+
+
बारा– २ :

एमालेको योजना : पार्टी मत जोगाउने, गठबन्धनका असन्तुष्ट फकाउने

एमाले नेताहरुले कार्यकर्तामा उत्साह भर्न र अरु मतदाता तान्न आफ्नो विगतलाई प्रचार गरिरहेका छन् । यो क्षेत्रबाट २०४८ देखि लगातार तीन पटक जितेकाले बलियो बिरासत फेरि फर्काउने भन्दै नेताहरुले सार्वजनिक भाषण गरिरहेका छन् ।

सागर चन्द शैलेन्द्र महतो सागर चन्द, शैलेन्द्र महतो
२०८० वैशाख ७ गते १९:३५

७ वैशाख, महागढीमाई । बारा–२ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्ने  दिन २० चैतको बिहानसम्म यहाँका नेकपा एमाले कार्यकर्ता अन्योलमै थिए ।

सत्तारुढ पाँच दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने निकै पहिले निश्चित भएको थियो । तर गत मंसिरको चुनावमा जसपासँगै तालमेल गरेको एमाले नेतृत्वले कुनै निर्णय लिएको थिएन ।

यहाँका कतिपय एमाले नेताहरुलाई उपेन्द्रलाई रोक्ने गरी कुनै दलसँग सहकार्य गर्ने कि आफ्नै उम्मेदवार खडा गर्ने भन्ने पत्तो थिएन । एमाले नेतृत्वले मनोनयन दर्ताको समय केही घण्टा बाँकी रहँदा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

अन्तिम समयमा पार्टी केन्द्रले पौडेललाई उम्मेदवार बनाएर एक्लै प्रतिस्पर्धामा उत्रने निर्णय गरेपछि भने यहाँका एमाले कार्यकर्ता लगातार चुनाव प्रचार अभियानमा जुटेका छन् । एमाले नेता रघुवीर महासेठ मनोनयन दर्तादेखि उम्मेदवार पौडेलका साथ छन् । अर्का नेता लालबाबु पण्डित चुनावी अभियानमै छन् । एक हप्ता अगाडि एमाले महासचिव शंकर पोखरेल र सचिव योगेश भट्राई यहाँ आएका थिए ।

प्रचारप्रसारको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभालाई सम्बोधन गर्ने तयारी छ । त्यसको तयारीमा नेता तथा कार्यकर्ता केही दिन अगाडिबाटै परिचालित छन् ।

अध्यक्ष ओली गत २२ चैतमा पनि यो क्षेत्रमा भएका केही कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए । फेरि ओली यो क्षेत्रमा आउनु अघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यहाँ आइपुगेका छन् । बुधबार बारा आएका पोखरेलले २०११ सालको किसान आन्दोलनमा शहीद बनेका मुखलाल महतोको शालिकमा माला चढाएर घरदैलो गरे ।

लगत्तै एक चुनावी सभामा सम्बोधनमार्फत् पोखरेलले जसपाका अध्यक्ष यादवको चर्को आलोचना गरे । ‘मोरङ, सुनसरी, सप्तरी हुँदै बारामा आएर यो के नौटंकी हो ? के का लागि हो यो सब ? कति ठाउँमा गर्ने हो यस्तो ?’ कार्यकर्ता उत्साहित बनाउने गरी पोखरेलले आक्रोशपूर्ण अभिव्यक्ति दिए ।

स्थानीय नेताहरुले वरिष्ठ उपाध्यक्ष पोखरेललाई यो क्षेत्रमा एमालेको १६ हजार मत रहेको रिपोर्टिङ गरेका छन् । ‘हाम्रो भन्दा थोरै मात्रै धेरै उपेन्द्र यादवको मत छ । सत्ता गठबन्धनबाट केही मत आउनासाथ जित्छौं’, एमाले केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलवीर चौधरी भन्छन् ।

गत मंसिरको चुनावमा भने यो निर्वाचन क्षेत्रमा एमालेले समानुपातिकतर्फ ९ हजार मत पाएको छ । प्रत्यक्षतर्फ भने एमालेले जसपाकै रामसहायप्रसाद यादवलाई मत दिएको थियो । ‘गत चुनावमा जसपालाई र २०७४ मा माओवादीलाई मत दियौं । त्यसैले हाम्रो मत देखिएन, कार्यकर्तामा पनि त्यसबेला उत्साह थिएन’ उम्मेदवार पौडेल भन्छन्, ‘यसपटक परिस्थिति बदलियो । फेरि एमालेका कार्यकर्ताले सूर्य चिह्नमा मत हाल्ने अवसर पाएका छन् ।’

