+
+
ब्लग :

तपाईं के जातिम्पा/के जातिम्मा ?

उसो भए आउनुस् न त राईहरूको संस्कार अनुसार देशका केही हस्तीहरूलाई बोलाई हेरौं । रमाइलै पो हुन्छ कि न !

सुरेश राई सुरेश राई
२०८० असार ५ गते १०:४५

पश्चिमा जगतमा बिहेपछि पति–पत्नी एकअर्कालाई बोलाउन सजिलो छ । नाम जे छ, फ्याट कि फ्याट नामैले बोलायो भइहाल्छ- काले भए काले, भाले भए भाले, माले भए माले ! हामीकहाँ अझै पनि नाम काढेर बोलाउन उति सहज छैन ।

खासगरी नवदुलहीलाई झनै अप्ठ्यारो छ । बिहे अघिदेखिकै प्रेम छ, नजिककी छ, एक–दुई पटक कपाल भुतला–भुतल पनि गरिसकिएको छ, तँतँ–मम नै चल्छ भने त सिन अलिक फरकै होला । र पनि; विवाहपश्चात् घरगृहस्थीमा आफन्तजनहरूको सामु नामै काढेर श्रीमान्लाई बोलाउँदा अझै पनि असहज नै महसुस हुन्छ । त्यसैले नामको सट्टामा अरू नै शब्द प्रयोग गर्ने गरिन्छ । यसलाई ‘टेक नो नेम’ संस्कृति पनि भनिन्छ जो उहिलेदेखिकै हो ।

यसो हुनुको कारणमध्ये विवाहित पुरुषको उमेर सामान्यतया उसकी पत्नीको भन्दा ज्यादा हुने हुनाले उमेरलाई आदर गरिएको हो पनि भन्ने गरिन्छ । भलै यसको अनेकन् व्याख्या समाजशास्त्रले गरेकै होला त्यतापट्टि नजाऔं बेकारमा ‘मरी आफा’ अर्थात् कोरियन भाषामा ‘टाउको दुख्छ’ ।

अब विषयवस्तुबाट भड्किनु भन्दा अघि नै बरु पहिलो प्याराग्राफ चेन्ज गर्दै राई जातिमा ‘टेक नो नेम’ को अभ्यास कस्तो छ त्यतापट्टि लागौं !

म आफू खोटाङवासी भएकोले हाम्रो राई समाजमा ‘टेक नो नेम’ को सट्टामा के कस्ता शब्दावली प्रयोग हुन्छ भनेर बताउने जमर्को गर्दैछु । पहिलो सन्तान हुनुअघि ‘प्रिय, प्राणनाथ, डार्लिङ, माया, बेब्बी’ अथवा जे–जे भनेर बोलाउने हो एकअर्कालाई बोलाउनुहोस् । तर पहिलो सन्तान जन्मिएपछि तपाईंको परिचय बदलिन्छ; एकअर्कामा मात्र हैन पूरै समाजमा । तपाईंको छोरा या छोरी भयो रे ! उसको नाम फलानो या फलानी राख्नु भो रे ! त्यसपछि तपाईं फलानो/फलानीको बाउ । फलानो/फलानीकी आमा हुनुभयो ।

त्यसपछि तपाईं स्वयं आफू फलानो/फलानी नभई सन्तान फलानो/फलानीको मातापिताको रूपमा बोलाइनुहुनेछ । बिचरा दोस्रो, तेस्रो, चौथो लगायत त्यसपछिका जतिऔं सन्तानको रूपमा जन्मिएका बाँकी फलाना/फलानीहरू यो सम्पूर्ण कारबाहीमा कोही योग्य हुँदैनन् । केवल पहिलो सन्तान मात्रको नाम आउनेछ । कठै बरा माइला र माइली मुनिकाहरू ! यसमा दुःखमनाउ गर्नुपर्ने केही छैन । बाउआमा सबैका हुन् । बोलाउँदा मात्रै जेठा–जेठीको रेफरेन्स लिएको त हो नि ! त्यति बुझे भइगो !

अब गरौं चुरो कुरो- माझकिरातको हाम्रो भेगमा राईहरूको नाम नलिने प्रचलन के कसरी बनेको छ भनेर । सुरुमा घरको पहिलो सन्तानको नाम यदि अकार लागेर टुंगिन्छ भने एकार लगाएर नाम बनाइन्छ– जस्तो कि राम भए रामे, चन्द्र भए चन्द्रे, महेश भए महेशे, भक्त भए भक्ते, मकर भए… ? बुझिहाल्नुभयो । यसमा महिला र पुरुष दुवैको नाममा उस्तै नियम लाग्छ । जस्तो कि सुमन भए सुमने, पुनम भए पुनमे, सिम्रन भए सिम्रने आदित्यादि । यदि नाम आकार, उकार, ओकार आदि लागेर टुंगिन्छ भने त्यसलाई एकारमा ढालिरहनु परेन । त्यसपछि बाउ भए ‘म्पा’ र आमा भए ‘म्मा’ प्रत्ययका रूपमा जोडिदिए हुन्छ ।

