८ कात्तिक, खोटाङ । धादिङका एक पुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा खोटाङकी एक महिला गाउँ निकाला भएकी छिन् । च्यानडाँडा-१ सेखुवाकी २५ वषर्ीया रमिला बुढाथोकी दुई सातादेखि गाउँ निकाला भएकी हुन् ।
अनैतिक सम्बन्ध राखेको आरोपमा आफ्नै काका तथा दाजुबाट उनी गाउँ निकालामा परेकी छिमेकीको भनाइ छ । आफन्तले गाउँ निकाला गरेपछि अलपत्र बनेकी बुढाथोकीले आफूलाई माइतीघर बस्ने वातावरण बनाई दिन राजनीतिक दलका साथै सम्बन्धित पक्षसँग आग्रह गरेकी छिन् ।
पीडितका बुबाआमाले पनि आफ्नै दाजुभाइले आफूमाथि समेत विभिन्न आरोप लगाएर बाध्यकारी रुपमा छोरीलाई गाउँ निकाला गरेको भन्दै आफ्ना छोरीले माइतीघरमा बस्न पाउनुपर्ने बताएका छन् । पीडितका बुबाआमाले आफ्नी छोरीको हिँड्ने, डुल्ने, बस्ने तथा खाने अधिकार नै खोसिएको भन्दै सबै पक्षसँग सहयोगका लागि अपिल गरेका छन् ।
अनैतिक सम्बन्ध राखेको खुलेसँगै रतन्छा-२ घर भएकी उनलाई चैत्रमा माइतीघर पठाइएको थियो । त्यसयता माइतीमै बस्दै आएपनि गत असोज २३ गते उनी गाउँ छाड्न बाध्य भएकी थिइन् । आफ्नै काका तथा दाजु पर्ने जङ्गबहादुर बुढाथोकी, टीकाबहादुर बुढाथोकी, रत्न बुढाथोकी र ज्ञानबहादुर बुढाथोकीले गाउँ छाड्न आग्रह गरेपछि आफू गाउँ छाड्न बाध्य भएको रमिलाको भनाइ छ । उहाँले भन्नुभयो, “तत्काल गाउँ नछाडे जे पनि गर्ने भनेपछि गाउँ छाड्न बाध्य भएको हुँ ।”
गाउँ निकाला गर्ने जङ्गबहादुर र टीकाबहादुर स्थानीय शिक्षक समेत हुन् । गाउँलेले सात महिना त माइत बसी भन्दै दसैँसम्म बस्न दिन दबाब दिएपनि आफ्नै चार जना दाजुभाइले ती महिलालाई गाउँ निकाल्नै पर्ने अड्डी कसेपछि गाउँलेहरु नै आश्चर्यमा परेका छन् ।
उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेका छन् । आफन्तबाट गाउँ निकाला भएकी रमिला निर्मलीडाँडा-२ स्थित सानीआमाको घरमा बस्दै आएकी छिन् । रासस
प्रतिक्रिया 4