अशक्तता चिर्दै, डिजिटल पहुँच दिलाउँदै
इच्छाशक्ति भयो भने शारीरिक रूपमा कमजोर व्यक्तिले पनि बलिया–बाङ्गाको भन्दा अब्बल काम गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण हुन्, काठमाडौं बबरमहलकी सुभासिनी श्रेष्ठ (३६) । उनी नेपालकी यस्ती अपाङ्गता भएकी महिला हुन्, जो शारीरिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिसम्म डिजिटल पहुँच पुर्याउन अहोरात्र खटिइरहेकी छिन् ।
२०४५ सालमा घरकी कान्छी छोरीको रूपमा जन्मिएकी सुभासिनीलाई जन्मजात स्पाइनल कर्डमा समस्या देखियो । ६ महिनाकी हुँदा अप्रेसन त भयो तर पूर्ण रूपमा निको भएन । दुई वर्षकी भएपछि अलिअलि उभिने र हात समाएर हिंड्न सक्ने भइन् । खुट्टाको विकास भने राम्ररी हुन सकेन ।
शारीरिक रूपमा अपाङ्ग भए पनि परिवारको साथ–सहयोग र आफ्नो मिहिनेत भयो भने पढाइ र करिअर एकसाथ अघि बढाउन सकिन्छ भन्ने देखाइन् सुभासिनीले । हिंड्न अप्ठ्यारो भएकोले ५ कक्षासम्म घर नजिकैको क्याम्ब्रिज एकेडेमीमा पढिन् । बाँकी पढाइ साउथ पोइन्ट बोर्डिङ स्कूलमा भयो र त्यहींबाट २०६२ मा फर्स्ट डिभिजनमा एसएलसी पास गरिन् ।

कम्प्युटर साइन्स लिएर प्लस टु पढ्ने उनको इच्छा थियो । यो इच्छामा परिवारले साथ दियो । क्रिमसन इन्टरनेशनल कलेजबाट प्लस टु गरेकी सुभासिनीले कान्तिपुर सिटी कलेजबाट कम्प्युटर साइन्समै स्नातक गरिन् ।
स्नातक सकिने बित्तिकै ‘अनलिमिटेड टेक्नोलोजी’ आईटी कम्पनीमा काम शुरू गरेकी उनले त्यहाँ पाँच वर्षको अनुभव बटुलिन् । त्यसपछि दुई महिना काठमाडौं महानगरपालिका आईटी डिपार्टमेन्टको डिआई ट्रेनिसिपमा काम गरिन् ।
२०७० सालमा रोटरेक्ट क्लबका बारेमा थाहा पाइन् । रोटरेक्टकै एउटा कार्यक्रममा एक जना प्रेरक वक्ता जोसेप निरौला आउँदैछन् भन्ने जानकारी पाइन् । अनि जोसेपको कार्यक्रममा गइन् । जोसेपले भनेका हरेक कुरामा सुभासिनीलाई चाख लाग्यो ।

‘आफ्नो भविष्य कस्तो बनाउने तपाईंकै हातमा छ । कसरी अगाडि बढ्न चाहनुहुन्छ, आफैं तय गर्नुपर्छ । आजैदेखि आफ्नो गोल सेट गरेर अगाडि बढ्नुहोस्’ जोसेपको यो अभिव्यक्तिले सुभासिनी साँच्चै प्रेरित भइन् । त्यसपछि रोटरेक्ट क्लब स्वयम्भूको सदस्यता लिइन् ।
६ महिना सदस्यको रूपमा सक्रिय भएपछि उनी सचिवमा बढुवा भइन् । रोटरेक्ट क्लबमा जोडिएर अरूलाई सहयोग गरिरहँदा त्यसले उनलाई थप सामाजिक कार्य गर्न प्रेरित गर्यो । त्यसपछि क्लबको अध्यक्षमा उम्मेदवारी दिइन् र चयन पनि भइन् । एक वर्ष अध्यक्षको रूपमा काम गर्दा उनले धेरै कुरा सिक्ने मौका पाइन् ।
