मिर्चैयाको चियापसलमा संघीयताको कार्यान्वयन
दुई वर्षअघिसम्म उनी सिरहाको मिर्चैया नगरपालिका–१० मथिलेश्वर बजारमा मुरही, कचरी र तरकारी सहितको चियाखाजा पसल चलाउँथिन् । परिवारको गुजाराका लागि स्थानीय हाटमा सानो चिया पसल चलाउने ३१ वर्षीया भाग्यश्री चौधरी अहिले मधेश प्रदेशको सभासद् छिन् ।
प्रदेश सभाको महिला बालबालिका समितिकी सदस्य जनमत पार्टीकी यी सांसद अहिले प्रदेश सभामा महिला बालबालिका सम्बन्धी कानून र नीति बनाउने भूमिकामा छिन् । चर्को महिला हिंसा सामना गर्नुपर्ने समाज र विद्यालय जाने उमेरका धेरै केटाकेटी स्कूल बाहिर भएको परिवेशमा महिला बालबालिका समिति सदस्यका रूपमा भाग्यश्रीको काँधमा ठूलो जिम्मेवारी छ ।
जनमत पार्टीको संसदीय दलकी सचेतक समेत रहेकी भाग्यश्रीले प्रमुख सचेतकको अनुपस्थितिमा त्यो जिम्मेवारी पनि पूरा गर्नुपर्छ । सदन बाहिर समाजले पनि उनको भूमिकाको खोजी गर्छ । समाज रूपान्तरण अहिले उनको मुख्य कार्यसूची हो । ‘हाम्रो गाउँठाउँ, पालिका र क्षेत्रमा रहेका जनताका समस्या सदनमा उठाउँछु । समाधानको प्रयास गर्छु । विकासका लागि समाजमा छलफल गर्छु’, भाग्यश्रीको कार्यसूची स्पष्ट छ ।

दुई वर्ष अघिसम्म चिया बेचेर घर चलाउने विपन्न परिवारकी त्यो पनि बुहारी भाग्यश्री सांसद बन्नुमा उनको लगाव र समयको साथ दुवैले काम गरेको छ । यो थाहा पाउन पाँच वर्ष जति पछाडि फर्कनुपर्छ । २०७५ सालमा मधेश आन्दोलनको रापताप सेलाउँदै गएको बेला डा. सिके राउतको ‘स्वतन्त्र मधेश गठबन्धन’ ‘जनमत पार्टी’मा बदलियो ।
मधेशमा पछि पारिएका, दलित उत्पीडित र निम्न आर्थिक हैसियतका व्यक्तिहरूले ‘अमेरिका पढेका डा. साब’ को नयाँ पार्टी भेटे । यही मेसोमा मथिलेश्वर हाटको ‘आयुष चियापसल’ की पसले भाग्यश्री चौधरी आफ्ना श्रीमान्को साथ र रुचिका कारण विस्तारै राजनीतिमा तानिइन् ।
भन्छिन्, ‘चियापसलमा राजनीतिका कुरा मात्रै सुनेकी म थाहै नपाइँ राजनीतिमा जोडिइसकेकी रहेछु ।’ तर, उनले ‘थाहै नपाई’ भने पनि यस क्षेत्रमा उनी चिनिएकी अभियन्ता भइसकेको तथ्य यहाँका राजनीतिक अगुवाहरूले चाहिं थाहा पाइसकेका थिए ।
‘चियावाली’ संसद्मा
टहरामा खोलेको सानो भए पनि भाग्यश्रीको चिया पसलको कथा दुई दशक पुरानो छ । गाउँको मथिलेश्वर हाटमा २०५४ सालमा पाएको १० ‘स्क्वायर फिट’ जग्गामा भाग्यश्रीका ससुरा धनिकलाल मण्डल र सासू रामोदेवी चियापसल चलाउँथे । पसलमा चियासँगै मुरही, कचरी, चप र समोसा पाइन्थ्यो । सम्पत्तिको नाममा अरू केही नरहेको धनिकलालको परिवारको साँझ–बिहानको चुलो बाल्ने आधार यही ‘आयुष चिया पसल’ थियो ।

