+
+

अन्तरिक्षमा पठाइयो राष्ट्रपतिको कपालदेखि डाइनोसरको हड्डीसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते १८:३२

सन् २०१८ को फेब्रुअरी ६ । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्कले आफ्नो चेरी रंगको टेस्ला रोडस्टर कार अन्तरीक्षमा पठाए । कारसँगै स्पेस शुट लगाएको डमी ड्राइभरलाई पनि अन्तरीक्षमा पठाइएको थियो जसको नाम स्टारम्यान राखिएको थियो ।

फाल्कन हेभी रकेटको पहिलो उडानका लागि आवश्यक वजनका वस्तु (पेलोड) नभएका कारण मस्कले आफ्नै कार तथा डमी ड्राइभरलाई यानमा हालेर अन्तरीक्षमा पठाएका थिए । सुरुमा यसलाई मंगल ग्रहको कक्षमा सेट गर्नु थियो । तर अहिले कार त्यसभन्दा धेरै अगाडि निस्किसकेको छ । मस्कको सो कारले सूर्यको कक्षमा परिक्रमा गरिरहेको छ । सो कारलाई सूर्यको एकपटक परिक्रमा गर्न ५५७ दिन लाग्दछ । टेस्लाको कार र त्यसको डमी ड्राइभर मात्र होइन हालसम्म अन्तरीक्षमा यस्ता धेरै खालका सामानहरु पठाइएका छन्, जसका बारेका थाहा पाउँदा अनौठो लाग्न सक्छ ।

परमाणु बम विस्फोटको ढक्कन : अमेरिकाको नेवादामा सन् १९५७ को मे २८ देखि अक्टोबर ७ सम्म अमेरिकी सेनाले २९ वटा परमाणु बमको परीक्षण गरेको थियो । उक्त अपरेसनको नाम थियो प्लमबब । त्यसमध्ये दुईवटा परीक्षण जमिनमुनि गरिएको थियो ताकि त्यसको असर देख्न सकियोस् । घटना सोही जुलाई महिनाको हो ।

जब पास्कल एक बमलाई जमिनको ५ सय फिटमुनि दबाइयो त्यसको खाडललाई चार इन्च मोटो फलामको पत्रले छोपियो । तर विस्फोट यतिधेरै शक्तिशाली थियो कि फलामको ढक्कन तीव्र गतिमा बाहिर निस्कियो र आकाशमा पृथ्वीको वायुमण्डलीय लाइन नै पार गरेर अन्तरीक्षमा प्रवेश गर्‍यो । पास्कल बी बमको विस्फोटका क्रममा पनि यस्तै भएको थियो । उक्त ढक्कन २ लाख किलोमिटर प्रतिघण्टाको वेगमा आकासमा उडेको थियो ।

राष्ट्रपतिको कपाल : गत फेब्रुअरी २० मा टेक्सासको निजी अन्तरीक्ष कम्पनी सेलेस्टिसले अमेरिकी पूर्व राष्ट्रपति जर्ज वासिङ्टन, जोन एफ केन्नेडी, आइजनहभर र रोनाल्ड रेगनको कपाललाई अन्तरीक्षमा पुर्‍याएको थियो । सेलेस्टिस कम्पनीले अन्तरीक्षमा चिहान बनाउने योजना तय गरेको छ ।

त्यहीँ योजना मुताविक नै उसले मृत्यु भैसकेका पूर्व अमेरिकी राष्ट्रपतिहरुको कपाल अन्तरीक्षमा लगेको हो । कम्पनीले आफ्नो इन्टरप्राइज स्पेसक्राफ्टको माध्यमबाट राष्ट्रपतिहरुका कपालको नमूना अन्तरीक्षमा पठाएको हो ।

विशालकाय डिस्को बल : सन् २०१८ को जनवरी २१ मा अमेरिकी स्पेस कम्पनी रकेट ल्याबले चुपचाप अन्तरीक्षमा एउटा विशालकाय डिस्को बल प्रक्षेपण गर्‍यो । त्यो उडान रकेट ल्याब कम्पनीको रकेटको पहिलो उडान थियो । उक्त डिस्को बललाई ह्युमानिटी स्टार नामाकरण गरिएको थियो ।