एमाले नेताहरुले कार्यकर्तामा उत्साह भर्न र अरु मतदाता तान्न आफ्नो विगतलाई प्रचार गरिरहेका छन् । यो क्षेत्रबाट २०४८ देखि लगातार तीन पटक जितेकाले बलियो बिरासत फेरि फर्काउने भन्दै नेताहरुले सार्वजनिक भाषण गरिरहेका छन् । ‘एमालेले यहाँ २०४८ सालमा जितेको छ । २०५६ सालमा एमाले फुट्दा पनि चुनाव जितेको हो । हामीसँग सबभन्दा बलियो संगठन छ’, उम्मेदवार पौडेल भन्छन् ।

गत मंसिरको चुनावमा पनि बाराका ४ मध्ये २ वटा निर्वाचन क्षेत्र एमालेले जितेको छ । बारा–१ बाट जितेका अच्युत मैनाली र ३ बाट जितेकी सांसद ज्वाला साह अहिले चुनावी मैदानमै छन् ।

एमालेको चुनावी अभियान हेर्दा पार्टी मत जोगाउन प्राथमिकतामा छ । त्यसमा सत्ता गठबन्धनको असन्तुष्ट मत तान्दा जित्न सकिने हिसाब नेताहरुले सुनाउने गरेका छन् । ‘जनमतका उम्मेद्वार शिवचन्द्र कुशवाहको अलोकप्रियता र उपेन्द्र यादवलाई यहाँका जनताले रुचाएको देखिएन,’ चुनावी अभियानका उपसंयोजक मनोज पौडेल भन्छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत मतदातामाझ प्रिय भएपनि शिवचन्द्रले मत पाउने अवस्था नरहेकाले एमालेले जित्ने आधार थप बलियो भएको उनको दाबी छ । ‘टिकटकै लागि दल छाडेको, पहिला पनि हारेको कुरा यहाँका जनताले बुझेका छन्,’ उनी भन्छन् ।

तर जनमतभन्दा पनि बढी मत सत्तारुढ गठबन्धनका दलहरुबाट तान्ने एमालेको नीति देखिन्छ । राम्रै जनमत भएको पुरानो पार्टी कांग्रेसले यसअघि माओवादीका शिवचन्द्र र यसपटक जसपाका उपेन्द्रलाई उम्मेदवार बनाउँदाको लाभ आफूलाई हुने विश्वासमा उनीहरु छन् । त्यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको आफ्नै उम्मेदवार नभएकाले सत्तारुढ गठबन्धनको मत तान्न सकिने नेता पौडेल बताउँछन् ।

तर कांग्रेसका स्थानीय नेताहरु भने गठबन्धनको मत अन्यत्र बाँडिने संभावना नरहेको दाबी गर्छन् । २५ चैतदेखि उपेन्द्र यादवसँगै चुनाव प्रचारमा हिँडिरहेका कांग्रेस बारा जिल्ला सभापति राजेश यादव, पार्टी निर्णयप्रति कार्यकर्ता प्रतिबद्ध रहेको बताउँछन् । एमालेले भने आफ्नो पार्टी मत जोगाउँदै गठबन्धनको कार्यकर्ता तान्न पार्टी नेतृत्वले गरेको राम्रो कामको प्रचार गरिरहेका छन् ।

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलसँग गरिएको संक्षिप्त कुराकानी –

चुनावी माहोल कस्तो छ ?

नेकपा एमाले अत्यन्त राम्रो पोजिसनमा छ । मधेशवादी पार्टीप्रति अनाकर्षण बढेको पाएँ, मैले । पाँच वर्षमा जसपा लगायतले सरकार बनायो, तर यहाँ केही काम भएन । कतै केही विकास निर्माण भएको छैन भनेर जनतामा वितृष्णा छ । यही कारण एमालेले चुनाव जित्छ ।

प्रतिस्पर्धा कोसँग हुने विश्लेषण छ ?

