+
+

मेरी श्रीमती: ‘सौता’को फोन आउँदा पनि तिमीले सहृयौ

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २१ गते २२:१०

1(1)

बद्री पंगेनी, लोकगायक

भर्खर-भर्खर गाउँमा कच्ची सडक पुगेको थियो, ट्रयाक्टर आउन थालेको थियो । उनको गाउँनेर ट्रयाक्टर फसेछ, म हेर्न गएँ, उनी पनि आइन्, दुवै केटाकेटी थियौँ । हाम्रो हेराहेर भयो, तर उनको हेराइ कता-कता मेरो मनमा गढेझैँ भयो, उनले मायाले हेरेजस्तो लाग्यो ।

भोलिपल्ट स्कुलबाट र्फकंदै थिएँ, मेरी गाउँकी बहिनी, जो उनीसँगै पढ्थिन्, उनले चिठी ल्याएर दिइन्, कल्पे (कल्पना)ले पठाएको भनेर ।

चिठीमा लेखिएको थियो- श्री प्राणभन्दा प्यारो बद्री ! महभन्दा गुलियो, आकाशभन्दा फराकिलो, नदीभन्दा लामो माया, सम्झना… ।

उनी साह्रै राम्री थिइन्, मलाई अघिल्लो दिनको नजर जुधाइमा मैले उनलाई निकै राम्री देखेको थिएँ । अघिल्लो दिनको हेराइ नभन्दै विशेष रहेछ । मैले चिठीको जवाफ पठाएँ । त्यसपछि चिठी आदान-प्रदान चलिरह्यो । यो ८ आठमा पढ्दाको कुरा हो, उनले ६ मा पढ्थिन् । उनी मभन्दा तीन वर्ष कान्छी छिन् ।

मैले गाउने उनी नाच्ने

एउटै स्कुलमा पढ्थ्यौँ । दुवैको घर पाल्पा रामपुर, वडा फरक थियो, मेरो घरबाट उनको घरसम्म हिँडेर जान १५ मिनेट लाग्थ्यो ।

मैले सानैदेखि गाउँथेँ । मेरो गायनमै ध्यान जान्थ्यो । यतिसम्म कि भोलिपल्ट एसएलसी थियो, आज साँझझैँ सांस्कृतिक कार्यक्रम थियो, म गीत गाएर एसएलसी दिन गएको थिएँ ।

हाम्रो पहिलो देखादेख गाउँमा राजनीतिक दलको सांस्कृतिक कार्यक्रमको रिहर्सलमा भयो । त्यसमा मैले गाउने र उनी नाच्ने कुरा थियो ।

मेरो गीत थियो-
तिरिरी दाजै बाँसुरी बज्यो वनैमा ।
दुःख लाग्छ दाजै बाबाको मेरो मनैमा ।।

उनी रिहर्सल त गरिन् । तर, पछि नाच्न आइनन् । यतिञ्जेल मैले उनलाई खासै ख्याल गरेको थिइनँ, तर उनले ख्याल गरेकी रहिछन्, उनले मलाई मन पराउँदिरहिछन्, पछि चिठी पठाएर मात्रै थाहा भयो ।

हाम्रा हुलाकी पाँचजना

म काठमाडौं आउनु अघिसम्म हरेक दिनजसो चिठी चल्थ्यो । आज उनको चिठी आउँथ्यो, त्यसको जवाफ मैले भोलिपल्ट दिनुपथ्र्यो । दिएन भने बबाल हुन्थ्यो । राधा भुजेल, अमृता मल्ल, शान्ति घिमिर उनका हुलाकीमा थिए ।

सुन्दर रेग्मी, टेकबहादुर विक र राधा भुजेल मेरा हुलाकी थिए । हुलाकी साथीहरुसँग कहिलेकाहीँ भेट हुँदा साह्रै रमाइलो लाग्छ । डाँडा, सिल्टुङघारी, खोलाको ढिक, खेतको बीचमा भेट्थ्यौँ । उनलाई भेट्न जाँदा मैले साथी लिएर जान्थेँ ।