‘२०५४ सालमा हाटमा यो ठाउँ पाएपछि माटो र खरको छाप्रोमा पसल चलाएर छोराछोरी हुर्काएँ । पछि बुहारीले सम्हालिन्’, धनिकलाल भन्छन् । २०६६ सालमा धनिकलालका जेठो छोरा निर्मलसँग भाग्यश्रीले अन्तरजातीय विवाह गरिन् । विवाह पछि पनि घर चल्ने आधार यही पसल थियो । सासू–ससुरालाई सघाउने हात थपिए । तर यही बीचमा सासू रामोदेवी परलोक भइन् र पसल चलाउने अभिभारा भाग्यश्रीको जिम्मामा आयो ।
बेलाबखत श्रीमान् निर्मल पनि सघाउँथे । तर २०७० सालदेखि निर्मलको उद्देश्य मोडियो । उनी डा. सिके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ मा जोडिए । २०७४ सालदेखि यो आन्दोलनमा उनी सक्रिय रूपमा लागे । मिर्चैया र गोलबजार क्षेत्रबाट पटक–पटक पक्राउ परे । राज्यको दमन बढ्यो । निर्मललाई नभेटेका बेला प्रहरीले आएर भाग्यश्रीलाई हप्काउन थाल्यो । थुप्रै पटक उनले अपमानित हुनु पर्यो ।
विस्तारै यो परिवारै राजनीतिमा जोडियो । यस बीचमा तीन सन्तान थपिएपछि परिवार ठूलो भयो । हाटको चियापसलबाट मात्रै घर चलाउन सकस भएपछि २०७५ सालमा निर्मल वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगे । त्यहाँ पनि उनी डा. सिके राउतको अभियानसँगै जोडिएर गैरआवासीय मधेशी संघको अध्यक्ष बने । २० महिना विदेशमा खटेर निर्मलले पठाएको पैसाले चियापसलको टहरोसँगै पछाडि जोडिएको दुई धुर घडेरी किने ।
निर्मल घर फर्कंदासम्म मिर्चैयाको मथिलेश्वर बजारमा दुई वटा कुरामा ठूलो परिवर्तन आइसकेको थियो । पहिलो त्यस बेलासम्म डा. सिके राउत स्वतन्त्र मधेशको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्केर जनमत पार्टी स्थापना गरिसकेका थिए । अनि भाग्यश्री पनि मथिलेश्वर हाटकी एउटी चियापसले मात्रै नभएर त्यस क्षेत्रमा चिनिएकी जनमतकी कार्यकर्ता भइसकेकी थिइन् ।
२०७९ को संसदीय चुनाव नजिक आइपुग्यो । जनमत पार्टी पहिलो पटक संसदीय राजनीतिमा चुनाव लड्ने सुरसार गर्न थाल्यो । हिजोसम्म एउटा चिया पसलमा बसेर अरूका राजनीतिका कुरा सुन्ने भाग्यश्री विस्तारै मधेशका हेपिएका र विपन्न मानिसका लागि राजनीति किन महत्वपूर्ण छ भन्ने बुझ्न थालिसकेकी थिइन् ।
गरिब र असहायप्रतिको उनको यो लगाव बुझेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आदिवासी जनजातिको सूचीमा भाग्यश्रीको नाम राखे । महिलामा आदिवासी जनजातितर्फ भाग्यश्रीको नाम ७ नम्बरमा थियो । चुनावी नतिजा आयो । महिलातर्फ जनमतबाट सात जना सांसद बने । यसरी तराईको एउटा हाट बजारमा चिया बेच्ने महिला मधेश प्रदेशको सभासद् हुन पुगिन् ।
