काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र राख्ने व्यवस्था बाहेक अन्य विषयमा ०४७ सालको संविधान उत्तम रहेको बताउनुभएको छ ।
‘म अहिले पनि दाबाका साथ भन्छु, राजाको विषयबाहेक ०४७ को संविधान राम्रो थियो । हामीले ६ महिनामा त्यो संविधान बनाएका थियौं । अहिले पनि काम गरियो भने छोटो समयमा संविधान बनाउन सकिन्छ ।’ अबको ५ महिनाभित्र संविधानको मस्यौदा तयार गर्ने र १ वर्षभित्र संविधान जारी गरिसक्ने उहाँले बताउनुभयो । ‘सहमति नभए नभए जनमत संग्रहबाट टुंगो लगाउनुपर्छ ।’ उहाँले भन्नुभयो ।अघिल्लो संविधानसभाले शान्ति प्रक्रियाको कामसमेत बाँकी रहेकाले समयमा संविधान बन्न नसकेको नेता नेपालको विश्लेषण छ ।
हारमा नआत्तिनोस्, जीतमा नमात्तिनोस्
काठमाडौं २ मा चुनाव जितेपछि नयाँ बानेश्वरमा शुक्रबार जीतको प्रमाणपत्र लिँदै नेता नेपालले जसले हारे पनि या जिते पनि सबैले मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । नेपालले एमाओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भन्नुभयो- ‘जित्दा मात्तिने र हार्दा आत्तिने काम गर्नु हुँदैन । हामी एउटै डुंगाका यात्री हौं, मिलेर सहमतिका आधारमा अगाडि बढ्नुपर्छ ।’ उहाँले भन्नुभयो-‘सहकार्य र सहमतिको राजनीतिलाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने हो, विजयको उन्मादमा एमाले लाग्दैन । विगतमा उहाँहरुमा जीतका उन्माद देखिएको थियो ।’ पहिलो संविधानसभामा दुई सीटबाट पराजय व्यहोरेपछि पार्टी महासचिवबाट राजीनामा दिनुभएका एमाले नेता नेपाललाई पछि एमाओवादी अध्यक्ष प्रचण्डको पहल कदमीमा संविधानसभामा मनोननित गरिएको थियो । यसपटक भने उहाँले दुई स्थानबाट विजय हासिल गर्नुभएको छ । नेता नेपालले निर्वाचनको परिणामा स्वीकार गर्दै संविधान निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्न एमाओवादीलाई अनुरोध गर्नुभयो । ‘निराश नहुनोस्, हिजो उन्मादमा आउनुभयो, एउटा विजयलाई नै उन्माद ठान्नुभयो ।’ उहाँले एमाओवादीतर्फ लक्षित गर्दै भन्नुभयो । जनतामा शीर्ष नेताहरुप्रति वितृष्णा देखिएको र नेताहरुले त्यसलाई बुझ्न नसकेको नेता नेपालको प्रतिक्रिया छ । राजनीतिमा एउटा जीतलाई नै सधैंको जीत या एउटा हारलाई नै सधैंको हार ठान्न नहुने उहाँको प्रतिक्रिया छ । ‘नेताहरुप्रति जनतामा निराशा रहेछ’ एमाले बरिष्ठ नेता नेपालले भन्नुभयो ।
निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ एमाले नेता नेपालले निर्वाचन प्रणालीमा त्रुटी रहेकाले यसलाई सच्याउनुपर्ने बताउनुभयो । ‘निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्छ, निर्वाचनमा त्रुटी पनि हिजो थिए, आज पनि छन्’ उहाँले भन्नुभयो- ‘कर्मचारीले कसैको धम्कीबाट प्रभावित भएर होइन, विधिका आधारमा काम गर्नुपर्छ, हामीले आगामी दिनमा निर्वाचन विधिलाई सुधार्नु पर्छ ।’ कतिपय स्थानको चुनावमा समस्या देखिएको भए कानूनी रुपमा उपचार खोज्न सकिने तर अनुत्तरदायी किसिमले देशैभरिको चुनावलाई अस्वीकार गर्ने काम गर्न नहुने नेता नेपालले बताउनुभयो । वैद्यलाई पनि धन्यवाद एमाले बरिष्ठ नेता नेपालले चुनाव बहिस्कार गरेको वैद्य माओवादीलाई पनि संविधान सभामा सहभागी गराउन एमालेले पहल गर्ने बताउनुभयो । ‘उहाँहरुलाई बहिस्कार गर्ने अधिकार छ, अब संविधान निर्माणमा वैद्यजीहरुलाई पनि समेटेर हिँड्नुपर्छ । देशै आश्चार्यचकित भएको छ । चैत बैसाखमा स्थानीय निर्वाचन गरौं । माओवादीले त संविधानसभामा सहभागी नहुने बताएको छ नि भन्ने पत्रकारहरुको प्रश्नमा एमाले नेता नेपालले भन्नुभयो- ‘जंगलमा भएको माओवादीलाई त ल्याइयो, काठमाडौं आशनमा त राखियो भने यस्ता कुरामा हामी संकीर्ण हुँदैनौं, वैद्य माओवादीलाईसमेत संविधानसभामा सहभागी गराउनेबारे एमालेले पहल कदमी लिन्छ ।
प्रतिक्रिया 4