१५ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले यस वर्षको गणतन्त्र दिवसमा टुँडिखेल पुगेर आतिथ्य ग्रहण गर्न पाएनन् । बरु उनी शुक्रबार बिहानै बसन्तपुर दरबार परिसरमा भग्नावशेषका ईंटा पन्छाइरहेको अवस्थामा भेटिए ।
प्रधानमन्त्री कोइरालाले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको भग्नावशेष हटाउँदै गणतन्त्र दिवस मनाएका छन् । वयोवृद्ध प्रधानमन्त्री कोइराला बसन्तपुर क्षेत्रमा खटिएका थिए भने अन्य मन्त्रीहरु राजधानीका विभिन्न स्थलमा भग्नावशेष पन्छाउन खटिए ।
पहेँलो हेलमेट र पञ्जा लगाएर प्रधानमन्त्रीले लाइनमा उभिएर ईंटा एक ठाउँबाट अर्को ठाउँसम्म सार्न सहयोग गरे । उनीसँगै उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र सरकारका मुख्य सचिव लीलामणि पौडेल पनि थिए ।
मुख्यसचिव पौडेलले प्रधानमन्त्रीलाई हेलमेट लगाइदिएका थिए ।
उपप्रधानमन्त्री सिंह पनि बेल्चासहित बसन्तपुर दरबार क्षेत्रमा खटिएर सरसफाइमा सहभागी भए । सुटबुटमा चिटिक्क ठाँटिएका सिंहले बेल्चाबाट धुलोमाटो उठाएर एकपाङ्ग्रे ठेलामा राखेका थिए ।
त्यस्तै ललितपुरको पाटनमा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र उर्जामन्त्री राधा ज्ञवाली पनि सरसफाइमा खटिएका थिए । भूकम्पको विपत्ति परेकाले सरकारले यसपटक गणतन्त्र दिवसमा कुनै औपचारिक कार्यक्रम गरेन । शुक्रबार मन्त्रिपरिषदका सबै सदस्यहरु काठमाडौं उपत्यकाका भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेष हटाउन खटिए ।
उनीहरुलाई स्थानीयबासी, सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ताहरु, विदेशी पर्यटकले पनि साथ दिएका थिए ।
तस्वीरमा हेर्नुहोस् र कसले के गरे ?
प्रतिक्रिया 4