+
+

पढ्दै कमाउँदै शैक्षिक कार्यक्रम कति प्रभावकारी ?

नुनुता राई नुनुता राई
२०८० वैशाख २६ गते ९:२३
जनजागृति माविका विद्यार्थी ।

२६ वैशाख, काठमाडौं । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर भविष्यमा स्वलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित सरकारले विद्यालय तहमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेको छ ।

पहिलो चरणमा १४० वटा विद्यालयमा यो कार्यक्रम लागु गरिएको छ । कार्यक्रम सञ्चालनका लागि प्रति विद्यालय २० लाखको दरले रकम खर्च गरिएको छ ।

यो कार्यक्रममा कति विद्यार्थी संलग्न छन् र यसको प्रभावकारीता कति छ भन्ने अझै एकिन भइसकेको छैन । यद्यपि यो वर्ष पनि थप एक सय वटा विद्यालय यो कार्यक्रम सन्चालनका लागि छनौट गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले पढ्दै कमाउँदै कार्यक्रम लागु भएका विद्यालयहरुमा कति विद्यार्थी यो कार्यक्रमसँग जोडिएका छन् भन्ने एकिन तथ्यांक आउन बाँकी रहेको बताए । साथै यो कार्यक्रम सुरुवातकै चरणमा भएकाले अहिले नै प्रभावकारीता मूल्यांकन गर्ने बेला नभइसकेको महानिर्देशक पौडेल बताउँछन् । उनी भन्छन् ‘अहिले शुरुवाती चरणमा नै छौं । प्रभावकारिता मूल्यांकनको लागि केही वर्ष कुर्नैपर्छ ।’
‘प्रभावकारीता देखिन थालिसकेको छ’

पढ्दै कमाउँदै कार्यक्रम लागु भएका विद्यालयहरुमध्येको एक हो झापाको मेचीनगर नगरपालिकाको धुलाबारी मावि । यहाँ कक्षा ९ देखि १२ सम्म पशु प्राविधिक विद्यार्थीको लागि कार्यक्रम लागू गरिएको प्रधानाध्यापक महेन्द्र विलास लुईंटेलले जानकारी दिए ।

धुलाबारी माविमा पशु प्राविधिक विषय पढिरहेका १४० जना विद्यार्थीहरुलाई पाँच समूहमा विभाजन गरिएको छ । ती समूहका विद्यार्थीहरुले बाख्रा, कुखुरा, गाई, माछा, सुँगुर पालन गरिरहेका छन् ।

गत आर्थिक वर्षको रकम ढिला पाएकाले विद्यार्थीले अहिले आर्थिक आयआर्जन गर्न बाँकी नै रहेको तर विद्यार्थीलाई पर्याप्त रुपमा अभ्यास गर्न पाइरहेकाले त्यही नै प्रभावकारीता मानिरहेको प्रधानाध्यापक लुईंटेल बताउँछन् । उनी भन्छन्, ‘नाफा आएको छैन । किनभने पशुहरु हुर्किन समय लाग्छ तर आर्थिक आय आर्जन गर्नु मात्रै प्रभावकारिता होइन । उनीहरुको सिकाइमा कस्तो प्रभाव परेको छ भन्ने मुख्य हो । त्यो प्रभावकारीता देखिन थालिसकेको छ ।’

विद्यार्थीले अहिले भेटेनरी क्लिनिक पनि सञ्चालनमा ल्याएका छन् । विद्यार्थीहरु अहिले पढेको कुरा अभ्यास गर्नेसँगै व्यवसायीक रुपमा लाग्नको लागि आवश्यक कुराहरु ज्ञान आर्जन गरिरहेको उनको भनाइ छ ।

पशु प्राविधिक शिक्षा कार्यक्रममा केही वर्ष अगाडिसम्म विद्यार्थी पाउन मुश्किल भइरहेको बेला पढ्दै कमाउँदै कार्यक्रम लागू भएदेखि भर्ना हुन आउने विद्यार्थीको संख्या समेत बढेको प्रधानाध्यापक महेन्द्र विलास लुईंटेल बताउँछन् । ‘शुरुमा यो कार्यक्रम पढ्न आऊ भन्नुपर्थ्यो तर जब गत वर्षदेखि यो कार्यक्रम जोडियो त्यसबेलादेखि विद्यार्थी बढेका छन् । गत वर्ष ४८ जनाको कोटामा ६० जना भए यो वर्ष पनि त्यस्तै छ,’ उनी भन्छन् ‘अहिले विद्यार्थी फर्काउनु परिरहेको छ ।’

चन्द्रागिरी नगरपालिकाको कंकाली माविले चालु आर्थिक वर्षदेखि पढ्दै कमाउँदै कार्यक्रम शुरु गरेको छ । यो विद्यालयले कक्षा ९ देखि १२ सम्मका २५ जना विद्यार्थीलाई विभिन्न पाँच समूहमा विभाजन गरी प्राविधिक तालिम दिएको छ । विद्यार्थीहरुलाई रिपेयरिङ एन्ड मेन्टिनेन्स -कम्प्युटर, मोबाइल, ल्यापटप), वेबसाइट डिजाइन, डाटा इन्ट्री, नेटवर्किङ, इलेक्ट्रोनिक तथा इलेक्टि्रकल सम्बन्धी तालिम दिएको प्रधानाध्यापक विष्णु प्रसाद पनेरुले जानकारी दिए ।