हाम्रो प्रतिस्पर्धा जसपासँग हुन्छ । जनमत लगायत दल निकै पछाडि छन् । यो क्षेत्रको उत्तर र दक्षिण सबैतिर एमालेको राम्रो छ ।

पाँच दलको उम्मेदवार उपेन्द्र यादवलाई जित्न त गाह्रो होला नि ?

पाँचदलीय गठबन्धन त बालुवाटारमा छन् । बालुवाटारमा कहिले सात, कहिले दश दल बस्छन् । यहाँ स्थानीय स्तरमा गठबन्धन भए पो हुन्छ त ! यहाँ जनताले गठबन्धन मानेका छैनन् । बरु हामीले गठबन्धनको भोट ल्याउँछौं ।

जनमत, रास्वपा र आम जनता पार्टीले एमालेको भोट काट्न सक्दैनन् ?

त्यो विपक्षीहरुले चलाएको हल्ला हो । एमालेको भोट कसैले काट्न सक्दैन । गएको चुनावमा सबैले भोट काट्या हो । सबभन्दा बढी भोट कसले पायो ? गठबन्धन बनाएर चुनाव लड्दा पनि एमालेले सबभन्दा बढी भोट पायो नि ।

तपाईँ बारा–२ को स्थायी बासिन्दा होइन भन्ने प्रचार पनि सुनियो, यसको असर कस्तो देख्नु हुन्छ ?

जनमतका साथीहरुले यस्तै कुरामा आनन्द लिइरहनु भएको छ । जनमत पार्टी गएको चुनाव भन्दा दुई महिना पहिला बनेको हो । एमाले भनेको त यहाँ २०४८ सालमै चुनाव जितेको छ । २०५६ सालमा एमाले फुट्दा पनि चुनाव जितेको हो । एमालेसँग सबभन्दा बलियो संगठन छ ।

बितेको दुई चुनावमा हामीले उम्मेदवार नदिँदा यहाँका एमालेका मतदाता छरिएर बसेका छन् । यसपालि उम्मेदवार दिने बितिकै एमालेका जनता सूर्यमा भोट हाल्न लालायित छन्, उत्साहित छन् ।

यो चुनावमा जाति र भूगोलको कुरा सुनिएको छ नि ?

हामी साम्प्रदायिक कुरा गर्दैनौं । साम्प्रदायिक जातीय कुरा उठाएर उनीहरुले दुई वटा चुनाव जिते । सरकार बनाए, लुटेर खाए । त्यो कुरा जनताले मज्जाले बुझेका छन् । त्यसकारण जनतालाई कुनै जातीय कुराको मतलब छैन ।

यो क्षेत्रमा एमाले बलियो छ भनिरहनु भएको छ, तर गएको मंसिरको चुनावमा किन जसपालाई समर्थन गर्यो ?

जसपाले केही गर्छ भन्ने लागेर समर्थन गर्यो । मिलेर अघि बढ्छ भन्ने लागेर एक सिट छाडदिएको थियो । तर, दुर्भाग्य के छ भने जसपा पार्टी एकजनासँग मिलेर खाने, त्यसलाई छाड्ने, फेरि अर्कोसँग मिलेर खाने छोड्ने, उपेन्द्रजी जस्तै । मोरङमा चुनाव जित्यो खायो, त्यसपछि सुनसरीमा जित्यो, पाँच वर्ष खायो । जनतालाई लात हानेर छाडिदियो, त्यसपछि सप्तरीमा पनि उस्तै गर्दै फेरि बाराका जनतालाई झुक्याउन आइपुग्नु भयो ।

मधेशको मुद्दामा एमाले इमान्दार छैन भन्ने आरोप छ नि ?

मधेको मुद्दा गरिबी, अशिक्षा, स्वास्थ्य, सुरक्षा, सिंचाइ र विकासको मुद्दा हो । त्यो मुद्दामा एमाले भन्दा राम्रो पार्टी कुनै पनि होइन । कांग्रेस, लोसपा, माओवादी, एकीकृत समाजवादीको उम्मेदवार छैन । सबैको भोट मलाई आउँछ । वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिको भोट मलाई नै आउँछ ।

लेखकको बारेमा
सागर चन्द

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?