
यो विज्ञान र प्रविधिको शताब्दी हो जहाँ प्रविधिलाई पर राखेर जीवन कल्पना गर्न नसकिने अवस्था सिर्जना भइरहेको छ। सूचनाप्रविधिको एउटै लक्ष्य मानव जीवन अझ सहज, सफल र व्यवस्थित बनाउँदै लैजानु हो। आईटी नवप्रवर्तनको मुख्य आयाम हो, आईटीको प्रयोग विना कुनै उद्योग, संस्था वा कम्पनीहरू बाँच्न नसक्ने भइसके। हाम्रो दैनिक जीवनको साथी हुन आर्टिफिसिएल इन्टेलिजेन्स आइपुग्न लाग्यो। यो प्रक्रिया कुन रूपमा बढेर जाला, प्रविधिले कुन रूप धारण गर्दै जाला, नयाँ पुस्ताहरूको हातमा छ।
विदेशतिर केही वर्षको अनुभव भएका दक्ष आईटी विशेषज्ञहरूले सुविधा बाहेक वार्षिक १ देखि ३ लाख डलरसम्म तलब लिने गर्छन्। संसारभर क्षमतावान् आईटी प्रोफेशनलहरूको थामी नसक्नुको माग छ।
सामान्यतः आईटी अथवा सूचनाप्रविधि भन्नाले कुनै पनि कम्प्युटर तथा अन्य भौतिक उपकरणहरूको प्रयोग गरी सबै प्रकारका इलेक्ट्रोनिक डाटाहरू सिर्जना, प्रशोधन, भण्डारण, सुरक्षित र आदानप्रदान गर्ने प्रक्रियालाई बुझिन्छ। आईटीले कुनै किसिमको डाटा (कुनै सिम्बोल, आवाज वा भिडियो आदि) लाई हार्डवेयर र सफ्टवेयरको प्रयोग गरेर जानकारी व्यवस्थापन वा वितरण छिटो, छरितो र विश्वासिलो तरिकाले गर्ने गर्छ। यसले मानव जीवन अझ सहज बनाउँदै लगेको छ।
सरल भाषामा आईटी भन्नाले सफ्टवेयर र हार्डवेयरको संयुक्त हो। संसारका केही प्रसिद्ध हार्डवेयर कम्पनीहरूमा एप्पल, डेल, एलजी, एचपी, इन्टेल, स्यामसङ, सोनी आदि पर्दछन् भने सफ्टवेयर कम्पनीहरूमा माइक्रोसफ्ट, ओरेकल, एप्पल, फेसबुक, गूगल, सेल्सफोर्स आदि हुन्। सफ्टवेयरले हार्डवेयरको मद्दतले काम गर्ने हुनाले उनीहरू एकअर्काका परिपूरक हुन्छन्।
हार्डवेयर वा सफ्टवेयरसँग सम्बन्धित कम्पनीहरू मात्र हैन, एयरस्पेसदेखि रक्षासम्म, अटोमोटिभदेखि रसायनसम्म, कृषि, उद्योग, व्यापारदेखि वित्तीय सेवासम्म अहिले संचालनमा रहेका जुनसुकै सफल कम्पनीको सफलताको लागि आईटीको प्रयोग प्रमुख हुँदै गएको छ, जसका कारण अहिले संसारभर क्षमतावान आईटी प्रोफेशनलहरूको माग थामी नसक्नुको छ। यो माग दिन प्रतिदिन बढ्दो क्रममा छ र कुनै नजिकको समयमा घट्नेवाला छैन।
साना, मझौला तथा ठूला सबै प्रकारका राष्ट्रिय वा बहु-राष्ट्रिय निकायहरूले क्षमतावान् आईटी प्रोफेशनल संसारको जुनसुकै ठाउँबाट ‘अफ-शोर वर्कर’ वा ‘वर्क फ्रम होम’ का रूपमा नियुक्ति गरिरहेका छन्। सँगसँगै, अमेरिका लगायत विकसित देशहरूले लाखौंको संख्यामा दक्ष कामदारको रूपमा आईटी प्रोफेशनलहरू ‘एच-वान बी’ वा अन्य भिसा मार्फत लैजाने गरेका छन्।
हाम्रो छिमेकी मुलुक भारतले ‘एच-वान बी’ भिसाको भरपुर फाइदा उठाएको छ। प्रत्येक वर्ष ५०औं हजारको संख्यामा दक्ष आईटी प्रोफेशनलहरू संसारभर पुग्ने गरेका छन्। केही अनुभव भएका दक्ष आईटी प्रोफेशनलहरूले वार्षिक अन्य सुविधा बाहेकको तलब १ लाख डलरदेखि ३ लाख डलरसम्म छ। उनीहरू देशको आर्थिक प्रगतिको सेतु बनिरहेका छन्।
सँगै विदेशमा रहेका आईटी मेनेजर र निर्देशकहरूले लाखौंको संख्यामा ‘अफ-शोर वर्कर’ का रूपमा भारतबाट कामदार नियुक्त गरी रोजगारी सिर्जना गरिरहेका छन्। उनीहरूको वार्षिक तलब सुविधा भारतीय कम्पनीहरूले दिनेभन्दा धेरै गुणा बढी हुने गरेको छ। विदेशमा अहिले धेरै नेपाली पनि आईटी हायरिङ मेनेजरको रूपमा काम गरिरहेका छन्, नयाँ हायरिङ मेनेजर वा आईटी निर्देशक हुने लाइनमा धेरै नेपाली छन्।
भारतीयहरूले गरे जस्तो ठूलो संख्यामा ‘एच-वान बी’ भिसाको वा ‘अफ-शोर वर्कर’ को फाइदा किन नलिने नेपाली युवाहरूले ? दक्ष जनशक्ति उत्पादन गर्नेतिर अझै किन नसोच्ने, वातावरण किन नबनाउने ?
आईटी प्रोफेशनलको रूपमा काम गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बधित विषयको स्नातक डिग्री हो। सम्बन्धित विषयमा सही डिग्री प्राप्त गर्नु पहिलो शर्त हो। स्नातक डिग्रीले तपाईंको जरा बलियो बनाउन सहयोग गर्छ। स्नातक गरेपछि, कम तलबमै भए पनि केही काम गर्नु वा इन्टर्न वा स्वयंसेवकको रूपमा काम गर्नाले सम्बन्धित विषयको विशेषज्ञ हुन सहयोग गर्छ। इन्टर्न वा स्वयंसेवकको काम गर्न पनि स्नातक डिग्री हुनु आवश्यक छ।
एउटा सफल आईटी विशेषज्ञ हुनको लागि सही शैक्षिक योग्यता र केही अनुभव प्राप्त गरेपछि, तपाईंले मान्यताप्राप्त निकायबाट सम्बन्धित विषयको प्रमाणपत्र (सर्टिफिकेशन) लिन महत्त्वपूर्ण हुन्छ। मोबाइल कम्प्युटिङ र डाटा नेटवर्किङ वा माइक्रोसफ्ट, सिस्को, गूगल, अमेजन वा एप्पल जस्ता ब्रान्डबाट विशेषज्ञ सर्टिफिकेशन लिनु प्रभावकारी हुन्छ। स्नातक डिग्री र केही वर्षको अनुभव र विषयगत प्रमाणपत्र प्राप्त गरिसकेपछि आईटी प्रोफेशनलको रूपमा काम गर्न योग्य मानिन्छ।
अमेरिकासँग एमआईटी छ, भारतसँग आईआईटी छ, र त उनीहरूसँग उद्योग, संस्था र व्यवसायहरू छन्। उनीहरूका व्यवसायहरू फुर्तिलो, चुस्त, गतिशील छन् र त सफल छन्। राम्रा ठूला कम्पनीहरू एमआईटी र आईआईटीका विद्यार्थी भर्ती गर्न मरिहत्ते गर्छन्। हामीसँग पनि एमआईटी र आईआईटीको प्रतिस्पर्धा गर्न सक्ने विश्वविद्यालय भए र क्षमतावान् उत्पादनहरू छन् भनेर संसारलाई देखाउन सके, हाम्रो सानो सुन्दर देशले नयाँ आशा पाउने थियो।
जसरी एमआईटी र आईआईटीका विद्यार्थी भर्ती गर्न पाउँदा कम्पनीहरू हर्षित हुन्छन्, नेपाली आईटी विश्वविद्यालयको विद्यार्थी भर्ती गर्न पाउँदा कम्पनीहरू हर्षित बन्ने वातावरण बनाउन सके के नै बिग्रिन्थ्यो र ? संसारभर रहेका नेपाली हायरिङ मेनेजरले संसारकै शीर्षमध्येको एक नेपालकै आईटी विश्वविद्यालयको विद्यार्थी भर्ती गर्न पाए हाम्रो समृद्धिको राजमार्ग कति फराकिलो हुनेथियो ? हाम्रा आईटी विश्वविद्यालयका विद्यार्थीले गूगल, फेसबुक, टिक-टकलाई प्रतिस्थापन गर्ने कुनै सफ्टवेयर बनाए कस्तो हुन्थ्यो होला?
आईटीले समेट्ने क्षेत्रहरूको न कुनै सीमा छ न यसले नवप्रवर्तनमा खेल्ने भूमिकामा कुनै सीमा राख्छ। हामी फलानाले फलानो उद्योग बन्द गर्यो, फलानाले फलानो उद्योग बेच्यो भनेर तर्क–वितर्क गरेर बसेका छौं। तर फलानो उद्योग बन्द गर्नुपर्ने वा बेच्नुपर्ने अवस्था किन आयो भन्नेतर्फ कहिल्यै तर्क गर्दैनौं। हाम्रा पुराना उद्योग समयसँगै प्रतिस्पर्धी हुँदै गएका थिए–थिएनन् भन्नेतर्फ कहिल्यै सोच्दैनौं। अर्थात् पुरानै कुरामा तर्क गरिरहने कि विश्वव्यापीकरणको युगमा प्रतिस्पर्धी उद्योग, संस्था वा व्यवसायको रचनातिर पनि ध्यान दिने ?
प्रविधि यतिविधि अगाडि दौडिरहेको छ कि अझै पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को मान्यतामा खोलिएका संस्थाहरूकै भरमा परे हाम्रो नयाँ पुस्ता पनि नयाँ प्रविधिको उपभोक्ता बाहेक केही हुने छैन। हाम्रो अभूतपूर्व योग्य युवा जनशक्ति आईटीको उपभोक्ता मात्र बनिरहनुपर्ने कस्तो विडम्बना।
आईटी यस्तो अपार सम्भावना बोकेको क्षेत्र हो जसले जगत रूपान्तरणको तागत राख्छ। सम्भावनाहरूका केही आस्वादन लिन हामीलाई पूर्ण रूपमा समर्पित गैरराजनीतिक स्वतन्त्र विश्वविद्यालय नै चाहिएको छ। जो आईटीका अवयवहरूका छिद्र केलाओस्, नवप्रवर्तनको शंखघोष गरोस्। वर्षमा १०० जना राम्रा क्षमतावान आईटी प्रोफेशनल उत्पादन गर्न सक्यौं भने मात्र केही दशकमा हाम्रो परिचय बदलिनसक्थ्यो। हामीमा नयाँ आशा पलाउन सक्थ्यो। हाम्रा नयाँ पुस्ताले हामीलाई धन्यवाद दिन्थे।
एमआईटी र आईआईटीको प्रतिस्पर्धी आईटी विश्वविद्यालय खोलौं भन्ने हामी धेरै आईटी प्रेमीहरूको हुटहुटी छ। के गर्ने, रहरले मात्र नहुने, सम्पूर्ण प्रयासले मात्र नपुग्ने। चाँडै हामीबीच अर्को सुरेशराज शर्मा चाहिएको छ। हाम्रो हृदयको कामना चाँडै पूरा होस्।
(लेखक सफ्टवेयर इन्जिनियर हुन्।)
प्रतिक्रिया 4