त्यसको चौडाई करीब ३ फिट थियो । त्यसमा ६५ वटा रिफ्लेक्टिभ प्यानल राखिएको थियो । तर उक्त चम्किलो गोला मार्च २२ का दिन पृथ्वीमा फिर्ता आयो । यसअघि अमेरिकाले सन् १९९९ तथा २००१ मा पनि यस्तै बल अन्तरीक्षमा पठाएको थियो । जुन करीब १ वर्षसम्म अन्तरीक्षमा रहेको थियो ।

लेगोको टुक्रा : लेगो र अन्तरीक्षबीच पुरानो सम्बन्ध छ । यो सानो बिल्डिङ किट साना बच्चा तथा युवालाई समेत डिजाइनिङ सिक्नका लागि निकै उपयोगी हुन्छ ।

सन् २०१२ मा जापानी अन्तरीक्षयात्री सतोसी फुरुकावाले स्पेस स्टेशनमै लेगो लगेर स्पेस स्टेशनको स्केल मोडेल बनाएका थिए । उनलाई त्यो बनाउन २ घण्टाभन्दा धेरै समय लागेको थियो । किनकी स्पेस स्टेसनमा गुरुत्वाकर्षणको अभावमा लेगोहरु यत्रतत्र भागिरहेका थिए ।

जेफ बेजोस र उनका साथी : वास्तवमा जेफ बेजोस अन्तरीक्षमा जानु अनौठो कुरा त होइन तर बेजोस र उनीसँगै गएका सबैजना पहिलोपटक नै अन्तरीक्ष यात्रामा गएका थिए । साथै अन्तरीक्ष उडानमा उनीहरुलाई कुनै वैज्ञानिकको सहयोग थिएन ।

उनीहरुले सब अर्बिटल फ्लाइट पूरा गरे । सन् २०२१ को जुलाई २० मा बेजोस, भेली फंक, ओलिभर डेमेन र मार्क बेजोस ब्लू ओरिजिनको न्यू सेफर्ड रकेटमा चढेर अन्तरीक्षमा गएका थिए । उनीहरुको अन्तरीक्ष यात्रा जममा १० मिनेटको थियो ।

डाइनोसरका हड्डी : सन् २०२१ को मे २० मा जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले न्यू शेफर्ड रकेटको माध्यमबाट डाइनोसरका करीब २ सय हड्डीहरु अन्तरिक्षमा पठाएको थियो । ती हड्डीहरु ६ करोड ६० लाख वर्षदेखि ७ करोड वर्षसम्म पुराना थिए ।

हड्डीहरु पंक्षीजस्तै देखिने डाइनोसर अर्थात् ड्रोमियोसोसरका थिए । सो डाइनोसर ७ फिट लामो तथा २ फिट अग्लो हुन्थ्यो । यसअघि सन् १९९८ र २०१४ मा पनि नासाले डाइनोसरका हड्डीहरु अन्तरीक्षमा पठाइसकेको थियो ।

संसारकै सबैभन्दा सानो किरा : अन्तरीक्षमा कुकुर, बाँदर, मुसा, भ्यागुता तथा फ्रुट फ्लाइ झिँगा, कछुवा, माछा तथा जेलीफिस समेत पठाइएको कुरा त हामीलाई थाहै छ । तर यीबाहेक संसारकै सबैभन्दा सानो किरा अर्थात् टार्डीग्रेड्सलाई पनि अन्तरीक्षमा पठाइएको थियो ।

यसलाई वाटर बियरका साथै पृथ्वीको अजम्बरी प्राणी पनि भनिन्छ । यो जस्तोजुकै विषय परिस्थितिमा पनि बाँच्न सक्दछ । पृथ्वीमा यस्तो अजम्बरी जीव अन्तरीक्षमा बाँच्न सक्छ कि सक्दैन भनेर अध्ययन गरियो । एक वर्षसम्म स्पेस स्टेशनमा पृथ्वीको परिक्रमा गर्दा ६० प्रतिशत टार्डीग्रेड्सहरु जीवितै पाइएका थिए ।