स्कुलका विद्यार्थीबीच हाम्रो प्रेमको चर्चा खुब हुन्थ्यो । कक्षा कोठाका बोर्डदेखि बाटोको ढुंगा-ढुंगामा, रुख-केतुकेको पातमा बी प्लस के (बद्री र कल्पना) लेखेको देखिन्थ्यो । स्कुलमा त हाम्रो सुपरहिट जोडी थियो ।

पारिवारिक पृष्ठभूमि

त्यतिबेला उनकी आमा विमला वाशिष्ठ स्कुलकी शिक्षिका हुनुहुन्थ्यो, बुवा गिरिराज वाशिष्ठ पूर्वप्रधानपञ्च, प्रशस्त जग्गा भएको, हुनेखाने परिवार । उहाँहरु उपाध्याय हुुनुहुन्छ ।

मेरो बुवा कृषक हो । उब्जनीले खान पुग्छ । मेरा दुइटी आमा हुनुहुन्छ, म कान्छीतिरको हुँ । अहिले दुवै आमा खसिसक्नुभयो । बुवा घरमै हुनुहुन्छ ।

पाल्पाको रामपुरको श्री दराईं ठाँटी माविबाट मैले एसएलसी गरेँ, ०५५ सालमा । त्यसपछि म काठमाडौं आएँ, गायक बन्न ।
काठमाडौं आएको दिन सुन्धाराको याक होटलमा बस्यौँ, साथीहरु पनि थिए । सौभाग्य भनौँ, सुन्धारामा भर्खरै पुकार दोहोरी साँझ खुलेको रैछ । दोहोरी गाएको सुनेँ, पाँच सय खर्च गरेर दोहोरी साँझ गएँ । गीत गाएँ । मैले गाएको दोहोरीसाँझका साहु मुक्ति गुरुङले मन पराउनुभएछ । उहाँले बोलाएर भन्नुभयो, ‘ए भाइ, यहाँ गीत गाउने जागिर गर्छौ ?’

मैले खोजेकै जागिर थियो, गर्छु भनेँ । ६ वर्षसम्म पुकारमा गीत गाएँ । पुकारमा जागिर गर्दागर्दै पहिलो लोकदोहोरी एल्बम निकालेँ- तानसेन खस्यौली । त्यसपछि क्रमशः पीएन क्याम्पस, ब्युटी नम्बर वान, ससुरालीमा एल्बम निकालेँ । पीएन क्याम्पसले अलिअलि चिनायो ।

चौथो एल्बम ‘ससुरालीमा, ख्यालख्यालमै दिलबस्या कान्छी सालीमा’ले धेरैतिर चिनायो ।  पुकार दोहोरीसाँझ बन्द भएपछि कमलादीमा निरमाया दोहोरीसाँझ खोल्यौँ, चारजना साथी मिलेर । अझै पनि निरमायामा गाउँछु ।

अकस्मात उनको चिठी आउन रोकियो

त्यतिबेला पाल्पाको रामपुरमा एउटा मात्रै फोन थियो । त्यसले यति ठूलो भेगलाई धान्नुपथ्र्यो कि एक कल फोन गर्ने पालो आउन दुई-तीन दिन लाग्थ्यो । काठमाडौं आइसकेपछि पनि हाम्रो फोनमा कुरा भइरहन्थ्यो, उनले मलाई पुकार दोहोरी साँझको नम्बरमा फोन गर्थिन् । चिठी आदान-प्रदान भइरहन्थ्यो ।

एकचोटि फोन गर्न छाडिन् । मैले फोन गरेर बोलाउन पठाउँदा पनि उनी आइनन् । लामै समय चिठी पठाइनन् । मैले पठाएको चिठीको पनि जवाफ फर्काइनन् । यसरी नै तीन महिना बित्यो, मलाई साह्रै पीडा भयो ।