२०७६ सालसम्मको यात्रा परिवारको साथ र सहयोगमै अगाडि बढिरहेको थियो । अब भने उनलाई परिवारको सहयोग विना नै काम गर्न सकियोस् भन्ने लाग्यो । र, चारपाङ्ग्रे स्कुटर किन्ने निधो गरिन् । भृकुटीमण्डपबाट अपाङ्गता कार्ड बनाइन् र चारपाङ्ग्रे स्कुटर लिइन् । त्यतिबेलासम्म उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि केही गर्नुपर्छ भनेर सोचेकै थिइनन् ।

एकदिन सुभासिनीलाई आफ्ना फुपाजुले ‘अपाङ्गताको क्षेत्रमा काम गर्ने धेरै संस्था छन्, तिमी पनि जोडिनू’ भनेर सल्लाह दिए । त्यसपछि राष्ट्रिय शारीरिक अपाङ्ग संघ, नेपाल (एनएपीडी)मा जोडिएर स्वयंसेवीको रूपमा काम गर्न थालिन् । त्यहाँ काम गर्दा नेपालमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको अवस्था कस्तो छ र उनीहरूको हकहितको लागि के गर्नुपर्छ भन्ने बुझिन् ।
अहिले सुभासिनी एनएपीडीमा कार्यकारी सदस्यको रूपमा संलग्न छिन् । रेनबो डिसएबिलिटी नेपालको एउटा कार्यक्रममा उनी एनएपीडीको प्रतिनिधित्व गरेर पुगेकी थिइन् । त्यहाँ उनको कामबाट प्रभावित भएर सहकार्य गर्ने प्रस्ताव आयो । उनी अहिले रेनबो डिसएबिलिटी नेपालमा सचिवको रूपमा पनि कार्यरत छिन् ।
पढाइ आईटीतिरै भएकाले उनले शारीरिक तथा बौद्धिक रूपमा अपाङ्गता भएका व्यक्तिमा डिजिटल पहुँच कसरी पुर्याउने भनेर काम गरिरहेकी छिन् । सुुभासिनी सुनाउँछिन्, ‘शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि त खासै समस्या हुँदैन । तर दृष्टिविहीनहरूले पनि त ल्यापटप, मोबाइल प्रयोग गर्छन् नि ! उनीहरूलाई त्यसको प्रयोगमा के समस्या हुन्छ र समाधानका लागि के गर्न सकिन्छ भनेर अध्ययन गरिरहेकी छु ।’
हालसालै उनी नेपाल युवा परिषद्मा पनि साधारण सदस्यको रूपमा छनोट भएकी छिन् । साथै रोटरी क्लब अफ काठमाडौं हाइटमा पनि आबद्ध छिन् ।
२०७८ सालमा सुभासिनी आईआईएमएस कलेजमा स्नातकोत्तरमा भर्ना भइन् र २०८० मा पूरा गरिन् । स्नातकोत्तरको थेसिसमा उनको अनुसन्धान पार्किन्सन रोग पत्ता लगाउने मेसिन लर्निङ जस्ता नयाँ प्रविधिमा आधारित छ, जसले स्वास्थ्य र प्रविधिको क्षेत्रमा नयाँ दिशा दिनेछ ।
‘नेपालमा महिलाले कमै अवसर पाएका छन् । त्यसमा पनि अपाङ्गता भएका महिलाले त हरेक कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । अवसर पाउने हो भने अपाङ्गता भएका महिलाले पनि धेरै काम गर्न सक्छन् भन्ने उदाहरणको रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु’, उनी भन्छिन् ।
समाजमा सामान्य व्यक्ति मात्र हैन, अपाङ्गता भएका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक पनि छन् । उनीहरूलाई अन्य व्यक्तिलाई जस्तै व्यवहार गरिनुपर्छ, अवसर दिनुपर्छ भन्ने युवाहरूले बुझ्नुपर्छ । किनकि, युवाको सोचाइ परिवर्तन भए मात्र समाज र देश परिवर्तन हुनसक्छ । यो कुरा बुझाउन आफूले अभियन्ताको रूपमा काम गरिरहेको उनले बताइन् ।
