१३ वैशाख, काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्याससँगै फेवातालमा आधुनिक गतिविधि सञ्चालन गर्ने बहस चर्किएको छ । तर, पुराना डुंगा व्यवसायीहरु भने फेवातालमा आधुनिक बोट सञ्चालन गर्न दिने पक्षमा छैनन् ।
वर्षौंदेखि डुंगा चलाएर परिवार पाल्दै आएका उनीहरु आधुनिक बोटहरु सञ्चालन गरेमा आफुहरुको रोजिरोटी नै गुम्ने बताउँछन् ।
फेवाताल साँघुरिदै गइरहेको हुँदा आधुनिक ठूला बोटहरु सञ्चालन गर्न नमिल्ने डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपालीको भनाइ छ । ‘फेवातालको संरक्षणमा कोही चिन्तित छैनन्, तर आधुनिक बोटहरु चलाएर कमाउन खोज्नेहरु धेरै देखिएका छन्’ उनले भने- ‘हामी यसको विरोधमा छौं ।’
फेवातालमा आधुनिकता भित्र्याएर गरिव माझीहरुको पेटमा लात हान्न नपाइने अध्यक्ष नेपाली बताउँछन् । पोखराका सरोकारवालाहरु डुंगा व्यवसायीले फेवातालमा सिन्डिकेट लादिरहेको आरोप लगाउँछन् । यही विषयमा केन्द्रीत रहेर अनलाइनखबरले अध्यक्ष नेपालीसँग गरेको कुराकानीः
फेवातालमा आधुनिक स्पोटस् सञ्चालन गर्ने बहस चलिरहेको छ । यसमा तपाईहरुको भनाइ के छ ?
फेवाताल वर्षेनी पुरिँदै गइरहेको छ, यसमा कसैलाई मतलव छैन । तर, साँघुरिदै तथा पुरिँदै गइरहेको फेवातालमा वाटर स्पोर्टस् सञ्चालन गरी पैसा कमाउन खोज्नेहरु धेरै देखिएका छन् । हामी यहीँ जन्मियौं, हुर्कियौं । फेवातालका बारेमा हामीलाई जति जानकारी कसलाई थाहा छ ? भोलि ताल पुरिँदै गएर डुंगा व्यवसाय त धरापमा पर्ने हो कि भन्ने चिन्ता बढिरहेका बेलामा कसरी सञ्चालन हुन्छ, वाटर स्पोर्टस् ?
ताल वर्षेनी पुरिँदै जाँदा पनि कोही चिन्तित भएको देखिएन । अहिले पोखराको पर्यटन फेवातालमा अडिएको छ । फेवातालकै कारण होटलहरु चलिरहेका छन् । तर, उनीहरु तालको संरक्षण भन्दा पनि कमाउने कसरी भनेर लागिपरेका छन् । हामी डुंगा व्यवसायीलाई जति तालको माया अरुलाई छैन् । ताल कसरी जोगाउने हो भनेर हामी लागिपरेका छौं ।
अहिले फेवातालमा ७/८ डुंगाहरु चलिरहेका छन् । हामी गरीवहरु यहीँबाट भएको आम्दानीबाट बाँचिरहेका छौं । हामीले दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्ने यहीँबाट हो । आधुनिक डुंगा हालेर हामी डुंगा व्यवसायीको मुखमा लात हान्ने हो भने जे गरे पनि भयो । तर, हामी आधुनिक खालका ठूला डुंगा सञ्चालन गर्न दिने पक्षमा छैनौं । ठूला डुंगा चलाएर गरीवको पेटमा लात हान्न पाइँदैन । फेवातालको क्षमता पनि आधुनिक ठूला डुंगा चलाउने छैन ।
बगेको पानीमा त जे गरे पनि हुन्छ, जमेको पानीमा त माटोको सतह बढ्दै जान्छ । अहिले तालको गहिराइ समेत निकै घटिसकेको छ ।
फेवातालको संरक्षण गर्ने आधिकारिक निकाय कुन हो ? तालको संरक्षण गर्ने जिम्मा तपाईहरुको पनि होइन र ?
फेवातालमा पानी जमेर बस्छ । पहिला हामी यहाँको पानी खाएर हुर्कियौं, अहिले हातमा समेत राख्न मिल्दैन । पानी धेरै फोहर भइसकेको छ । यतिमात्र होइन, ताल खुम्चिँदै गइरहेको पनि छ ।
फेवाताल हाम्रो रोजी रोटी भएका कारण यसको संरक्षण गर्ने जिम्मेवारी हाम्रो पनि हो । भोलि फेवाताल रहेन भने धेरैको रोजीरोटी गुम्छ, साथै पोखराको पर्यटन समेत धरापमा पर्न सक्छ । फेवाताल जोगाउने दायित्व सरकार, डुंगा व्यवसायी, होटल व्यवसायी लगायत सबैको हो । तर, खै कोही पनि फेवातालको संरक्षणमा तात्दैनन् । किनभने उनीहरु पैसाको पछाडि दौडिन्छन्, तालप्रति कुनै चिन्ता छैन ।
फेवातालको संरक्षमा कोही पनि अगाडि नसर्ने, तर आधुनिक डुंगा चलाएर पैसा कमाउन खोज्नेलाई यहाँका जनताले छाड्दैनन् । यहाँका डुंगा व्यवसायी र उनीहरुको परिवार आगो भएर निस्कन्छन् । यहाँ ठूला र आधुनिक डुंगा सञ्चालन गरियो भने हजारौंको रोजिरोटी गुम्छ ।
फेवातालमा डुंगा चलाएर जिविकोपार्जन गर्न सुरु भएको कति वर्ष भयो होला ?
