१९ वैशाख, काठमाडौं । पशुपति क्षेत्र वरपर लागु औषध गाँजा कारोबार गर्दै आएका चार महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ११ किलो भन्दा धेरै गाँजा बरामद भएको छ ।
गौशाला प्रहरीले दोलखाको मैनापोखरी-९ की ३२ वर्षीया पार्वती दाहाल, नुवाकोट ककनी-७ की ४४ वर्षीया लालमाया गुरुङ, सिन्धुपाल्चोक फाटकसिला-९ की २३ वर्षीया विद्या अधिकारी र सिरहाबिष्णुपुरकट्टी-७ की २२ वर्षीया सरीता यादवलाई पक्राउ गरेको हो ।
यसैगरी सन्धुली डाँडीगुरासे- ५ घर भइ हाल काठमाडौंको थली बस्दै आएका ५८ वर्षीय दिलबहादुर लामा पनि पक्राउ परेका छन् ।
आइतबार पक्राउ परेका लामाको साथबाट साढे एक किलो, शनिबार पक्राउ परेकी यादवको काठमाडौं विजयचोकस्थित डेराबाट ७ किलो र गुरुङको भक्तपुर ठिमीस्थित डेराबाट २ किलो गाँजा बरामद भएको छ ।
यसैगरी यही वैशाख १६ गते पक्राउ परेकी दाहालको साथबाट एक किलो ४९ ग्राम गाँजा बरामद भएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
तर, हाल सिनामंगल बस्दै आएकी अधिकारीको साथबाट बरामद भएको गाँजाको परिमाण भने प्रहरीले खुलाएको छैन ।
प्रतिक्रिया 4