मलाई लाग्यो, उनले मलाई छोडिन् । त्यही बेला पाल्पा रामपुरमा बृहत सांस्कृतिक कार्यक्रम पर्यो । म काठमाडौं आएर एल्बम निकालिसकेको थिएँ । मलाई पनि त्यहाँ गीत गाउन जाने अवसर मिल्यो । त्यो कार्यक्रम हेर्न उनी र उनकी आमा पनि आउनुभएको थियो ।

गाउँमा सांस्कृतिक कार्यक्रम हुँदा सबै रमाउँछन् । तर, त्यहाँको रमाइलोले मलाई छाऐको थिएन, उनी एकाएक टाढिएकोमै चिन्ता थियो । स्टेजमा गएर मैले गीत गाएँ-

राम्चे वनको जोडी ढुकुर बादलपारि गयो हजुर ।
अन्जानमै लाको माया अलपत्रै भयो हजुर ।।

हाम्रो गाउँमाथिको वनलाई राम्चे वन भनिन्छ । यो गीत सुनेपछि उनी त्यहीँ रोइछन्, त्यहाँ बस्नै नसकेर घर गइछन्, ढोका थुनेर रुँदै रहिछन् । उनकी आमाले ‘किन रोएको, के भो’ भनेर सोध्नुभएछ ।

उनले भनिछन्, ‘म बद्रीबिना बाँच्न सक्दिनँ । ऊसँग बिहे भएन भने म मर्न पनि सक्छु ।’

उनकी आमाले मलाई खबर पठाउनुभयो । गाउँनजिकै बहखोला थियो । उनी, उनकी आमा र म बहखोलाको ढिकमा भेट्ने कुुरा भयो । त्यहाँ भेटेपछि मात्रै उनी टाढिनुको कारण थाहा भयो ।

भएको के रहेछ भने, उनले मलाई थुप्रै चिठी पठाएकी रहिछन् । तर, पोस्ट बक्स नम्बर फरक परेछ । रजिस्टर गरेर पठाएको चिठी ठेगाना फरक पर्यो भने फिर्ता आउँछन् । फिर्ता गएको चिठी उनको बुवाले पाउनुभएछ र घरमा बबालै भएछ ।

यो सबै कुरा सुनेपछि उनीप्रतिको मेरो माया झनै बढेर आयो । मैले उनकी आमालाई भनेँ, ‘म कल्पनाबिना बाँच्न सक्दिनँ ।’
आमाले भन्नुभयो, ‘यस्तो पवित्र माया रहेछ । मैले सामान्य ठानेकी थिएँ । म यो प्रेम असफल हुन दिन्नँ, मेरो वचन भयो । छोरी तिमीले पनि राम्रोसँग पढ्नुपर्छ । तपाईंले आफ्नो कलाकारितामा मन दिएर लाग्नु, उमेर पुगेपछि मैले जसरी हुन्छ, मैले बिहे गरिदिन्छु ।’

badri pangeni

ससुराबाले अर्कै ज्वाइँ खोज्न थालेपछि

आमाको आश्वासन पाएपछि हामी दुवै ढुक्क थियौँ । उनले कलेज पढ्ने, मैले कलाकारितामा केही गर्ने, आत्मनिर्भर र परिपक्व बनेपछि मात्रै बिहे गर्ने सोचेका थियौँ ।

तर, उनको बुवालाई हाम्रो प्रेम स्वीकार्य भएन । कारण के हो, हामीलाई थाहा भएन । म क्षेत्री, साधारण कृषकको छोरा । उनी उपाध्यायकी छोरी, हुनेखाने परिवार । जात, वर्ग मिलेन कि ? जेहोस्, उहाँले छोरीको बिहेका लागि अन्त कुरा चलाउन थाल्नुभएछ ।

आमाले मलाई फोन गर्नुभयो, ‘बुवाले उनको बिहेका लागि केटा हेर्दै हुनुहुन्छ । के गर्ने बाबु ?’

