७ वैशाख, ताप्लेजुङ । मंसिरदेखि रोकिएको ताप्लेजुङस्थित प्रशिद्ध तीर्थस्थल पाथिभराको भेटी चार महिनापछि गनेर बैंकमा जम्मा गरिएको छ । तर, विभिन्न देशका २० वटा नोटहरु भने कुन देशका हुन् भनेर कर्मचारीले पत्तो लगाउन नसकेपछि राष्ट्र बैंकलाई सोधिने भएको छ ।
पाथभिरामा मंसिरयता ४ महिनामा ९ लाख रुपैयाँ भेटी संकलन भएको छ । मन्दिरको भेटी स्थानीय समितिमा राख्ने कि सरकारी समितिमा जम्मा गर्ने भन्ने विषयमा भएको विवादका कारण मंसिरदेखि भेटी संकलन रोकिएको थियो । जम्मा गर्न रोकिएको भेटी ‘पाथिभरा देवी भेटीघाटी व्यवस्थापन समिति’ निर्माण गरी त्यसैको खातामा चार महिनापछि जम्मा गरिएकोे हो ।
मंसिर महिनादेखि हालसम्म जम्मा नभएको करीव ९ लाख रुपैयाँ नगद समितिको खातामा जम्मा गरिएको समितिका सचिव तथा पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताए ।
विदेशी मुद्रा छुट्याउन कर्मचारीलाई हम्मे
मंगलबार मध्यान्न बाह्र बजे संकलन तथा जम्मा भएको पाथिभराको भेटीघाटी सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलन सुरु हुनुपूर्व आयोजनास्थल पुग्दा समितिका सचिव उदय भट्टराई, अध्यक्ष रणबहादुर कार्की र पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका कर्मचारी नविन निरौला विदेशी मुद्रा पहिचान गर्नमा व्यस्त देखिन्थे ।
सजिलै पहिचान गर्न सकिने नेपाली ८ लाख ४१ हजार पाँच सय रुपैयाँ नेपाल बैंकमा जम्मा गरी विदेशी मुद्रा र सुन, चाँदी मात्रै लिएर पत्रकार सम्मेलनमा आएका उनीहरु निर्धारित समयसम्म पनि विदेशी मुद्रा ओल्टाई पल्टाई हेरिरहेका थिए । कारण थियो विदेशी मुद्रा पहिचानको समस्या ।
नेपालमा प्रयोग भइरहने भारतीय रुपैयाँको पहिचान सजिलै गरिए पनि मलेसिया, साउदी, कतार, अमेरिका, हङ्कङ र कुबेतको मुद्रा पहिचान गर्न निकै हम्मे परेको सचिव उदय भट्टराईले बताए ।
कार्यक्रममा आएका प्रहरी र पत्रकारको सहायतामा केही देशका मुद्रा पहिचान गरी सार्वजनिक गरिए पनि २० थान मुद्रा कुन देशका हुन् भन्ने पहिचान गर्न नसकी त्यसै राखिएको छ ।
पहिचान नभएका विदेशी मुद्रा नेपाल राष्ट्र बैकको ताप्लेजुङ शाखाले नलिने भएका कारण प्रधान कार्यलयमा नै सटहीका लागि पठाइने समितिका अध्यक्ष रणबहादुर कार्कीले बताए ।
नेपालीहरु विभिन्न देशमा रहेका र विदेशी तीर्थयात्रीहरु पनि प्रशस्त पाथिभरामा आउने भएका कारण विभिन्न देशका मुद्रा यस मन्दिरमा चढ्ने गरेको हो ।
स्थानीय स्तरमा गठित पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्दन समितिले संकलन गर्दै आएको भेटीघाटी पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आधिकारिक निकायमा जम्मा गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारी समिति पाथिभरा क्षेत्र विकास समितिलाई निर्देशन दिएको थियो ।
सोही विवादका कारण गत मंसिरदेखि संकलित रकम बैंकमा जम्मा हुन छाडेको थियो ।
विवाद मिलाउन दुबै समितिमा रहेका पदाधिकारी समिलित भेटी व्यवस्थापन समिति निर्माण गरी सोही समितिमा जम्मा गर्ने र सार्वजनिक गर्ने विषयमा सहमति भएपछि विवाद टुङ्गिएको हो ।
भेटी व्यवस्थापन समितिमा पहिलोपटक ८ लाख ४१ हजार पाँच सय रुपैयाँ जम्मा गरिएको छ । जम्मा भएको रकम र तीर्थयात्रीले चढाएको गरगहना मंगलबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
गरगहना र बहुमूल्य धातुका सामाग्रीहरु मूल्याङ्कनपछि विक्री गरिने र सो रकम पनि समितिको खातामा जम्मा गरिने समितिका अध्यक्ष रणबहादुर कार्कीले बताए ।
तर, केही भारतीय रुपैयाँ र अन्तराष्ट्रिय मुद्रा भने सटहीका लागि नेपाल राष्ट्र बैंकको प्रधान कार्यालयमा पठाउने समितिले जनाएको छ ।
विवादका कारण चार महिनादेखि भेटी जम्मा हुन रोकिँदा नगद सड्ने अवस्थामा पुगेको थियो । दैनिक सैयौँ दर्शनार्थीले दर्शन गर्ने यस पाथिभरा मन्दिरमा वाषिर्क एक करोडभन्दा बढी रकम भेटीघाटी वापत संकलन हुने गरेको छ ।
प्रतिक्रिया 4