पुष्प दुलाल
१८ भदौ काठमाडौं । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकमध्ये आर्थिक वर्ष २०७०/७१ मा २८ बैंकले मात्रै नाफा कमाएका छन् । उनीहरुको नाफा २३ अर्ब रुपैयाँ छ ।
बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण्का आधारमा नाफा कमाउने बैंकमध्ये नेपाल बैंक बाहेक सबै बैंक सेयरधनीलाई प्रतिफल दिनसक्ने हैसियतमा छन् ।
जनता बैंक सबभन्दा कम (३ प्रतिशत) र नबिल बैंकको सबैभन्दा बढी (६५ प्रतिशत) प्रतिफल दिने हैसियतमा देखिएका छन् ।
सबैभन्दा बढी अर्थात २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको नविलले २० प्रतिशत बोनस र ४५ प्रतिशत नगद लभांसको घोषणा गरिसकेको छ ।
त्यसैगरी एभरेष्टले १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी ६२ प्रतिशत लाभांसको घोषणा गरिसकेको छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । चुक्ता पुँजी कम भएकाले नविलको भन्दा करिब ८० करोड रुपैयाँ नाफा कम भए पनि एभरेष्टले नविलकै हाराहारीमा प्रतिफल वितरण गर्न सफल भएको हो ।
राष्ट्र बैंकले खुद नाफाको २० प्रतिशत रकम साधारण जगेडा कोषमा अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । जस अनुसार बैंकहरुले नाफाको अधिकतम ८० प्रतिशत रकम मात्रै प्रतिफल वितरण गर्न सक्छन् ।
यसैलाई आधार मानेर बैंकहरुले वितरण गर्न सक्ने अधिकतम लाभांसको क्षमता निकालिएको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा देखाएको प्रोभिजनिङ राष्ट्र बैंकले जस्ताको त्यस्तै स्वीकृत गरे यो समाचारमा उल्लेख गरेबमोजिमको अधिकतम प्रतिफल दिन सक्छन् । प्रतिफल कति दिने भन्ने त सम्बन्धित संस्थाको सञ्चालक समितिले निर्णय गर्छ ।
अपरिस्कृत वित्तीय विवरणलाई आधार मान्दा १२ वटा बैंकहरु २० प्रतिशतभन्दा बढी प्रतिफल दिने हैसियतमा देखिन्छन छन् भने ११ बैंकहरुसँग १० देखि २० प्रतिशतसम्म प्रतिफल दिने क्षमता देखिन्छ । त्यसैगरी चार वटा बैंक १० प्रतिशतभन्दा कम प्रतिफल दिने अवस्थामा देखिन्छन भने तीन वटा बैंक प्रतिफल दिने हैसियतमा छैनन ।
एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाए पनि सञ्चित नोक्सानीका कारण सरकारी स्वामित्वको नेपाल बैंकले लाभांस वितरण गर्न पाउँदैन । बैंक २ अर्ब ५९ करोड रुपैयाँ सञ्चित घाटामा छ । त्यसैगरी १ अर्ब ६० करोड रुपैयाँ घाटामा रहेको ग्राण्ड बैंक र २४ करोड रुपैयाँ घाटामा रहेको किष्ट बैंकले लाभांस वितरण गर्न पाउँदैनन । किनभने बोनस ऐनमा घाटामा रहेका संस्थाले बोन वितरण गर्न नपाउने व्यवस्था छ ।
न्यून आर्थिक वृद्धि, अधिक तरलता, तीव्र प्रतिस्पर्धा र राष्ट्र बैंकले स्प्रेड (कर्जा र निक्षेपबीचको व्याज अन्तर) तोकेका कारण बैंकरुको नाफामा वृद्धिमा संकुचन आएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश भट्टराई बताउँछन् ।