सुुभासिनी प्लस टु पढ्दाको एउटा घटना सम्झन्छिन्— ‘त्यतिबेला बुबाले मलाई कलेज र अफिस लैजाने–ल्याउने गर्नुहुन्थ्यो । एक दिन बुबाले बिहान कलेज पुर्याइदिनुभयो । तर घरमा विशेष काम परेर बेलुका लिन आउन भ्याउनुभएन । घर जान माइक्रो चढें । माइक्रो प्याक भएकाले उभिनुपर्यो । खुट्टाले राम्ररी नटेक्ने भएकोले उभिन गाह्रो भइरहेको थियो । तैपनि कसैले सिट छोडिदिएन । त्यो बेला बसहरूमा अपाङ्गता सिट पनि छुट्याइएको थिएन । शंखमूलमा माइक्रो घुमाउँदा खुट्टाको सन्तुलन बिग्रिएर माइक्रोबाट खसें । त्यो बेला चोट लागेर दुई महिना कलेज नै छुट्यो ।’
त्यतिबेलै सार्वजनिक यातायातमा अपाङ्गको लागि सिट छुट्याइएको भए त्यो दुर्घटना हुँदैनथ्यो भन्ने उनलाई लागेको छ । ‘सार्वजनिक यातायातमा मात्र हैन, विद्यालय तथा अन्य सार्वजनिक स्थानमा पनि अपाङ्गको पहुँच छैन । त्यसैले सार्वजनिक संरचना लगायत अन्य संरचना अपाङ्गमैत्री हुन जरूरी छ’, उनको सुझाव छ ।
कुनै पनि व्यक्तिले सफलता हात पार्न शिक्षाको पृष्ठभूमि राम्रो हुनुपर्छ । तर हाम्रा धेरै विद्यालय अपाङ्गमैत्री छैनन्, जसले गर्दा धेरै शारीरिक रूपमा अपाङ्ग व्यक्तिले पढ्नै पाउँदैनन् । त्यसैले सबैभन्दा पहिले विद्यालयको संरचना अपाङ्गमैत्री हुनुपर्ने सुभासिनीको विचार छ ।

उनी भन्छिन्, ‘केही दिनअघि सेन्टजेभियर कलेज पुगेकी थिएँ । त्यहाँ ह्विलचियर युजरको लागि पनि छुट्टै शौचालय रहेछ । कुरा गर्दै जाँदा थाहा भयो, कलेजमा एक जना विद्यार्थी ह्विलचियर युजर रहेछन्, उनकै लागि छुट्टै शौचालय बनाइएको रहेछ ।’
पछिल्लो समय उनले आईआईएमएस कलेजमा पढाइरहेकी छिन् । उक्त कलेजमा आफूले पढाउने सबै कक्षा भुइँतालामा व्यवस्था गरिदिएर सहज बनाइदिएको सुभासिनी बताउँछिन् । ‘मलाई जस्तै अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि कार्यालय स्थलमा सहज बनाइदिनु जरूरी छ’, उनी भन्छिन् ।
सुभासिनीको कामले महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधि र नेतृत्वका क्षेत्रमा अगाडि बढ्न प्रेरित गरिरहेको छ । उनीहरूको अधिकारको प्रवर्धन र समावेशिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
सुभासिनी श्रेष्ठ युवा नेतृत्व, जलवायु, न्याय र लैङ्गिक समानताकी अभियन्ता हुन्, जसले महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाएको छ । क्षमता र सामाजिक प्रभावले सुभासिनीलाई एक प्रेरणादायी नायक बनाएको छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान दिएको छ ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी