+
+

नेपाली सेनाद्वारा रसुवाबाट ११७ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २८ गते १७:३४

२८ वैशाख, काठमाडौं । नेपाली सेनाले रसुवाको केन्जिङ, स्याङजुङ र लाङटाङबाट ११७ जनालाई सोमबार उद्धार गरेको छ । नेपाली सेनाको सुपर पुमा र भारतको एमआई सेभेन्टिन हेलिकोप्टरबाट ११४ जना स्वदेशी तथा ३ जना विदेशी नागरिकलाई उद्धार गरिएको हो ।

गोर्खाको बारपाक क्षेत्रबाट घाइतेलाई उद्धार गर्दै नेपाली सेना । तस्वीर सौजन्य : नेपाली सेना
गोर्खाको बारपाक क्षेत्रबाट घाइतेलाई उद्धार गर्दै नेपाली सेना । तस्वीर सौजन्य : नेपाली सेना

उद्धार गरिएकाहरुलाई सदरमुकाम धुन्चे ल्याइएको छ । आइतबार पनि नेपाली सेनाले सो क्षेत्रबाट १५ जनालाई उद्धार गरेको थियो ।

यसैगरी भूकम्पले अलपत्र परेका गोरखा जिल्लाबाट १७ जना, धादिङ जिल्लाबाट १८ जनालाई पनि सेनाले उद्धार गरेकोे छ ।

नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गाविसहरुमा अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफूसँग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै उद्धार, राहत पुर्‍याउने तथा भग्नाबशेष हटाउने कार्यलाई निरन्तरता दिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका बिभिन्न स्थानका क्षतिग्रस्त भग्नावशेष हटाउने तथा पुरातात्वीक महत्वका सामानहरु सुरक्षित तरिकाले निकाल्ने काम जारी राखेको छ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका ५४६ स्थानहरुमा नेपाली सेनाको फौज अहोरात्र खटिरहेको छ ।

नेपाली सेनाको मेडिकल टिमले सोमबार गोरखाको लाप्राक, सिन्धुपाल्चोकको चौतारा र रसुवाको धुन्चे ईलाकामा घुम्ती स्वास्थ्य शिविर संचालन गरेको छ । साथै नेपाली सेना तथा मित्रराष्ट्र चीनको संयोजकत्वमा रहेको महामारी नियन्त्रण टोलीले गोरखा र सिन्धुपाल्चोक जिल्लाको बिभिन्न स्थानहरुमा महामारी नियन्त्रण र खतरा मुल्यांकन कार्यक्रम संचालन गरेको छ । बिभिन्न स्थानबाट ल्याईएको शवहरुबाट महामारी तथा संक्रमण फैलन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा स्प्रे टिम स्ट्याण्डवाई राखिएको छ ।

नेपाली सेनाले सोमबार पनि काठमाडौं उपत्यकाका ३४ केन्द्रहरुमा १४ वटा पानी ट्यांकरहरुबाट २ लाख ७९ हजार ५०० लिटर खानेपानी वितरण गरेको छ । यस्तै गोरखा, धादिङ र सिन्धुपाल्चोक जिल्लाका भुकम्प प्रभावित क्षेत्रमा ८ हजार ६५० के.जी. खाद्यान्न तथा ३ हजार ४०० के.जी. राहत सामाग्री पुर्‍याईएको छ ।

विदेशी उद्धार टोली फिर्ता हुने क्रम जारी

बिभिन्न मित्रराष्ट्रहरुबाट आएका खोज तथा उद्धारटोली फिर्ता हुने क्रममा आज मिति २०७२/०१/२८ गतेे दिउँसोसम्ममा १ हजार ५५२ जना खोज तथा उद्धार टोली स्वदेश फिर्ता भइसकेका छन् भने अन्य मित्रराष्ट्रका टोलीहरु क्रमिक रुपमा फिर्ता हुने क्रममा रहेका छन् ।

उद्धार तथा राहत कार्यलाई समन्वयात्मक एवम् थप प्रभावकारी बनाउने सन्दर्भमा सोमबार प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा.को उपस्थितिमा जंगी अड्डा परिसरमा अन्तराष्ट्रिय तथा संघ संस्थाका प्रतिनिधिहरुलाई प्रस्तुतीकरण गर्ने कार्यक्रम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?