गोरिल्ला सुट : सन् २०१६ मा पूर्व अन्तरीक्षयात्री तथा अमेरिकी सिनेटर मार्क केलीले स्पेश स्टेशनमा गोरिल्ला सुट पठाए स्टेशनमा रहेका आफ्ना जुम्ल्याहा भाइ स्कट केलीका लागि । सो भिडियो भाइरल बनेको थियो ।

सुरुमा त स्पेस स्टेशनमा गोरिल्लालाई देखेर स्कट झस्किए तर पछि चाहिँ त्यहाँ मजाक भइरहेको छ भनेर थाहा पाए । उनलाई आफ्नै जुम्ल्याहा दाजुले उक्त सुट पठाइदिएका थिए ।

ल्यूक स्काइवाकर र लाइटसेभर : हलिउडको चर्चित फिल्म स्टार वार्सका पात्र हुन् ल्यूक स्काइवाकर र उनको लाइट सेभर । त्यसलाई सन् २००७ मा अन्तरीक्षमा पठाइएको थियो । त्यसलाई हार्मोनी मोड्युलमा जडान गरी स्पेश स्टेशनमा प्रक्षेपण गरिएको थिया । त्यो नै कुनैपनि फिल्मसँग सम्बन्धित सामान अन्तरीक्षमा पठाइएको पहिलोपटक थियो ।

स्पेस स्टेशनमा पिज्जा डेलिभरी : सन् २००१ मा पिज्जा हटले अन्तरीक्षमै पिज्जा पुर्‍याएको थियो । रुसी अन्तरीक्षयात्री युरी उसाचोभले उक्त पिज्जा खाएका थिए । उनी त्यसबेला स्पेस स्टेशनमा बस्दथे । पिज्जाको डेलिभरी गर्नु एक मार्केटिङ अभियानको रुपमा थियो । त्यसका लागि कम्पनीले करीब २५ करोड रुपैयाँ खर्चिएको थियो ।

पिज्जामा अधिक सिजनिङ गरिएको थियो । किनकी अन्तरीक्षमा अधिकांश अन्तरीक्षयात्रीहरुले आफ्नो स्वाद क्षमता ह्रास हुने गर्दछ । सन् २०२१ मा उबर इट्स कम्पनीले स्पेस स्टेसनमै खाना पुर्‍याइदिएको थियो ।

सन् १९३२ को ऐतिहासिक घडी : सन् १९३२ मा तत्कालीन साहसी मैला पाइलट र पहिलो महिला एमिलिया इयरहार्टले एक्लै आन्ध्र महासागर पार गरेकी थिइन् । एमिलियाको नामका अन्य विभिन्न रेकर्डहरु पनि छन् ।

सन् १९३७ मा उनलाई मृत ठानियो किनकि उनी चढेको विमान हराएको थिाये । जब उनी पृथ्वीको परिक्रमा गरिरहेका थिए उनको जहाज र शरीर कहीँपनि फेला परेन । महिलाहरुलाई प्रेरित गर्नका लागि नासाका अन्तरीक्षयात्री सेनन वाल्करले इयरहार्टको घडीलाई अन्तरीक्षमा पुर्‍याएका थिए ।

राइट दाजुभाइको जहाजको हिस्सा : सन् १९०३ को डिसेम्बर १७ मा ओर्भिल र विलभर राइट दाजुभाइले पहिलोपटक विमान बनाएर उडान भरेका थिए । उक्त जहाजको नाम किटी हक थियो र सो उडान जम्मा ५९ सेकेण्डको थियो । सो जहाजले ८५२ फिटको दूरी तय गर्‍यो ।

त्यसपछि चन्द्रमामा पहिलो पाइला राख्ने निल आर्मस्ट्रंगले सन् १९६९ मा आफूसँग एपोलो ११ मिनमा राइट दाजुभाइले बनाएको उक्त जहाजका केही टुक्रा लिएर अन्तरीक्षमा गएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?