+
+

ललितपुरलाई सम्पदाको शहर बनाउने खाका मसँग छ : अमृत खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १४:१०

१ मंसिर, काठमाडौं । ललितपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार छन्, अमृत खड्का । युवा उद्यमी खड्कासँग तीन दशक लामो राजनीतिक यात्राको अनुभव छ । हामीले खड्कासँग उनका चुनावी मुद्दा र ललितपुरसँग जोडिएका समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं :

चुनावी अभियान तीव्र भइरहेका बेला मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

हाम्रो पार्टी नेकपा (एमाले)को ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्यसहित मतदाताको घरदैलोमा छु । राजनीतिक स्थिरता, सुशासन र ललितपुरका जनताको उज्ज्वल भविष्यको नेतृत्व गर्ने व्यक्तिको रूपमा आम मतदाताले मलाई विश्वास गर्नुहुनेछ । देशभर देखिएको एमालेप्रतिको जनलहर, यहाँ हामीले गरेको प्रतिबद्धताप्रति क्षेत्र नम्बर ३ का सचेत मतदाताको अपार साथ मलाई छ ।

ललितपुरको क्षेत्र नम्बर ३ का मतदातासँग तपाईंको प्रतिबद्धता के–के हुन् त ?

पहिलो कुरा ललितपुर भनेको विश्वसामु पहिचान दिएर नेपालको सभ्यता चिनाउने ऐतिहासिक शहर हो । यहाँको जीवनशैली, जातजाति, कला, संस्कृति, भाषा, रहनसहन, खानपिनलगायत आफ्नै मौलिकता बोकेको शहरको ठूलो भाग मेरो क्षेत्रमा पर्छ । त्यसैले प्रतिबद्धतापत्रमै मैले मूल लक्ष्यका रूपमा ‘ऐतिहासिक, सांस्कृतिक, हस्तकला र सभ्यताको धरोहर, हामी बनाउँछौं सुन्दर, समृद्ध, सम्पदाको ललितपुर शहर’ भन्ने उल्लेख गरेको छु ।

एउटा विधायकको रूपमा विधायकी भूमिका निर्वाह गर्ने पहिलो दायित्व मेरो हुनेछ । जसका लागि नागरिकका आवाज, विचार र सुझावलाई आत्मसात् गर्नेछु । नागरिकसँगको सहकार्यमा मात्र लोकतन्त्रमा विधायिकी भूमिका प्रभावकारी र नागरिकमैत्री हुन्छ भन्नेमा विश्वस्त छु । विधायकले मूलतः नीति–निर्माणको भूमिकालाई प्राथमिकता दिने हो । यो भूमिका मबाट निश्चय नै पूरा हुनेछ ।

नागरिकका विचार र दृष्टिकोणलाई समेट्ने उद्देश्यले नियमित रूपमा नागरिक संवादको आयोजना, सबैको भनाइ, विचार र सुझावलाई नीति निर्माणको थलोसम्म पुर्‍याएर समावेश गर्ने जीवन्त अभ्यास गरेर ललितपुर क्षेत्र नम्बर ३ को शिर उँचो राखेर मुलुकको लागि टेवा पुर्‍याउने मेरो मूल उद्देश्य हो ।

भ्रष्टाचार र स्रोत–साधनको चरम दुरुपयोगले हामी प्रताडित छौं । हाम्रो देश अधिक भ्रष्टाचार हुने सूचीमा रहनु हाम्रा लागि लज्जाको विषय हो । हाम्रो निर्वाचन क्षेत्र देशकै बौद्धिक र सचेत नागरिक समुदायको बसोबास भएकाले भ्रष्टाचार र कुशासन विरुद्धमा पहलकदमी लिनेछु ।

ललितपुरको क्षेत्र नम्बर ३ को स्थानीय समस्या के हुन् र ती समस्या समाधानमा तपाइँको भूमिका के हुनेछ ?

