+
+

‘लेट्स डिस्कभर पाटन दरबार’ नक्सा सार्वजनिक, सम्पदा स्थलबारे विस्तृत जान्न सजिलो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते १०:१९

काठमाडौं । पाटन दरबार क्षेत्रका सम्पदाको अन्वेषण, महत्व र यसप्रति चेतना जगाउन प्रेरित गर्ने उद्देश्यले ‘लेट्स डिस्कभर पाटन दरबार’ नामक नक्सा सार्वजनिक गरिएको छ ।

नेपाली र अंग्रेजी भाषामा बनाइएको यो अन्तरक्रियात्मक नक्सा युवा र वयस्कलाई उपयोगी हुने जनाइएको छ । शुक्रबार आयोजित समारोहमा अमेरिकी राजदूत डीन आर थम्पसनले नक्सा सार्वजनिक गरे ।

काठमाडौं उपत्यका संरक्षण कोषले काठमाडौं उपत्यका हेरिटेज ट्रस्टसँग मिलेर संचालन गरिरहेको ‘शिक्षामा पहुँच कार्यक्रम’ अन्तर्गतको एक हिस्साको रुपमा यसलाई लिइएको अमेरिकी दूतावासले जनाएको छ ।

प्राथमिक र माध्यमिक तहका विद्यार्थीका लागि ऐतिहासिक र सांस्कृतिक सम्पन्नताले भरिपूर्ण यो थलोको भ्रमणलाई रमाइलो, स्मरणीय र तथ्यले भरिपूर्ण बनाउने अवसर सिर्जना गर्नु परियोजनाको उद्देश्य रहेको जनाइएको छ । नक्सा अवलोकनमार्फत विद्यार्थीले ऐतिहासिक सन्दर्भको अनुभव महसुस गर्न सक्ने अपेक्षा लिइएको छ ।

रमाइलो र अन्तरक्रियात्मक गतिविधिमार्फत विद्यार्थीले कलाकृतिको खोजी, यसबारे आफ्नो प्रतिक्रिया र सुझाव दिन सक्नेछन् । ट्रस्टले नक्साको प्रयोग गर्दै यो कार्यक्रम अन्तर्गत प्रत्येक हप्ता निजी र सार्वजनिक विद्यालयका विद्यार्थीलाई पाटन दरबार स्क्वायरको निःशुल्क भ्रमण प्रदान गर्दै आएको छ ।

‘शिक्षामा पहुँच कार्यक्रम’को स्थापना ट्रस्टकी विकास निर्देशक सोफिया एल पाण्डेले गरेकी हुन् । ‘लेट्स डिस्कभर पाटन दरबार’ नक्सा पहिलोपटक सन् २०१७ मा लन्च गरिएको थियो जसमा पाटन संग्रहालयको तीनवटा आँगनलाई प्रस्तुत गरिएको थियो ।

सन् २०१९ मा सार्वजनिक गरिएको दोस्रो नक्सामा दरबार स्क्वायरका चारवटा सम्पदा संरचना समेटिएको थियो । तेस्रो संस्करणमा तीनवटा मन्दिर र स्क्वायरमा प्रशस्त खुला ठाउँ समेटिएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले ट्रस्टमार्फत तेस्रो श्रृंखलालाई सहयोग गरेको हो । कार्यक्रम सुरु भएदेखि नै ७ हजारभन्दा बढी प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीले पाटन दरबार स्क्वायरबारे थप जान्न नक्सा प्रयोग गरेका छन् ।

काठमाडौं भ्याली हेरिटेज ट्रस्ट नेपालको असाधारण र जोखिममा परेका नेपालका वास्तुकला सम्पदाको संरक्षणमा समर्पित स्थानीय, निजी, गैर-नाफामूलक संस्था हो । सन् २००७ देखि ट्रस्टले काठमाडौं उपत्यकाका ४० भन्दा बढी ऐतिहासिक स्थलको पुनस्र्थापना र पुनर्निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?