विद्यार्थीले उत्पादन गरेको गोलभेंडा ।

फिल्डमा नै जानुपर्ने भएकाले पहिलो चरणमा २५ जना विद्यार्थी छनौट गरिएको प्रधानाध्यापक पनेरुले बताए । तालिम लिएर विद्यार्थीहरुले विद्यालयको वेबसाइट बनाउने, सीसीटीभी जडान गर्ने, कम्प्युटर बनाउने लगायत करिब ६० हजार बराबरको काम गरेका प्रधानाध्यापक पनेरु बताउँछन् ।

‘विद्यार्थीले कुनै पनि काम गरेबापतको पाउने रकम विद्यालयको खातामा आउँछ त्यसमध्ये ५० प्रतिशत विद्यार्थीले पाउँछन्, बाँकी २० प्रतिशत विषय विज्ञ शिक्षकले पाउँछन् र बाँकी २५ प्रतिशत रकम मर्मत सम्भार दिगोपनको लागि विद्यालयको खातामा रहने व्यवस्था छ,’ प्रधानाध्यापक पनेरु भन्छन्, ‘यो रकमले कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने छ ।’

भर्खरै काम शुरु गरेकाले आफ्नो विद्यालय बाहेक सितापाइला माविमा दुई पटक कम्प्युटर बनाउन गएको प्रधानाध्यापक पनेरुले बताए । उनले भने ‘तालिम सकेर काम गर्न थालेका छन् । आफ्नो विद्यालयमा करिब ६० हजारको काम गरे अर्को सितापाइला माविको करिब ३० हजार जत्तिको काम गरे । विद्यार्थीले कमाउन थालेका छन् ।’ कमाउन थालेसँगै आफ्नो पकेट खर्च जुटाउन थालेपछि विद्यार्थी अभिभावक दुवै दंग परेको उनले बताए ।

विद्यालयले तालिमप्राप्त विद्यार्थीहरुको लागि सार्वजनिक विद्यालय, कलेजहरु, स्थानीय निकाय र बैंक तथा वित्तीय संस्थाहरुमा समन्वय गरेको छ । उनका अनुसार विद्यालयले चाँडै कलंकी क्षेत्रमा सम्पर्क कार्यालय खोल्ने तयारी पनि गरिरहेको छ ।

बुढानीलकण्ठ स्कुलको ‘नलेज पार्क’

काठमाडौंको बुढानीलकण्ठ स्कुलले ‘सिक्दै सिकाउँदै’ कार्यक्रम गत वर्षदेखि लागू छ । सरकारको कार्यक्रम आउनुअघि नै यो कार्यक्रम शुरु गरेको हो । गत वर्षदेखि लागू भएको ‘लर्निङ एन्ड अर्निङ’ कार्यक्रम अन्तर्गत विद्यालयले तरकारी खेती गरेको छ । अहिले विद्यार्थीले टमाटर, काउली, बन्दा, धनियाँ लगायतका तरकारी लगाएका छन् ।

आवासीय विद्यालय भएकाले विद्यार्थीहरुले उत्पादन गरेको तरकारी अधिकांश विद्यार्थीकै लागि प्रयोग हुन्छ । बाँकी रहेको तरकारी होलसेलरलाई बिक्री गर्ने गरेको विद्यालयका पि्रन्सिपल होमनाथ आचार्य बताउँछन् ।

तरकारीबाहेक अलैंची र कफीको विरुवा पनि लगाइएको छ । अर्को वर्षदेखि गाईपालन शुरु गर्ने तयारी भइरहेको आचार्यले जानकारी दिए ।

बुढानीलकण्ठ स्कुलमा उत्पादित तरकारी बिक्री गर्दै विद्यार्थी ।

बुढानीलकण्ठ स्कुलले कक्षा ५ देखि ९ सम्मका करिब ६ सय विद्यार्थीलाई अनिवार्य सहभागी हुनुपर्ने नियम बनाएको छ । विद्यार्थीहरुले दैनिक एक घन्टा तरकारी खेतीमा समय दिनुपर्छ । शनिबार लगायतका सार्वजनिक विदाहरुमा भने त्यो भन्दा बढी समय बिताउनुपर्ने हुन्छ ।

बुढानीलकण्ठ स्कुलका पि्रन्सिपल आचार्य भन्छन्, ‘यो कार्यक्रमले तरकारी लगाउने विधि के हो, कसरी स्याहार गर्ने, यसमा के कस्ता समस्याहरु आउन सक्छन् भन्ने व्यवहारिक ज्ञान लिइरहेका छन् ।’