बिहेपछि हामी काठमाडौं आयौँ, आमा र्फकनुभयो । उता उनको बुवा र आमाको बोलचालै बन्द भएछ

उनको बिहे अर्कैसँग भएको त मैले कल्पना गर्न पनि सक्दिनँथेँ । मैले हठात् निर्णय दिएँ, ‘हामी नै बिहे गर्छौं आमा ।

बुटवलमा भेट्ने कुरा भयो । आमाले कल्पनालाई लिएर आउनुभयो, यताबाट मैले अग्रज गायक भगवान भण्डारीलाई लिएर गएँ ।
हामी चारजना बुटवलमा भेट भयौँ र बुटवलको सिद्धबाबाको मन्दिरमा हाम्रो बिहे भयो, १६ असार ०५८ मा । मैले परिवारलाई बोलाउन पाइनँ ।

बिहेपछि हामी काठमाडौं आयौँ, आमा र्फकनुभयो । उता उनको बुवा र आमाको बोलचालै बन्द भएछ, बुवाले छुट्टै पकाएर खान थाल्नुभएछ । तर, बाबुआमाको मन न हो, पछि बिस्तारै बुवाले पनि हामीलाई स्विकार्नुभयो ।

काठमाडौं आएर भोटेबहाल बसौँ, उनलाई खाना बनाउन आउँदैनथ्यो, मैले नै सिकाएँ । पछि ब्युटिपार्लरसम्बन्धी तालिम पनि सिकिन् । तर, छिटै छोरी जन्मेकीले उनले बाहिर कुनै काम-पेसा गर्न पाइनन् ।

बिहेअघि सँगै रोयौँ, बिहेपछि हाँसेकै छौँ

बिहेपछि हामी सँगै हाँसेका छौँ, झगडा गरेका छौँ, तर सँगै रोएका छैनौँ । सँगै रोएको बिहेअघि नै हो । बिहेअघि म काठमाडौंबाट उनलाई भेट्न जान्थेँ । उनलाई भेट्ने दिन नजिकिएदेखि नै मनमा खुसी फुल्न थाल्थ्यो, केटाकेटीमा दशैँ नजिएजस्तो । रमाउँदै भेट्थ्यौँ तर रोएर छुट्टन्थ्यौँ । छुटिनुको पीडा आँसुसँगै पोखिन खोज्थ्यो । कहिलेकाहीँ फोनमा रुन्थ्यौँ ।

शंकैशंकामा झगडा

बिहेका सुरुका वर्ष हाम्रो झगडा हुन्थ्यो । सानै उमेरमा बिहे गरेकाले दुवै व्यावहारिक थिएनौँ, बुझेका थिएनौँ । उनी गाउँकी सोझी केटी, म कलाकार । हाम्रो डेरामा युटिएल फोन थियो, रेस्टुरेन्टमा दोहोरी गाउने केटी साथीहरुको पनि फोन आइरहन्थ्यो ।

बिहेअघि गाउँमा उनी अर्को केटासँग बोल्दा म रिसाउने, म अर्की केटीसँग बोल्दा उनी रिसाउने हुन्थ्यो । तर, सहर आएर कलाकार भइसकेपछि त्यो केटाकेटीपन जोगाउन सम्भव हुने कुरै थिएन । तर, मेरो फोन आउँदा उनले शंका गर्थिन् र ठाकठुक पथ्र्यो ।

पछि मैले मोबाइल लिएँ । मेरा एल्बम चल्न थाले । केटीहरुले मलाई पछ्याउँथे, फोन-म्यासेज आउँथे । कतिले त म्यासेजमा ‘आई लभ यु’ नै भन्थे । उनले शंका गर्थिन्, त्यही कुरालाई लिएर झगडा हुन्थ्यो ।

एकजना केटीले महाराजगन्जबाट फोन गरेर उनलाई भनिछन्, ‘म तेरो बूढाको कान्छी श्रीमती हुँ । मेरो पेटमा बच्चा छ ।’१० वर्षअघिको कुरा हो यो, तर कसले फोन गर्यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन

म सानैदेखि नै अलि घमण्डीजस्तो हुँ, आफूले गल्ती गरेको छैन भने नझुक्ने । त्यसैले झगडापछि फकाउने, बोल्ने उनी नै हुन्छिन् । अर्को, मलाई फकाउन आउँदैन ।