मुख्यगरी यस क्षेत्रमा भौतिक पूर्वाधारहरू तयार नहुने समस्या छन् । त्यसअन्तर्गत व्यवस्थित शहरीकरण, बाटो, खानेपानी, ढल निकास, फोहोर व्यवस्थापनलगायत विषय छन् ।

पुरातात्विक तथा ऐतिहासिक सम्पदा रहेका बस्तीहरूको अस्तित्व जोगाउन भवन निर्माण संहितालाई परिमार्जन, सडक यातायातलाई प्रविधिमैत्री, वातावरणमैत्री, अपाङ्गतामैत्री, साइकल तथा पैदलयात्री मैत्री र उचित पार्किङको व्यवस्थापन गर्न आवश्यक योजना तथा कार्यक्रम ल्याउन ठोस कदम चाल्नेछु । त्यसैगरी नख्खुखोला किनारमा सडक करिडोर निर्माण र विद्यमान खानेपानी तथा ढल निकास प्रणालीमा सुधार गर्न जोड दिनेछु ।

अहिले देखिएको अव्यवस्थित शहरीकरणलाई जनसंख्या र भूगोलको अनुपातलाई आधार मानेर बस्ती विकासको खाका अघि सारेर कार्यान्वयन गर्नेछु । पुरानो ऐतिहासिक तथा सांस्कृतिक शहरको संरक्षण, अव्यवस्थित शहर र नयाँबस्तीलाई व्यवस्थित गर्न आवश्यक कार्य गर्नेछु । घना तथा जोखिमयुक्त शहरी बस्तीहरू स्थानान्तरण रोक्न नयाँ ढाँचाका बस्ती विकास गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने छु । सार्वजनिक एवं सरकारी सम्पत्तिको अभिलेख संकलन तथा संरक्षण गरी त्यसको उचित प्रयोग गर्न आवश्यक नीति ल्याउन पहल गर्नेछु ।

तपाईं एक सफल व्यवसायी पनि हो, युवा पुस्तालाई उत्साहित गर्ने खाका के–के हुन् त ?

यो एकदम महत्वपूर्ण प्रश्न हो । म एक निर्यातकर्ता पनि हो । मुलुकको मुहार फेर्ने मुख्य शक्ति भनेकै युवा शक्ति हो । अहिले लाखौं युवा विदेशिनु परेको छ । यसलाई दक्ष जनशक्तिमा बदलेर देशको विकास गर्नुपर्छ । बृहत्तर रोजगारी सिर्जनाका लागि महिला र युवा केन्द्रित सीपमूलक तालिम र व्यवसाय सञ्चालन गर्न सहज सहुलियत ऋण उपलब्ध गराउन वित्तीय संस्थाहरूसँग सहकार्य गर्ने योजना बनाएको छु ।

त्यससँगै स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्न स्थानीय ज्ञान, सीप र दक्षतालाई समुचित परिचालनमा मसँग प्रष्ट खाका छन् । प्रस्तरकला, काष्ठकला, चित्रकला र धातुकलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिकीकरण गर्न प्रोत्साहन र प्रवद्र्घनमा जोड दिनेछु । विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षताको आधारमा स्वदेश फर्केर सोही पेशा व्यवसाय गर्न युवाहरूलाई प्रोत्साहन गर्नेछु । उत्पादित वस्तुहरूलाई निर्यात गरी अन्तर्राष्ट्रिय रूपमा बजारीकरणमा समेत जोड दिनेछु ।

ललितपुर ऐतिहासिक पर्यटकीय शहर पनि हो । यसको प्रवर्द्धनका लागि के छन् योजना ?

हो, यो ऐतिहासिक शहर भन्नेमा कुनै विवाद छैन र हुन सक्तैन । पर्यटन प्रवद्र्धनका निम्ति विविध कला, संस्कृति, भेषभुषा, रहनसहन र सुन्दर दृश्यले भरिपूर्ण यस क्षेत्रलाई विश्वसामु चिनाउन विशेष वार्षिक क्यालेण्डरसहित कार्यक्रम बनाउँछु । पर्यटकीय नगरी ललितपुरको पहिचान बढाउन हेरिटेज होटल तथा होमस्टेलाई प्रवद्र्धन गर्न आवश्यक छ । त्यसतर्फ काम गर्नेछु ।