समूह, समूहमा काम गर्नुपर्ने र जुन समूहको काम राम्रो छ त्यही अनुसार विद्यार्थीहरुले नम्बर पाउँछन् । यसको पाठ्यक्रम विद्यालय आफैंले बनाएर लागू गरेको छ । यसलाई अझ व्यवस्थित बनाउँदै लैजानका लागि कृषि, कारपेन्ट्री, इलेक्टि्रकल, प्लम्बिङ लगायतको कार्यक्रम लागू गर्ने तयारी भइरहेको पि्रन्सिपल आचार्यले जानकारी दिए । उनी भन्छन् ‘हामीले तरकारी खेतीलाई ‘नलेज पार्क’ नाम दिएका छौं । उनीहरुको कक्षा कोठा भनेको नै त्यही हो ।’

विद्यालयले विद्यालयको बंैक खाता बनाएर खर्च र आम्दानी त्यहिँ राख्ने व्यवस्था गरेको छ । विद्यार्थीहरुले गरेको तरकारी खेतीबाट गत आर्थिक वर्षमा २० लाख आम्दानी भएको र यो वर्ष ४० लाख आम्दानी हुने अनुमान रहेको बुढानीलकण्ठ स्कुलका पि्रन्सिपल आचार्यले बताए । यो शिक्षा निकै प्रभावकारी भइरहेको बताउँदै उनी भन्छन्, ‘यसप्रकारको व्यवहारिक शिक्षाले, व्यवसायीक, उत्पादनसँग जोडिन त सिकाउँछ नै माटोसँग खेलेपछि माटोप्रति, ठाउँप्रति र देशप्रति प्रेमभाव पनि जगाउँछ ।’ कृषि कार्यक्रम १५० रोपनीमा फैलाउने योजना विद्यालयले बनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि विभिन्न क्षेत्रबाट सहयोग पाइरहेको विद्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाले यो शैक्षिक सत्रदेखि शिक्षामा सीप भनेर कक्षा ९ का विद्यार्थीलाई ९० दिनको तालिम दिने तयारी गरेको छ ।

फरक शैलीमा जनजागृति मावि

खोटाङको रुपाकोट मझुवागडी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गर्ने नमूना विद्यालय हो । शुभम फाउन्डेसन अन्तर्गत सञ्चालित विद्यालयले २०५८ सालमा सीप सिकाउँदै शुरु गरेको थियो । तर प्रभावकारी नभएपछि ६७ सालदेखि शिक्षासँग जोडेर ‘गर्दै सिक्दै’ कार्यक्रम लागू गरेको फाउन्डेसनका संस्थापक सन्चालक मदन राईले बताए । अहिले सरकारले शुभमलाई नमूना मानेर कार्यक्रम शुरु गरेको उनी बताउँछन् ।

कृषिविज्ञ मदन राईले आफ्नै परिकल्पनामा स्थापित फाउन्डेसनको सहयोगमा विद्यालय आफैं सिक्नको लागि शुरु गरेको बताउँछन् । सरकारी पाठ्यक्रमलाई सरलीकरण गर्दै आफैं पढ्ने र पढाउने गरेका छन् ।

प्रावि, निमावि र माविको लागि तीन वटा दरबन्दी रहेको भएपनि यो विद्यालय शिक्षक रहित हो । विद्यार्थीले आफैं काम गर्दै सिक्छन् । खेती, गाई, भैंसी, कुखुरा, माछा, घोँडा पालन गर्न सिकाउनुको साथै कम्प्युटर, गाडी, मोबाइल लगायत बनाउन सिकाइन्छ । इन्डोर लर्निङमा डायरी लेख्न लगाउने भएकाले सरकारले लिने परीक्षा पास गर्न सक्ने हुने फाउन्डर तथा कृषि विज्ञ राई बताउँछन् । विद्यालय कक्षा १२ सम्म भए पनि फाउन्डेसनले एमएसम्म अरु क्याम्पसहरुमा भर्ना गरेर पढाउने गरेको छ । ७० प्रतिशत घाममा काम गर्नुपर्ने र ३० प्रतिशत मात्रै भित्र पढ्नुपर्ने विद्यालयको नियम छ । देशभरका ५० जिल्लाका करिब २ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयको मुख्य उद्देश्य हातखुट्टा चलाएर सक्षम बनाउने अर्थात विद्यार्थीलाई गरिखान बनाउने रहेको छ । आवासीय सुविधा भएको विद्यालयमा विद्यार्थीहरुले उत्पादन गरेको अन्नबाली करिब, तरकारी करिब १० प्रतिशत धानिने गरेको छ ।

अहिले सरकारले लागू गरेको कार्यक्रम प्रभावकारी हुन नसक्ने शुभमका संस्थापक सञ्चालक मदन राई बताउँछन् उनी भन्छन् ‘त्यसका लागि इनिसियटिभ नलिएपछि सिक्न सक्दैनन् । १० लाखले के हुन्छ । १० दिँदा एक लाखको सिक्लान् ।’ टाई बुट लगाएर खेतमा जाने बालबालिकाले नसिक्ने बताउँदै उनी भन्छन्, ‘विद्यार्थीलाई सिकाउन ७० प्रतिशत प्राकृतिक र ३० प्रतिशत डिजिटल हुनुपर्छ ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?