताकाको माहोल नै बेग्लै थियो, जसमा नेपाली राजनीतिका बडेबडे खेलाडीलाई सोत्तर पारेर तत्कालीन नेकपा (माओवादी) सबैभन्दा ठूलो दल बन्यो । अहिले भने हारबाट जोगिन त्यही माओवादीका उही अध्यक्ष सुरक्षित निर्वाचन क्षेत्र खोज्दै हिंडेका छन् । अझ शहरी क्षेत्रहरूमा माओवादीप्रतिको सद्भाव ध्वस्तै भएको छ ।

२०६४ सालमा काठमाडौं उपत्यकाका १५ मध्ये ७ निर्वाचन क्षेत्रमा माओवादी विजयी भएको थियो । ललितपुरका त तीनवटै सीट माओवादीले जित्यो । त्यसको ६ वर्षपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं उपत्यकामा माओवादी पार्टी ‘सफाया’मै पर्‍यो । २०७४ को संसदीय चुनावमा भने ललितपुर–३ मा पम्फा भुसालले माओवादीको बीउ जोगाइन् ।

२०७४ को स्थानीय तह चुनावमा उपत्यकामा जम्मा एउटा– ललितपुरकै कोन्ज्योसम गाउँपालिका जितेको माओवादीले गत वैशाखमा भएको दोस्रो स्थानीय निर्वाचनमा त्यो पनि गुमायो । र पनि, उपत्यकामा माओवादीको आशा बाँकी नै छ । त्यसको केन्द्रमा छिन् उनै पम्फा भुसाल । यो यसकारण पनि कि २०६४ सालमा ललितपुर–३ मा माओवादीको झण्डा उठाउने भुसाल नै थिइन् ।

बीचमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मत बझाएर अर्का नेता मोहन वैद्य ‘किरण’को समूहमा लागेकी उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन बिथोल्ने लाइनमा थिइन् । त्यो निर्वाचनमा मतपेटिका फोर्न नसकेपछि मूल घर फर्किएकी उनी २०७४ को आम निर्वाचनमा ललितपुर–३ बाटै उठेर विजयी भइन् ।

अहिले उनी नेकपा (माओवादी) बाट माओवादी केन्द्र भएको पार्टीको उपमहासचिव पनि हुन् । कमजोर बन्दै गएको संगठन, पार्टीप्रति बढ्दो विकर्षण र स्वतन्त्रहरूको मौलाउँदो लहरबीचमा विजयको ‘ह्याट्रिक’ गर्न कस्सिएकी नेतृ भुसाल ललितपुर–३ का जनतासँग निरन्तरको सम्पर्क–सम्बन्ध नै आफ्नो मूल शक्ति भएको बताउँछिन् ।

‘मेरो निर्वाचन क्षेत्रमा त्यस्ता कुनै टोल या गल्ली छैनन्, जहाँ म सहजै उपलब्ध नभएको होस्’ उनी भन्छिन्, ‘मन्त्री, सांसद हुँदा होस् या नहुँदा, मकहाँ सजिलै आउन नसक्ने हरेकको घर पुगेर सुख–दुःखमा सँगै उभिएकी छु । उनीहरूको आर्थिक–सांस्कृतिक अधिकारका लागि लडेकी छु ।’

उनको निर्वाचन क्षेत्रमा पर्ने भैंसेपाटी, सातदोबाटो, सुनाकोठी, खुमलटारलगायत क्षेत्रमा पछिल्लो समय उच्च आर्थिक हैसियतका बासिन्दा बढ्दैछन् । त्यो बुझेकी उनी सबैखाले नागरिकको चाहना र आवश्यकताप्रति सचेत रहेको बताउँछिन् । सबै समेटिने गरी शहरी जीवनको आवश्यकता सम्बोधन गर्न खोजेको उनको दाबी छ ।

गठबन्धनको भर

भुसालले ललितपुर–३ मा २०६४ सालमा एमालेका रघुजी पन्तलाई पराजित गरेकी थिइन् । त्यसको १० वर्षपछि २०७४ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका मदनबहादुर अमात्यलाई हराइन् । २०७० को दोस्रो संविधानसभा चुनावमा ललितपुर–३ का विजेता थिए, अमात्य ।

२०७४ मा माओवादी–एमाले गठबन्धनबाट जितेकी भुसाललाई यसपटक सत्ता गठबन्धनको साथ–सहयोग छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ललितपुर–३ मा कांग्रेस र एमालेले बराबरी मत पाएका छन्, माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

कांग्रेसका वडाअध्यक्षहरूले १९ हजार ७४४, एमालेकाले १९ हजार ७११, माओवादी केन्द्रकाले ७ हजार ९५८ र नेकपा (एकीकृत समाजवादी)ले ५ हजार १२९ मत पाए । गठबन्धनको मत नछरिए यो पटक पनि भुसालले जित्ने यो आँकडाले बताउँछ ।

ललितपुर–३ मा कांग्रेसभित्र आफ्नो बलियो पकड भएको क्षेत्रमा अरूलाई टिकट दिएको भनेर असन्तुष्टि छ ।

यसपटक ललितपुर–३ मा कांग्रेसबाट मदनबहादुर अमात्य र जीतजंग बस्नेतसहित चारजना सिफारिस भएका थिए, तर सत्ता गठबन्धनबाट टिकट पाइन् भुसालले । यसमा ललितपुर कांग्रेसको असन्तुष्टि छिपेन ।

भुसालको मनोनयन दर्तापछि भने सबै चुनाव प्रचारमा सहभागी भएको देखिएको छ । बाहिर देखिएको यो गठबन्धन भावनालाई मत पेटिकामा पु¥याउन सके पम्फा भुसालले ललितपुर–३ मा एमालेका प्रत्यासी अमृत खड्कालाई हराएर ‘ह्याट्रिक’ गर्ने सम्भावना बलियो देखिन्छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?