त्यसैगरी ललितपुरका ऐतिहासिक बस्तीलाई सांस्कृतिक शहरको रूपमा विकास गर्न आवश्यक नीति, कार्यक्रम तथा स्रोतको व्यवस्थाका लागि तीनै तहका सरकार र अन्तर्राष्ट्रिय सहयोग समेत जुटाउने छु । परम्परागत ख्यातिप्राप्त वस्तुहरूलाई ब्राण्डिङ गर्न पहल गर्नेछु । नेवारी संस्कृति झल्कने क्षेत्रको विकासमा विशेष बजेटको व्यवस्था गर्नेछु । नेवारी संस्कृति, कला, रहनसहन र परम्परालाई पर्यटन र जीविकोपार्जनमा सहयोग पुग्ने गरी आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्नेछु ।

शताब्दीपुरुष स्वर्गीय सत्यमोहन जोशीको नाममा नेपालको भाषा, लिपि, कला, संस्कृति र रहनसहनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवद्र्धन गर्न एक प्रतिष्ठान स्थापना गर्ने पहल गर्नेछु । नेपाल भाषाको विज्ञ जनशक्ति उत्पादन गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन संयुक्त क्याम्पसमा रहेको नेपाल भाषा विभागसँग साझेदारी गरी कार्यक्रम तथा बजेटसहित अध्ययन अध्यापन गर्न आवश्यक नीतिगत व्यवस्था मिलाउने मेरो योजना छ ।

ललितपुरमा रहेका ऐतिहासिक मन्दिर, ढुंगेधारा, पाटीपौवा, पोखरी पुनःनिर्माण र संरक्षण गर्न पहल गर्छु । सबै किसिमका गुठी, बाजागाजा लगायत धर्म संस्कृतिको संरक्षण गर्न पूरै पहल लिनेछु । मौलिक जात्रा र पर्वको पहिचान, संरक्षण र प्रवद्र्धन गर्न ‘अक्षय कोष’को स्थापना, कात्तिक नाच, सिकाली जात्रा, हरिसिद्धि जात्रा, मच्छिन्द्रनाथको रथजात्रा आदिलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने विज्ञापन गर्नेछु । अमूर्त सम्पदा संरक्षण गर्न आवश्यक कार्यसँगै यसका लागि सम्पदाको पहिचान, लिपिबद्ध अभिलेखीकरण तथा आवश्यकतानुसार स्थानीय तह, प्रदेश, संघ तथा युनेस्कोमा सूचीकरण गर्न पहल लिनेछु ।

ललितपुर कृषि उत्पादनमा पनि अब्बल छ । किसानहरूको उत्थानका लागि के योजना बनाउनुभएको छ ?

ललितपुर कृषिमा अब्बल छ । अब यसलाई आत्मनिर्भर बनाउनेमा मेरो मुख्य जोड हुनेछ । स्वयं म पनि कृषि उद्यममा लागेको मान्छे हुँ । कृषिमा आधारित उद्योग स्थापना र बजार व्यवस्थापन गर्न कृषि सहकारी, निजी एवं स्थानीय तहसँग समन्वय गरी व्यावसायिक कृषिमुखी अनुदान, तालिम, प्राविधिक सहयोग र बजार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छु ।

कृषि क्षेत्रलाई व्यावसायिक र पर्यटनमैत्री बनाउन आवश्यक योजना तथा कार्यक्रमसँगै कृषिमा आत्मनिर्भरताको लागि उन्नत बीउ, उपकरण, प्रविधि र मल सहज रूपमा उपलब्ध गराउन आवश्यक पहल गर्नेछु । खाद्य सुरक्षाको लागि स्थानीय उत्पादनमा जोड दिनेछु ।

मध्यम वर्गीय शहरी नयाँ पुस्ताका लागि के योजना ल्याउनुभएको छ ?

