+
+

गगनले कसरी निकाले फराकिलो जित ?

लिलु डुम्रे लिलु डुम्रे
२०७९ मंसिर ६ गते १४:५४

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा निर्वाचनमा तेस्रो पटक निर्वाचित हुँदा एमाले नेता राजन भट्टराईलाई २०७४ सालमा भन्दा फराकिलो मतान्तरले पराजित गरे ।

मंगलबार सार्वजनिक मत परिणाम अनुसार गगनले २१ हजार ३०२ मत पाए भने भट्टराईले १३ हजार ८५५ मत पाए । उनीहरुबीचको मतान्तर ७ हजार ४४७ रहेको छ । उनले अझै फराकिलो अन्तरमा निकालेको यो जित त्यति सहजै प्राप्त भएको भने होइन ।

२०७४ सालमा यही क्षेत्रमा गगन थापा २१ हजार ५५१ मतसहित निर्वाचित भएका थिए भने भट्टराईले १८ हजार १४० मत पाएका थिए ।

काठमाडौं क्षेत्र ४ मा काठमाडौं महानगरका चारवडा (१, ७, ८ र ३०) सहित बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडाहरु पर्दछन् । क्षेत्रमा रहेका ३२ वटै बुथको मतगणना सुरु देखि अन्तिमसम्म थापाले अग्रता कायम राखे ।

थापा निकटका एक क्षेत्रीय सदस्यका अनुसार बुढानिलकण्ठ वडा नम्बर ८ र काठमाडौं महानगरको ३० नम्बर वडाबाट भने आशा गरेअनुसार मत आएन ।

उम्मेदवारको मनोनयन दर्ता गर्ने बेलासम्म क्षेत्रभित्र र बाहिर गगनले जित निकाल्न कठिन छ भन्ने बोलीहरु सुनिन्थे । त्यसैले उनले यसपटक चुनाव क्षेत्रमा निकै मिहिनेत गरेका थिए ।

आफ्नो पक्षमा नतिजा पार्नका लागि थापाले सुरुमा अरु आकांक्षीहरुको व्यवस्थापनमा ध्यान दिए । गणतन्त्रवादी थापालाई हराउँछु भन्दै भाषण गर्दै हिँडेका राजावादी युवा सन्तोष प्रधान चौधरीले समेत गगनलाई साथ दिने घोषणा गरे । उनले विचारधारामा असहमति भए पनि थापा संसदमा चाहिने व्यक्ति भएकाले सहयोग गरेको प्रतिक्रिया सार्वजनिक गरेका थिए । उनी पछि गगन थापाको चुनाव प्रचारमा समेत हिँडेका थिए ।

गगनको अर्को सफलता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका अरुण श्रेष्ठको उम्मेदवारी फिर्ता गराउनु थियो । हालको मत परिणाममार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीले शहरी क्षेत्रमा मूलधारका दललाई चुनौती दिएको छ । जबकि गगनको क्षेत्रमा यो दलले उम्मेदवारी नै दिएन । गगनले राष्ट्रिय स्वतन्त्र पार्टीले मत काट्न सक्ने आकलन गरेर पहिले नै व्यवस्थापन गरेको उनका सहयोगीहरु बताउँछन् ।

रास्वपाबाट उम्मेदवार दर्ता गरी नाम फिर्ता लिएका श्रेष्ठले थापाको पक्षमा अभिव्यक्ति दिए । ‘योग्य र सक्षम व्यक्ति संसदमा आउनुपर्छ । रवि लामिछाने र गगन थापा जस्तो व्यक्ति संसदमा चाहिन्छ’, उनले २६ असोजमा नाम फिर्ता लिएपछि श्रेष्ठले अनलाइनखबरसँग भनेका थिए ।

काठमाडौं ४ मा घन्टी नबज्ने पक्का भयो । अब त गगनलाई सजिलो भइहाल्यो । चुनावी प्रचारमा गगन एमाले उम्मेदवार भट्टराई माथि पुरै हाबी देखिए । व्यक्तिगत प्रभाव तथा सामाजिक सञ्जालको भरपुर उपयोगले क्षेत्रमा माहोल आफ्नो पक्षमा पार्न उनी सफल भए । मुलतः ‘मिसन पिएम’ सहितको चुनावी एजेण्डा क्षेत्रमा प्रभावी हुन पुग्यो । मिसन पीएम प्रचारका लागि भिडिओ मात्रै निर्माण गर्न गगनले छुट्टै टिम नै खडा गरेका थिए ।