०३०/०३२ सालदेखि नै डुंगा व्यवसाय सुरु भएको हो । पहिला लोकल टाइपका डुंगाहरु हुने गर्थे । फाट्ट फुट्ट आउने विदेशी पर्यटकलाई डुंगा चढाउँथ्यौं । विस्तारै स्वदेशी विदेशी पर्यटकको चाप बढ्न थालेपछि नयाँ डुंगा सञ्चालनमा आएका हुन् ।
परम्परागत डुंगासँगै आधुनिक बोटहरु चलाउँदा तपाईहरुलाई पर्ने असर के हो ?
समस्या त ठूलै पर्छ नि । वर्षौंदेखि गरीवले डुंगा चलाउँदै जिविकोपार्जन गरिरहेका छन् । आधुनिक बोट सञ्चालनमा आउने वित्तिकै गरिबहरु मरिहाल्छन् । फेवातालमा नयाँ बोटहरु सञ्चालन गर्नु भनेको गरिवको पेटमा लात हान्नु सरह हो । मुखमा बुझो लगाउनु सरह हो ।
डुंगा व्यवसायमा आश्रति परिवार कति छन् ?
ठूलो संख्या छ । फेवातालमा करिव ७/८ सय डुंगाहरु रहेका छन् । सबैले यही डुंगाबाट हुने आम्दानीबाट परिवार पाल्ने हुन् । एउटा डुंगामा ४/५ जना आश्रति हुन्छन् । भन्नुको मतलव ठूलो संख्या फेवातालमा डुंगा चलाएर जिविकोपार्जन गर्दै आइरहेका छन् ।
डुंगा व्यवसायमा पुस्तान्तरण देखिन्छ कि, एउटा पुस्ता हराउने नयाँ पुस्ता आउने हुन्छ ?
डुंगा व्यवसाय पनि पुख्र्यौली पेसाजस्तै भइरहेको छ । प्रायजसोका बाजेले पनि डुंगा चलाएरै जिविकोपार्जन गरे, बुवाले पनि यसैलाई अंगाले र छोराहरुले पनि यही पेशा गरिरहेको देखिन्छ । तर, कतिपयमा बाउ बाजेले डुंगा चलाएपनि छोरा नातिले नगरेको पनि भेटिन्छ ।
फेवातालमा डुंगाको चाप बढेपछि नयाँ डुंगा थप्न रोकिएको छ । यही कारण नयाँ व्यवसायि थपिने सम्भवना कम हुन्छ । कतिपय होटलहरुले पनि डुंगा चलाउँदै आएका छन् ।
आधुनिक खालका बोटहरु चलाउँदा पर्यटकको चाप बढ्थ्यो होला नि ?
फेवाताल साँघुरिँदै गइरहेको छ । यहाँ आधुनिक खालका बोटहरु सञ्चालन गर्न सक्ने अवस्था छैन । तालको संरक्षणमा नलाग्ने, अनि ठूला बोटहरु चलाउँछु भनेर मात्र हुन्छ र ? तालको अवस्थ्ााका बारेमा हामीलाई जति धेरै कसलाई थाहा होला र । तालको लम्बाई, चौडाइ र गहिराई कति घटेको छ भन्ने हामीलाई थाहा छ ।
आधुनिक खालका डुंगा चलाएर कमाउनुपर्छ भन्ने कतिपयको मानसिकता होला । तर, तालको अवस्था नाजुक भइसकेको कसलाई थाहा छ र । यहाँ त हामीलाई ताल कसरी जोगाउने हो भन्ने चिन्ताले सताउन थालेको छ । फेवाताल जोगाउन धेरै आवाज उठाउँदा कसैबाट सुनुवाइ हुँदैन ।
तर, डुंगा व्यवसायीले फेवातालमा डुंगा सिन्डिकेट लादेको आरोप छ नि ?
आरोप लगाउनेलाई के भन्न सकिन्छ र । आरोप लगाउनेले लगाउँदै जाउन, हामीलाई केही चासो छैन । फेवातालमा आधुनिकता भित्राउँछु भन्नेहरु पहिला फेवातालको संरक्षणमा जुट्नुपर्यो । बाहिर बसेर फेवातालमा आधुनिकता भित्राउँछु भनेर हुँदैन ।
फेवातालमा वाटर फाउन्टेन बनाउने भनिएको छ । यसप्रति तपाईको आपत्ति त छैन होला नि ?
फेवातालमा डुंगा व्यवसायी वर्षौंदेखि आश्रति छन् । यहाँ आधुनिक गतिविधि सञ्चालन गर्नका लागि हामीसँग पनि छलफल गर्नुपर्छ । कुनै गतिविधि सञ्चालन गर्दा फेवातालको रौनकता पनि बढ्ने र हाम्रो डुंगा व्यवसायलाई पनि थप टेवा पुग्छ भने हामी त्यस्ता गतिविधि सञ्चालन गर्न दिन्छौं । तर, आधुनिकताको नाममा फेवाताल संकट पर्ने र हाम्रो रोजिरोटी मेटिने गतिविधि सञ्चालन गर्न खोजिन्छ भने हामी त्यो मान्दैनौं ।
यहाँ २/३ सय जना अटाउने बोटहरु सञ्चालन गर्न खोजिएको छ । मोटरबोट जसले फेवाताल दुषित बनाउँछ, यस्ता गतिविधि पनि सञ्चालन गर्न खोजिँदै छ । यस्ता बोटहरु सञ्चालन गर्न पाइँदैन भनेर हामी त्यसको विरोध गरिरहेका छौं । यस्ता बोटहरु थेग्न सक्ने फेवातालको अवस्था छैन् । फेवाताल पहिलाकै जस्तो तरुनो छैन, बुढो भइसकेको छ ।
प्रतिक्रिया 4