‘सौताको फोन आयो’

एकजना केटीले महाराजगन्जबाट फोन गरेर उनलाई भनिछन्, ‘म तेरो बूढाको कान्छी श्रीमती हुँ । मेरो पेटमा बच्चा छ ।’
त्यतिबेला म सांस्कृतिक कार्यक्रमको सिलसिलामा हङकङ गएको थिएँ । डेरा आउँदा उनी ठुस्केर बसेकी थिइन् । किन रिसाएकी भनेर सोध्दा जवाफ त्यस्तो छ । म पनि छांगाबाट खसेझैँ भएँ ।

युटिएलमा फोन आएको थियो, त्यही नम्बरमा फोन गरेँ । त्यो नम्बर पीसीओको रहेछ । पीसीओबाट जसले पनि फोन गर्न सक्थ्यो, कसले गर्यो भन्ने पत्ता लागेन । मैले उनलाई भनेँ, ‘मलाई विश्वास गर, तिमीलाई छलेर मैले कुनै गल्ती गरेको छैन ।

यो कसको काम हो भन्ने दुवैले पत्ता लगाऊँ ।’ कुरा गम्भीर थियो, मैले भनेर मात्रै हुँदैनथ्यो, उनले विश्वास गर्नुपथ्र्यो । उनले न मलाई विश्वास गर्ने आधार थियो, न त्यो फोन गर्ने केटी झुट हो भनेर विश्वास गर्ने आधार थियो । यो कुराले धेरै दिन तनाव बनायो । दुई-चार दिन बोलचाल भएन ।

महिला महान् हुन्छन्, अहिले मलाई महसुस हुन्छ, यति गम्भीर कुरामा उनी रिसाएर मसँग बोलेकी थिइनन्, तर नबोल्दा पनि मेरा लागि खाना बनाउँथिन्, मैले खाएर सुत्थेँ । उनी छोरीसँग छुट्टै सुत्थिन् । मेरो कमजोरी फकाउन जान्दिनँ, उनको अति नै राम्रो गुण मैले फकाउने कोसिस गरेँ भने उनले मानिहाल्छिन् । मैले ‘होइन, मलाई विश्वास गर । कोही शत्रु लाग्यो होला’ भनिरहेपछि उनी बोल्न थालिन् ।

१० वर्षअघिको कुरा हो यो, तर कसले फोन गर्यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

एकपटक फोन-म्यासेजकै विषयमा हाम्रो झगडा भयो, ठ्याक्कै घटना के थियो भन्ने बिर्सें । उनी पोको-पन्तुरो बोकेर धापासी दिदीकहाँ हिँडिन्, छोरी लिएर । मैले पनि रोकिनँ । मलाई धम्क्याएकी मात्रै हो, जान्न होला भन्ठानेको थिएँ, उनी हिँडिहालिन् । पछि फोनमा कुरा भयो, दुई दिनपछि आफैँ आइन् ।

एकपटक एकजना कलाकार साथीले मेरो गोजीमा कन्डोम हालिदिएछन् । उनले भेटिन् र निहुँ खोज्न थालिन् । मलाई शंका लागेर एकजना साथीलाई फोन गरेँ, साथीले ठट्टा गरेको रहेछ । यो कुरामा त्यति लामो झगडा भएन, उनले विश्वास गरिन् ।
अहिले उनी बुझ्ने भएकी छिन् । मलाई शंका गर्दिनन् ।

दुईपटक थप्पड लगाएको छु

मेरो सानैदेखिको बानी रिस उठेपछि हात उठिहाल्ने । सुरु-सुरुमा उनले नचाहिने कुरामा शंका गर्ने, गनगन गर्ने गर्थिन् । यस्तै कुरामा मैले दुईपटक उनीमाथि थप्पड हानेको छु । छोरी बुझ्ने हुन थालेदेखि मैले रिसलाई निकै कन्ट्रोल गरेँ ।