बाणिज्य बैंकहरुको अनुमानित लाभांसा दिने क्षमता
बैंक | नाफा रु. करोडमा | लाभांश क्षमता (प्रतिशतमा) |
---|---|---|
नविल बैंक | २३१ | ६५ (घोषणा भइसेको) |
इन्भेष्टमेन्ट बैंक | १९५ | ३७ |
एभरेष्ट बैंक | १५४ | ६२ (घोषण भइसकेको) |
कृषि विकास बैंक | १५० | १२ |
स्टाण्डर्ड चार्टर्ड | १३७ | ५४ |
नेपाल बैंक | १२३ | ० |
ग्लोवल आईएमई | १०१ | १९ |
नेपाल एसविआई | ९२ | २७ |
एनआइसी एशिया | ८१ | २८ |
सिद्धार्थ बैंक | ७९ | ३५ |
एनबी बैंक | ७८ | २८ |
प्राइम बैंक | ६३ | १९ |
सिटिजन्स बैंक | ५६ | २१ |
बैंक अफ काठमाडौं | ५१ | २१ |
लक्ष्मी बैंक | ४८ | २१ |
सानिमा बैंक | ४५ | १६ |
माछापुच्छ्र्रे बैंक | ४५ | १४ |
एनएमवी बैंक | ४१ | १६ |
एनसीसी बैंक | ३७ | २० |
कुमारी बैंक | ३४ | १५ |
मेगा बैंक | ३१ | १० |
सनराईज बैंक | ३० | ११ |
लुम्बिनी बैंक | २४ | १० |
सिभिल बैंक | २४ | ७ |
सेन्चुरी बैंक | १४ | ५ |
जनता बैंक | ८ | ३ |
किष्ट बैंक | (२४) | ० |
ग्राण्ड बैंक | (१६०) | ० |
हिमालयन बैंक | ११० | २६ |
‘यस्तो अवस्थामा पनि अधिकांश बैंकले १० प्रतिशतभन्दा बढी लाभांस दिने हैसियतमा छन्, यो सन्तोषजनक हो’ भट्टराईले अनलाइनखबरसँग भने- केही वर्षपछि सबै वाणिज्यबैंकहरु २० प्रतिशत प्रतिफल दिने हैसियत राख्छन ।
त्यसो त अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको बैंकहरुको नाफा तीन प्रतिशतले अर्थात ५३ करोड रुपैयाँले मात्रै बढी हो । दुई बैंक घाटामा जाँदा बैंकहरुको नाफाको औषत वृद्धिदर तीन प्रतिशतमा सीमित भएको हो ।
विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई ५३ प्रतिशतसम्म लाभांश दिन सक्छ भने इन्भेष्टमेन्ट बैंकले ३७ प्रतिशत र सिद्धार्थ बैंकले ३५ प्रतिशतसम्म प्रतिफल दिनसक्ने हैसियत देखिन्छ ।
तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन नसकेका संस्थाहरुका लागि भने राष्ट्र बैंकले न्यूनतम चुक्ता पुँजी पुग्नेगरी बोनस सेयरको घोषणा गरेर नगद लाभांस वितरण गर्न पाउने व्यवस्था गरेको छ । जसअनुसार एभरेष्ट, बैंक अफ काठमाण्डू, कुमारी, लक्ष्मी, लुम्बीनी र एनसीसी बैंकले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेगरी बोनस सेयर घोषणा गरेपछि मात्रै नगद लाभांस वितरण गर्न पाउँछन् ।
बढी प्रतिफल दिने संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण बढ्छ । लगानीकर्ताको आकर्षणसँगै आपूर्तिभन्दा माग बढी हुदा सो संस्थाको सेयर मुल्य बढ्छ । तर, प्रतिफल दिन नसक्ने तथा कमजोर प्रतिफल दिने संस्थाप्रति लगानीकर्ताहरु आकषिर्त हुँदैनन, जसको असर सेयर मूल्यमा पर्छ ।
सेयरको मूल्यलाई संस्थाको वास्तविक अनुहार देखिने ऐनाको रुपमा पनि विश्लेषण गरिन्छ । ‘त्यसैले बैंकहरु नाफा र संस्थागत शुसासनमा बढी जोड दिन्छन्’ सीइओ भट्टराई भन्छन् ।
प्रतिक्रिया 4