उनको गाउँ–टोलमा धेरैले ‘भाग्यश्रीको भाग्य चम्कियो’ भने पनि यो पछिल्ला परिवर्तनहरूको जगमा बनेको नयाँ संविधानले समावेशी नेपालका लागि गरेको व्यवस्थाको एउटा नतिजा थियो । ‘म राजनीति गर्छु, सांसद बन्छु भन्ने सोच्न पनि नसक्ने परिवारबाट आएकी हुँ । मलाई समयले यो मौका दियो’, खुसी हुँदै उनले भनिन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८, पिपराकी भाग्यश्रीले कक्षा १२ सम्म पढेकी छिन् । परिवारकी एक्ली छोरीले गरिब धानुक केटासँग अन्तरजातिय प्रेमविवाह गरेपछि बाबुआमाले उनलाई करिब करिब माया मारेका थिए । तर, विस्तारै आमा र भाइ उनलाई भेट्न आउन थाले पनि बुबाले वास्ता गरेका थिएनन् । तर भाग्यश्री प्रदेश सभा सांसद भएपछि चाहिं बुबाले फोन गरेर बधाई दिएका थिए ।
‘संविधानले दिएको अवसर’
२३ माघ बिहान सवा ११ बजे भाग्यश्रीको घर पुग्दा उनी जनकपुरधाम जान ठिक्क परेकी थिइन् । आफ्नो पुरानो चियापसल अगाडि (अहिले सटर) उभिएर भाग्यश्रीले भनिन्, ‘चुनावभन्दा केही अघि मात्रै यो पसल बन्द गरियो । अहिले त्यहाँ अतिथि राख्ने ठाउँ बनाइएको छ ।’
एउटा जरूरी बैठकमा जान लागेकी भाग्यश्रीले भनिन्, ‘यस क्षेत्रका योजनाहरू कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा छलफल गर्न आज मुख्यमन्त्रीले समय दिनुभएको छ । त्यो बैठकमा जान तयार भएर बसेकी छु ।’
सांसद बनेपछि उनको दिनचर्या फेरिएको छ । अहिले उनी सदनमा कसरी बोल्ने भन्ने अघिल्लो दिन नै तयारी गर्छिन् । कुनै कार्यक्रममा बाहिर जानुपर्ने दिन उनी झिसमिसेमै उठ्छिन् । कहिले सार्वजनिक यातायात चढ्छिन् त कहिले श्रीमान् निर्मल वा स्वकीय सचिव जयनारायणसँग मोटरसाइकलमा ५५ किलोमिटर टाढाको जनकपुरधाम पुग्छिन् ।
भाग्यश्रीको हिजोको संघर्ष देखेका स्थानीयहरू उनी सांसद बनेपछि पनि स्वभाव, व्यवहार र विचार उस्तै रहेको बताउँछन् । स्थानीय बुधनी मण्डलले भनिन्, ‘पहिले पसल चलाउँथिन् । दिनभर पसलमा दुःख गर्थिन् । अहिले उनी बोलेको हामी टिभीमा हेर्छौं । तर, पनि स्वभाव र व्यवहार पहिला जस्तै छ ।’

सदनमा भाग्यश्रीले उठाउने कुरा सरल हुन्छन् । उनी देश किन बनेन भन्ने खालका प्रश्न गर्दिनन् । आफ्ना गाउँठाउँका जनताले भोगेका कुलो, पोखरीका समस्या, महिलाले न्याय नपाएका र तिनमा जोडिएका कानूनका विषयमा आवाज उठाउँछिन् । सदनमा सधैं समय नपाए पनि, शून्य समय वा विशेष समयको सदुपयोग गर्दै आफ्नो धारणा राख्ने गरेको भाग्यश्रीको भनाइ छ ।
उनी भन्छिन्, ‘विशेष समय दल अनुसार बाँडिन्छ । त्यसैले कहिलेकाहीं मात्रै मलाई विशेष समय मिल्छ । तर म दुवै अवसरको उपयोग गर्ने प्रयास गर्छु ।’ उनको अनुभवमा सदनमा उठाउने समाजका मुद्दाहरूमध्ये केही तुरुन्त समाधान हुन्छन् भने केहीलाई समय लाग्छ । ‘गाउँ–पालिका क्षेत्रका मुद्दाहरू बारम्बार उठाउने गरेकी छु । सरकार सुन्छ या सुन्दैन, त्यो बेग्लै कुरा हो । तर, म निरन्तर आवाज उठाउँछु’, उनी भन्छिन् ।
मथिलेश्वर सदाटोलकी कविता सदालाई त अचम्मै जस्तो लाग्छ । उनी भन्छिन्, ‘हिजोसम्म मुरही, कचरीवाली भनेर चिनिने भाग्यश्री अहिले सांसद भएर समाजमा हिंड्नुहुन्छ । सानातिना विवाद त उहाँले गाउँमै मिलाउनुहुन्छ ।’
शुरुआती दिनमा भाग्यश्रीलाई नीति र कानूनका बारेमा सदनमा बोल्नु बहुत मुस्किलको कुरा थियो । राजनीतिका धेरै कुरा उनले चिया पसलमा ग्राहकहरूबाट सुनेको मात्रै थियो । अनुभव थिएन, समाजमा उभिएर बोल्न समेत धक मान्ने उनलाई सदनको पोडियममा पनि बोल्न कठिन भयो । चिट्चिट् भयो, पसिना आयो । तर हिम्मत हारिनन् ।
‘धेरै हिम्मत गरेर बोल्न जान्थें, तर बोल्ने बेलामा मुटुको धड्कन तेज हुन्थ्यो । सोचेको कुरा पनि बिर्सिन्थें’ भाग्यश्री भन्छिन्, ‘एक वर्ष त सिक्नमै लाग्यो । अनि थाहा भयो, शून्य समय र विशेष समयमा कसरी बोल्ने ।’
‘पहिले मलाई राजनीति गन्दा खेल जस्तो लाग्थ्यो । तर, अहिले समाज र देश परिवर्तनको मुख्य माध्यम यही हो भन्ने महसुस हुँदैछ । किनभने जनताको भाग्य र भविष्य तय हुने ठाउँ नै सदन हो । जनताको आवाज उठाउने र सम्बोधन गर्ने जिम्मा राजनीतिलाई छ’ उनले भनिन्, ‘बाहिरबाट देखिने राजनीति र भित्रको वास्तविकता चाहिं निकै फरक छ ।’
आफ्नो क्षेत्र भ्रमणमा जाँदा जनताले सडक निर्माण, खानेपानी, सिंचाइ, मलखाद लगायत विकासका अपेक्षा सांसदलाई राख्छन् । तर, सदन नीति नियम बनाउने ठाउँ भएकाले जनतालाई यो बुझाउन भाग्यश्रीलाई कठिन भइरहेको छ । ‘जनताले भोट दिंदा विकासको अपेक्षा गर्छन्, तर यहाँ आएपछि हाम्रो मुख्य भूमिका नीति, नियम र कानून निर्माण गर्नु हो भन्ने थाहा भयो’, भाग्यश्रीले भनिन् ।
भाग्यश्रीलाई सांसद भन्दा जनता बुझ्ने भइसकेको लाग्छ । ‘आजकल माननीय भन्दा जनता धेरै सचेत र जानकार छन् । हातहातमा मोबाइल र सामाजिक सञ्जालमा सबै कुरा हेर्छन्, बुझ्छन् । अब जनतालाई झुक्याउन गाह्रो छ’, उनी भन्छिन् ।
उनी प्रदेश सभामा पनि महिलामाथि विभेद हुने गरेको बताउँछिन् । दलहरूमा क्षमता अनुसार होइन, लिंग अनुसार पद दिने र हेप्ने गरेको भाग्यश्रीको बुझाइ छ । ‘महिलामाथि सदनमा पनि समानता छैन । कुनै महिला सांसदमा जति धेरै क्षमता भए पनि उनलाई महिला भएकै आधारमा सीमित जिम्मेवारी दिइन्छ । बुझ्नुस्, हेपेरै राखिन्छ’, उनी सुनाउँछिन् ।
आफ्नो काम आफैंलाई चाहिं कस्तो लाग्छ ? भाग्यश्री भन्छिन्, ‘समानुपातिक सांसदलाई धेरै बजेट हुन्न । तर पनि विभिन्न संघ–संस्थासँग सहकार्य गरेर काम गरिरहेकी छु । संविधानले म जस्तालाई जुन अवसर दिएको छ, त्यसको सदुपयोग गर्न कुनै कसर बाँकी राख्दिनँ ।’
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी