+
+

गच्छदारको ३१ वर्षे ‘राज’मा भगवतीले लगाएको ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते २०:४९

१३ मंसिर, सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको अपराजित कीर्तिमानी विजय यात्रा अन्ततः रोकिएको छ ।

नेकपा एमालेकी भगवती चौधरीसँग पराजय बेहोरेसँगै गच्छदार पनि चुनाव हार्ने नेताहरुकै पंक्तिमा परेका छन् । अब २०४८ साल यताका कुनै पनि चुनाव नहार्ने नेताको कीर्तिमानी सूचीमा कांग्रेसका सभापति शेरबहादुर देउवा एक्लो रहे ।

यसअघि लगातार ६ वटा चुनाव जित्नेमा देउवासँगै गच्छदार पनि थिए । तर यसपटक सुनसरी–३ मा एमालेकी भगवतीसँग पाँच हजार मतान्तरले गच्छदार पराजित भएका छन् ।

भगवतीले ४० हजार ८७८ मत ल्याएर जित्दा गच्छदारले ३५ हजार ६०० मत मात्रै ल्याए । २०७४ र ०७० को चुनावमा भगवतीसँगै कडा टक्कर भएको थियो । तर चुनाव गच्छदारले जिते । चर्को प्रतिस्पर्धा भएपनि भगवतीले जित्न नसकेपछि ‘चुनाव जित्ने भनेकै गच्छदारले’ भन्ने भाष्य यो क्षेत्रमा जबर्जस्त स्थापित थियो ।

हुनपनि ०७० मा ३६२ मतान्तरले जितेका गच्छदारले ०७४ मा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा पनि ३२१ मतान्तरले बाजी मारेका थिए । यो नतिजाप्रति असन्तुष्टि जनाउँदै भगवतीले सर्वोच्चमा रिट दिइन् ।

तर कार्यकाल सकिँदा समेत फैसला आएन । बरू ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा चलेकाले गच्छदार लगभग पूरै कार्यकाल निलम्बित रहे ।

रोकियो अपराजित यात्रा

गच्छदारको उदय विद्यार्थी राजनीतिबाट भएको थियो । २०३८ सालमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका तत्कालीन सचिव फणिन्द्र तिम्सिनाको हत्या आरोपले गच्छदारलाई चर्चामा ल्याएको थियो । उनी त्यही आरोपमा चार वर्ष जेल बसे ।

जेलमुक्त भएको केही समयमै उनी संसदीय राजनीतिमा स्थापित हुन पुगे । पञ्चायतको अन्त्य लगत्तै २०४८ मा भएको चुनावमा सुनसरी–२ बाट गच्छदारले २७ हजार ७७५ मत ल्याएर ल्याएर एमालेकी लीला श्रेष्ठ सुब्बालाई हराएका थिए । श्रेष्ठले १५ हजार ८८५ मत मात्रै ल्याएकी थिइन् । यो चुनाव जित्दा साथ गच्छदार सञ्चार राज्यमन्त्री भइन् ।

०५१ मा गच्छदारविरुद्ध एमालेले उम्मेदवार फेर्यो । तर गच्छदारले २१ हजार ९६३ मत ल्याएर जित्दा एमालेका कुलदीप पेशकरले ११ हजार २५५ मत मात्रै ल्याए । ०५६ को चुनावमा पनि एमालेको उम्मेदवार फेर्‍यो ।

इटहरीको उपमेयरबाट राजीनामा दिएर रेवतीरमण भण्डारीले गच्छदारविरुद्ध चुनाव लडे । चुनाव भने गच्छदारले नै जिते । गच्छदारले २७ हजार ५२७ मत ल्याएर जिते, भण्डारीले २३ हजार ३३९ मत ल्याए ।

०६४ मा भने गच्छदारले पार्टी फेरे । ०६३ सालको अन्तरिम संविधानमा असन्तुष्टि जनाउँदै उपेन्द्र यादवले मधेश आन्दोलन चर्काएपछि गच्छदार पनि त्यही मिसिन पुगे । कांग्रेसका तत्कालीन पुराना नेता महन्थ ठाकुरले तमलोपा बनाए पनि गच्छदारले उपेन्द्रको मधेशी जनाधिकार फोरम रोजे ।

०६४ को चुनावमा गच्छदारले कांग्रेसको रुख छोडेर फोरमको मसाल चिह्नबाट चुनाव लडे । यसपटक त गच्छदारले सुनसरी–३ र मोरङ–७ गरी दुई ठाउँबाट चुनाव जिते । दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार निकटतम प्रतिद्वन्द्वी थिए । सुनसरी–३ मा कांग्रेसका अगमलाल चौधरी र मोरङ–७ मा शेखर कोइराला उम्मेदवार थिए ।

सुनसरी–३ मा अगमलालले १० हजार ८०६ मत ल्याउँदा गच्छदारले २३ हजार ७६९ मत ल्याएर जितेका थिए । ०७० मा गच्छदारले फेरि पार्टी बदले । ०६६ को माधव नेपाल नेतृत्वको सरकारमा जान आफ्नै नेतृत्वमा गच्छदारले पार्टी फुटाएर फोरम लोकतान्त्रिक गठन गरेका थिए । तर फोरम लोकतान्त्रिको नमस्कार चिह्नबाट गच्छदारले ०७० को चुनाव पनि जिते ।

एमालेकी भगवती चौधरीले १७ हजार १६२ मत ल्याउँदा गच्छदारले १७ हजार १६२ मत ल्याएर जितेका थिए । यो चुनावदेखि चाहिँ गच्छदारका प्रतिस्पर्धी स्थायी हुन पुग्यो । ०७४ मा पनि गच्छदारका प्रतिस्पर्धी एमालेकै भगवती भइन् ।

१० वर्षपछि आफ्नो पुरानै पार्टी कांग्रेस फर्किएर रुखबाट चुनाव लडेका गच्छदारले दोस्रोपटक पनि भगवतीलाई हराए । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा भगवतीले ३८ हजार ६५१ मत मात्रै पाएकी थिइन् । तर यसपटक जनता समाजवादी पार्टी (जसपा) सँग तालमेलको सहयोगमा एमालेकी भगवती गच्छदारलाई हराउन सफल भइन् । यो पराजयसँगै गच्छदारको संसदीय यात्रामा ३१ वर्षपछि ब्रेक मात्रै लागेको छैन, उनको सत्ता यात्राको संभावना समेत टरेको छ ।

जबकी ०४८ देखि सरकारमा जान थालेका गच्छदार ०७४ सम्म पाँच पटक उपप्रधानमन्त्री सहित १३ पटक मन्त्री भएका थिए । त्यो पनि सधैं रोजेको मन्त्रालय दिने गच्छदारलाई सत्ता र संसदका चतुर खेलाडी भनेर चिनिने गरेको थियो । तर ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि आरालो लागेको गच्छदारको राजनीतिलाई यो चुनावले थप क्षति पुर्याएको छ ।

गत वर्ष भएको कांग्रेसको १४औं महाधिवेशनले गच्छदारको राजनीतिमा धक्का लागेको थियो । पार्टी फुट्दा र जुट्दा समेत महत्वपूर्ण भूमिकामा रहेका गच्छदार गएको वर्ष सम्पन्न महाधिवेशनबाट उपसभापतिमा पराजित भएका थिए । देउवा नेतृत्वकै प्यानलबाट उपसभापति पदको उम्मेदवार बनेका गच्छदारलाई धनराज गुरुङले २ मतले पराजित गरेका थिए । १९०८ मत ल्याएर गुरुङ उपसभापति निर्वाचित हुँदा गच्छदारले १९०६ मत मात्रै पाए ।

गच्छदार पार्टीको पदाधिकारीमा बस्न थालेको कांग्रेस विभाजित भएर कांग्रेस प्रजातान्त्रिक बनेबाटै हो । ०५९ मा कांग्रेस विभाजन हुँदा देउवाले गच्छदारलाई महामन्त्री बनाएका थिए । ०६३ पछि फोरममा वरिष्ठ नेता र आफ्नै नेतृत्वको पार्टी सभापति थिए । कांग्रेस फर्कदा उनले उपसभापति पद लिएका थिए । कुनै बेला कांग्रेसको नेतृत्वमा पुग्नसक्ने नेताका रुपमा हेरिएका गच्छदार एक वर्षभित्रैमा पार्टी र संसदीय भूमिका दुवैबाट अलग हुन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?