हो, यहाँ बस्ने मध्यम वर्गीयसँगै सचेत बुद्धिजीवी नयाँ पुस्ता बढी छन् । उनीहरूका लागि पहिलो प्राथमिकता भनेको शिक्षा, दक्ष सीपमूलक शिक्षा हो । त्यससँगै प्रविधिमुखी तथा प्रतिस्पर्धी समाज निर्माण गर्न उपयुक्त स्थानमा सूचना तथा प्रविधि (आईटी) पार्क निर्माणको लागि तत्काल पहल लिनेछु । सूचनाप्रविधिलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचनाप्रविधि उत्पादकहरूबीच सहकार्य गर्न आवश्यक पहल गर्नेछु ।

त्यस्तै युवालाई खेलकुदप्रति आकर्षित गर्न ठोस नीति तथा कार्यक्रम र स्रोतको व्यवस्था गर्न पहल गर्नेछु । युवा पुस्ताका लागि खेलकुद अपरिहार्य हो, त्यसैले खेलकुदका लागि भौतिक संरचना निर्माण गर्न पहल गर्नेछु । त्यससँगै युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी क्षमतायुक्त बनाउन आवश्यक प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्न स्रोतको व्यवस्था गर्नेछु ।

तपाईंको निर्वाचन क्षेत्र शहरमा पर्छ यहाँको स्वास्थ्य, शिक्षाको अवस्था के छ ?

सरकारी स्वास्थ्य प्रदायक संस्थाबाट प्रदान गरिने सेवालाई गुणस्तरीय तथा सेवा विस्तार गर्न ठोस कदम चाल्न आवश्यक छ । ललितपुरवासीको सहज पहुँच तथा अधिकतम हित हुने गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुणात्मक सेवा विस्तार योजना तथा कार्यक्रमलाई आवश्यक सहयोग गर्न पहल गर्नेछु ।

स्वास्थ्य स्वयंसेविकाहरूको सेवालाई सम्मानजनक बनाउँदै सेवामैत्री वातावरण निर्माण गर्नेछु । त्यस्तै शिक्षाको कुुरा गर्दा सामुदायिक विद्यालय तथा क्याम्पसहरूमा गुणस्तरीय तथा अनुकरणीय शैक्षिक वातावरण बनाउने कार्यक्रम लिनेछु ।

सामुदायिक विद्यालयमा बालबालिकालाई अध्ययन गर्न÷गराउन प्रोत्साहित हुने नीति तथा कार्यक्रम तय गर्नेछु । विज्ञान प्रयोगशाला, उपयुक्त सूचनाप्रविधि, बाल तथा अपाङ्गतामैत्री संरचना, खानेपानी र व्यवस्थित शौचालय, तालिमप्राप्त शिक्षकसहित साधन, स्रोत सम्पन्न विद्यालय स्थापना गर्न शिक्षामा बढी भन्दा बढी लगानीमा जोड दिनेछु ।

प्रतिस्पर्धी उम्मेदवारहरू पम्फा भुसाल र डा.तोसिमा कार्कीलाई कसरी लिनुभएको छ ?

निर्वाचनमा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र डा.तोसिमा कार्की दुईजना मेरा प्रतिस्पर्धी हुन् । अन्य पार्टी वा स्वतन्त्र उम्मेदवार खासै प्रतिस्पर्धी होइनन् ।

पम्फा भुसालको कुरा गर्दा उहाँ त दुई पटक सांसद भइसक्नुभएको छ । यस क्षेत्रका जनताको एउटा मात्र गुनासो छ, उहाँले केही गर्न सक्नुभएन । पटक–पटक मन्त्री बन्नुभयो, केही गर्नु भएन । यो मेरो होइन यो क्षेत्रको मतदाताको भनाइ हो ।

डा.तोसिमाको कुरा गर्दा उहाँले आफू स्वतन्त्र उम्मेदवार भन्दै प्रचार गर्नुभएको छ । उहाँ त स्वतन्त्र उम्मेदवार होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हो । जनताले निर्वाचनमा भर्खरै जन्मेको पार्टीलाई खासै महत्व दिन्छन् जस्तो लाग्दैन ।

भुईंचालो, कोभिड जस्ता विपत्तिको समयमा हामी छिमेकी–छिमेकी बीचको आपसी सहयोगले गर्दा मलाई यो क्षेत्रकै छिमेकीको हैसियतले छिमेकीलाई मत दिने निश्चित छ । मसँग ललितपुर बनाउने भिजन र मिसन छ । त्यसैले मतदाताले अन्यत्र ध्यान दिनुहुन्छ जस्तो लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?