त्यतिबेला हामी दुवै अपरिपक्व थियौँ । सानैमा बिहे गर्नुपर्यो । उनी यतिसम्म सोझी थिइन् कि सम्झँदा मलाई माया लागेर आउँछ, हात उठाएकोमा पश्चाताप लाग्छ । एकपटक उनलाई पुकार दोहोरी साँझ लिएर गएको थिएँ । जाँड खाएका मानिसले के भनेछन्, उनले हप्काइन् । उनले गरेको त ठीकै थियो । तर, ठाउँ गलत थियो । रेस्टुरेन्टमा जाँड खाएकासँग बोलेपछि लफडा हुन्छ । लफडा हुने देखेपछि मैले उनलाई नै थप्पड हानेर एकातिर लिएर गएँ ।

अहिले हामी दुवै बुझ्ने भएका छौँ । उनले अचेल मप्रति शंका गर्दिर्नन्, कलाकारलाई फोन-म्यासेज आउनु स्वाभाविक हो भन्ने उनले बुझ्न थालिन् । दुई-तीन वर्षयता हाम्रो झगडा भएको छैन ।

खासगरी छोरी बुझ्ने भएदेखि नै हाम्रो झगडामा कमी आउन थालेको हो । छोरीले हाम्रो मायाको पुल बनेर आइन्, ०५८ मा । झगडा गर्दा छोरीले नराम्रो, नरमाइलो मान्छिन् कि भन्ने सोचिँदो रैछ ।

मेरो बुझाइमा श्रीमतीले पुरुषको खुट्टा ढोग्नु राम्रो होइन । उनले मेरो खुट्टा ढोग्न हुन्छ भने मैले पनि उनको खुट्टा ढोग्न हुन्छ

उनले पकाएको खाना खाइदिए पुग्छ

उनी धार्मिक प्रवृत्तिकी छिन् । बेलाबेला व्रत बस्दा उनले मेरो खुट्टा ढोग्न खोज्छिन्, तर मैले सजिलै कहिल्यै पनि दिन्नँ, उनले जबर्जस्ती ढोगेरै छाड्छिन् । कहिलेकाहीँ त उनले ढोगेपछि मैले पनि उनको खुट्टा ढोगिदिन्छु जिस्केर । मेरो बुझाइमा श्रीमतीले पुरुषको खुट्टा ढोग्नु राम्रो होइन । उनले मेरो खुट्टा ढोग्न हुन्छ भने मैले पनि उनको खुट्टा ढोग्न हुन्छ ।

उनी सबैसँग मिल्न सक्छिन्, घुलमिल हुन सक्छिन्, हाँसेर कुरा गर्छिन् । यो गुण मलाई मन पर्छ । उनले शत्रु कमाउँदिनन् ।

कहिलेकाहीँ मलाई बाहिरी कुनै कुराले तनाव हुन्छ, उनलाई सुनाउँछु । उनलाई सुनाएपछि ठूलो तनाव पनि सानोजस्तो लाग्छ । उनले ‘गल्ती नगरे डराउनुपर्दैन, कसैले केही बिगार्न सक्दैन, झुटले जित्दैन, आफैँ बिलाएर जान्छ’ यस्तै-यस्तै भनेर ढाडस दिन्छिन् ।

एकपटक मलाई आरोप आयो, महिलाबारे नै । मैले उनलाई सुनाएँ । उनले भनिन्, ‘तपाईंले गल्ती गर्नुभएको छैन त किन डराउनुहुन्छ, तपाईं नडराउनुस्, म बोल्छु ।’ उनले यसो भनेपछि म ढुक्क भएँ ।