‘म्पा’ भनेको ‘को बाउ’ ‘म्मा’ भनेको ‘की आमा’ हो । उदाहरणका लागि रामको बाउ ‘रामेम्पा’, रामकी आमा ‘रामेम्मा’ हुन्छ । राम जन्मिनु अघि श्रीमतीलाई जेसुकै भनेर बोलाए पनि राम जन्मिएपछि चाहिं ‘ए रामेम्मा ! (रामकी आमा) लु एक बटुको जाँड बनाऊ त’ नै भन्ने हो ।

श्रीमतीले पनि ‘ए रामेम्पा ! (रामेको बाउ) जाँड तयार भो है’ नै भन्ने हो । गाउँलेले पनि ‘आज रामेम्पा र रामेम्माको फाइट प¥यो कि के हो ? अघि डाङ्डाङ र डुङ्डुङ पो गर्दैथ्यो त होऊ’ भन्ने हुन् । अरू उदाहरण पनि हरौं है त । शोभाम्पा (शोभाको बाउ), शोभाम्मा (शोभाकी आमा), टोपीम्पा (टोपीको बाउ), टोपीम्मा (टोपीकी आमा), सरलाम्पा (सरलाको बाउ), सरलाम्मा (सरलाकी आमा), गजिन्द्रेम्पा (गजिन्द्रको बाउ), गजिन्द्रेम्मा (गजिन्द्रकी आमा), भरतेम्पा (भरतको बाउ), भरतेम्मा (भरतकी आमा), सन्देशेम्पा (सन्देशको बाउ) सन्देशेम्मा (सन्देशकी आमा) सबिताम्पा (सबिताको बाउ) सबिताम्मा (सबिताकी आमा) आदि ।

गजबको कुरा चाहिं हाम्रो गैर राई समुदायमा समेत यही ‘म्पा–म्मा’ को चलनचल्ती छ । यसलाई सांस्कृतिक मिलाप भन्नुस् या भन्नुस् सामुदायिक प्रभाव । उदाहरणको लागि यो एउटा छिमेकीको छिमेकीसँगको गफ सुनौं न त ।

‘हिजोराति बखतेम्पा पाँडेको भैंसी लडेछ भीरबाट अनि त दिलेम्मा कर्कीनीले सबैलाई खबर गरिदिइछिन् गाउँभरि । माथिबाट चोलेम्पा थापाहरू, पारिबाट हिरेम्पा कामीहरू, तल्लो टोलको तुलेम्पा खत्रीहरू सबै भएर बल्ल जसोतसो गोठसम्म बोकी ल्याए रे !’

‘एऽ! तिमीलाई कल्ले भनेको नि ?’

‘कुलेम्मा कटुवालनी काकीले !’

आजभोलि सूचनाप्रविधिको आधुनिक जमानामा यो ‘टेक नो नेम’ संस्कृति केही हराउँदै गइरहेको भान हुन्छ । तर हरेक कुरा ‘कुल’ लाग्ने यो पुस्तालाई यो कुरा पनि कसो कुल नलाग्ला ? भलै आजकल आधुनिक नामहरू राखिन्छ । तर त्यसो भन्दैमा ‘म्पा–म्मा’ जोड्नै मिल्दैन भन्ने पनि त छैन नि !

उसो भए आउनुस् न त राईहरूको संस्कार अनुसार देशका केही हस्तीहरूलाई बोलाई हेरौं । रमाइलै पो हुन्छ कि न !

सुरुमै माफी माग्न चाहें तलका उल्लेखित नामहरूमध्ये यदि कोही प्रथम सन्तान हुनुहुन्न भने यसलाई एउटा केवल उदाहरणका रूपमा मात्रै मानिदिनुहोला । मनले मान्दिनुस् न । मान्दिंदैमा केही जाँदैन क्यारे !

–अनमोलेम्पाको नयाँ फिल्म आएको छ है साथी हो । (भुवन केसी)

–निर्वाणेम्पा सारै धनी छन्, वाइवाइका मालिक जो हुन् ! (विनोद चौधरी)

–यमनेम्पाले सारै हँसाउँछ होऊ ! (मदनकृष्ण श्रेष्ठ)

–मानुषीम्पाको अन्तर्वार्ता हेरियो आज । (बाबुराम भट्टराई)

–उषा किरणेम्मा प्रथम महिला राष्ट्रपति हुनु भो । (विद्यादेवी भण्डारी)

–….मेम्पा दाइ सारै फिट रहन्छन् हमेसा (राजेश हमाल) (शुभकामना छ राजेश दाइलाई …. मा छिट्टै नाम लेख्न पाइयोस्)

– आयंकाम्मा जहिले पनि इनर्जेटिक छिन् (प्रियंका कार्की)

अब आफैं मनमनै गुन्नु होस् तपाईं आफू चाहिं के जातिम्पा अथवा के जातिम्मा पर्नुभो त ?

यदि बिहे गर्न बाँकी छ भने मन परेको मायालुलाई के जातिम्पा अथवा के जातिम्मा बनाउने मन छ त ?

दक्षिणकोरिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?