उनले चुनाव क्षेत्रमा गरेको भाषण र सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा आफूले चुनाव जितेपछि कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रतिस्पर्धा गर्ने, जित्ने र कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गर्ने बताएका थिए ।

उक्त टिमले तीन सातामा तीन सय भन्दा बढी भिडिओ अपलोड गरेको थियो । अपलोड भएका भिडिओमा संसदमा थापाले खेलेको भूमिका, क्षेत्रमा गरिएको विकास, संसदीय दलमा प्रतिस्पर्धा थापाको अभिव्यक्ति,क्षेत्रका मतदाताले उनीसँग राखेका अपेक्षा लगायत समावेश गरिएको छ ।

मिसन पीएमका लागि दुई वर्षदेखि गरिरहेको ‘प्रोजेक्ट गभर्मेन्ट’ को कार्यले समेत मतदाताको मन तान्यो । ‘कतिपय साथीहरूले संसदीय दलमा प्रतिस्पर्धा गर्ने कुरा बोल्नुहुन्न पनि भन्नुहुन्छ । संसदीय दलमा प्रतिस्पर्धा गर्ने भन्दै गर्दा कतिपयले जोखिम हुने बताउँदा पनि अडान लिएको हुँ’, थापा बताउँछन् । जोखिम भएपनि मतदातालाई ढाँट्न मतदातालाई नसकिने उनको भनाइ छ ।

घरदैलोको प्रचारमा गगनले दिएका प्रतिक्रियाले सञ्चार माध्यममा बढी प्राथमिकता पाए । मूलधारका मिडियादेखि फेसबुक, टिव्टर, यु ट्युव, टिकटक लगायतमा अन्य उम्मेदवार थापा भन्दा पछि देखिए । युवा पुस्तालाई ध्यान तान्ने गरी अघि सारिएको ‘जेन जी’ अर्थात् ‘गगन जेनेरेसन’ले नयाँ मतदाताको मत ल्याउन सहयोग पु¥यायो ।

गगनले चुनावी प्रचारमा क्षेत्रका नेता कार्यकर्तालाई मात्रै परिचालन गरेनन् । गगनको सचिवालयका एक सदस्यका अनुसार उनको पक्षमा देशभरका नेता कार्यकर्ता प्रचारमा खटिन तयार थिए । कांग्रेसबाट उम्मेदवारी नभएका क्षेत्रका कतिपय कार्यकर्ता महामन्त्री थापालाई जिताउन काठमाडौं–४ मा आएका थिए ।

काठमाडौ ४ मा बस्ने तर गगनसँग सम्पर्क नभएकाहरुलाई कांग्रेसका विभिन्न जिल्लाका नेताहरुले गगनको टिमसँग सम्पर्क गराए । गगनले यस क्षेत्रमा काभ्रे, सिन्धुपाल्चोक, ओखलढुङ्गा लगायतका जिल्लाका नेता कार्यकर्ताको भेला नै गराए ।

आफूले भेट्न नसकेका मतदातासँग संवाद गर्न आफ्नै टिमका अरु सदस्य परिचालन गरेका थिए । प्रवुद्ध वर्गको भेला राखेर गगनले आफ्नो पक्षमा माहोल सिर्जना गर्न सफल बने । थापाले चुनाव क्षेत्रमा एमालेको असन्तुष्ट पक्षसँग खेल्ने अवसर समेत पाए । क्षेत्रका एक कांग्रेसका नेताका अनुसार एमाले भित्रका दश बुँदे पक्षधरका कतिपय नेताले गगनका लागि अप्रत्यक्ष साथ दिएका थिए ।

थापाको व्यक्तित्व, टीम वर्क, विगतमा संसदमा खेलेको भूमिका, भावी योजना, सामाजिक सञ्जालको भरपुर उपयोग लगायतले क्षेत्रका मतदाताले थापाको ह्रयाट्रिक बनाउन साथ दिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?