अहिले म दोहोरी गीत प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष छु । योभित्र मेराबारे धेरै नराम्रा चर्चा-परिचर्चा हुन्छन्, आफैँलाई दिक्क लाग्छ, एक दिन मैले उनलाई भनेँ, ‘म प्रतिष्ठान छाड्छु ।’ उनले भनिन्, ‘नछाड्नुस् । एकपटक अध्यक्षमा लड्नुस्, हारजित ठूलो कुरा होइन । को आफ्नो, को पराई भनेर चिन्ने बेलै त्यही हो ।’ भोलि म अध्यक्षमा लडौँला-नलडौँला, बेग्लै कुरा हो । तर, उनको हौसला, ढाडसले धेरै हल्का हुन्छु, तनावमुक्त हुन्छु ।

उनले असाध्यै मलाई केयर गर्छिन् । मैले उनलाई खुसी बनाउन केही गर्नैपर्दैन, गिफ्ट-सरप्राइज दिनुपर्दैन, मात्र उनले पकाएको खाना मजाले खाइदिए पुग्छ ।

झन्डै सात वर्षयता ससुराली पनि काठमाडौं धापासीमा हुनुहुन्छ, घर छ । हामी पनि पछिल्लो समय बढीजसो ससुरालीमै बस्छौँ ।  धापासीमा घडेरी जोडेको छु- साथीभाइ, आफन्तसँग ऋणधन गरेर । घडेरी उनको नाममा ।

मेरो जीवनमा  अरु कोही आएको भए यतिबेलासम्म सम्बन्ध विच्छेद भइसक्ने थियो । किनभने, अरु नारी सहनशील नहुन पनि सक्थे

तिमीलाई भन्नु
काठमाडौं आएर म छोटो मैले लोक गायकको पहिचान बनाएँ । इमेज, हिट्स, अन्नपूर्ण अवार्ड पाएको छु । राज्य जनसेवा श्री प्रबल चौथो पनि पाएको छु ।

यस्तो लाग्छ, मेरो जीवनमा तिमी नआएर अरु कोही आएको भए यतिबेलासम्म सम्बन्ध विच्छेद भइसक्ने थियो । किनभने, अरु नारी तिमी जत्तिको सहनशील नहुन पनि सक्थे । तिम्रो सहनशीलतालाई कदर गर्न नसकेजस्तो लाग्छ ।

म अलि छिटो रिसाउँछु र छिटो गल्ती महसुस पनि हुन्छ । यो कुरा तिमीले बुझिदेऊ । यसअघि दुईपटक तिमीलाई हात उठाएँ, यसमा मेरो ठूलो पश्चाताप छ । म वाचा गर्छु, अब तिमीलाई हात उठाउनेछैन । कुनै झगडा भइहालेछ भने, म कतै निस्कौँला, तर तिमीलाई हात उठाउने छैन । म कलाकार हुँ । मेरो अघिपछि धेरै हुन्छन्, सबै राम्रा नियतका नहुन पनि सक्छन् । भोलि गल्ती-कमजोरीबिना नै कसैले मलाई फसाउन सक्छ, यस्तो भइहालेछ भने पनि झट्ट विश्वास नगर ।

अहिले कलाकारको आयस्रोत भनेको स्टेज प्रोग्राम नै हो, हिँडिरहनुपर्छ । तर, घरमा भएका बेला पनि मोबाइल चलाएर बसेको हुन्छु, पछि टाढा भएपछि महसुस हुन्छ, पछुतो हुन्छ, मैले तिमीलाई समय दिनुपर्थ्यो ।

अहिले मलाई तिमीले जुन खुसी दिएकी छौ, मलाई यति नै काफी छ । तर, मैले तिमीलाई माया गर्न, केयर जानिन कि ? अब म तिमीलाई योभन्दा धेरै माया गर्ने, केयर गर्ने कोसिस गर्नेछु ।

तिम्रो एउटा खराब बानीले भने म हैरान हुन्छु, कुन कुरामा चित्त नबुझेको हो, त्यो भन्दिनौँ, त्यत्तिकै ठुसुक्क परेर बस्छ्यौ, पत्ता लगाउनै दुई-तीन दिन लाग्छ । भने पो थाहा हुन्छ र ? नभनेपछि दुई-तीन दिन तनाव लिनुपर्छ नि !

प्रस्तुति:  ध्रुवसत्य परियार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?