२४ वैशाख, काठमाडौं । सरकार परिवर्तनको गृहकार्यमा असफल भएपछि नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ । पार्टी सभापति शेरबहादुर देउवा एकपक्षीय ढंगले अगाडि बढेकाले पार्टीको साख गिरेको दुई दर्जन केन्द्रीय सदस्यहरुको छुट्टै भेलाले निष्कर्ष निकालेको छ ।
सरकार परिवर्तन गर्ने योजनामा एमाओवादीले साथ नदिएपछि नेता प्रकाशमान सिंहको संयोजनमा बिहीबार दुई दर्जन कांग्रेस नेताहरुको बेग्लै भेला आयोजना गरिएको थियो ।
सोही भेलाको निष्कर्षअनुसार कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंहलगायतका नेताहरुले शुक्रबारै सभापति देउवालाई भेटेर एकपक्षीय ढंगबाट अघि नबढ्न ध्यानाकर्षण गराएका छन् ।
सभापतिको ध्यानाकर्षण गराउन कोषाध्यक्ष यादव, केन्द्रीय सदस्य सिंहसहित मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्र बडु, दिलबहादुर घर्ती लगायतका नेताहरु बुढानीलण्ठस्थित देउवा निवास पुगेका थिए ।
उनीहरुले सरकार परिवर्तनको गृहकार्यमा कच्चा खेलाडीको जस्तो व्यवहार देखाएको भन्दै देउवाप्रति असन्तुष्टि जनाएको स्रोतले बतायो । पार्टीलाई संस्थागत निर्णयका आधारमा अघि नबढाएको र तयारी राम्रो नगरेको हुँदा एमाओवादीलाई हात लिन नसकिएको र ओली सरकारले निरन्तरता पाएको निष्कर्ष असन्तुष्ट पक्षको छ ।
‘कच्चा खेलाडीको जस्तो व्यवहारले जनतासामू पार्टीको साख गिर्यो,’ कांग्रेसका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘सरकार परिवर्तन जस्तो महत्वपूर्ण बिषयमा पार्टी भित्र आवश्यक छलफलसमेत नगरी अघि बढ्दा परिणाम सकारात्मक आउन सकेन । यस्ता गतिविधिले पार्टीलाई कमजोर बनाउँछ भनेर हामीले ध्यानाकर्षण गराएका हौं ।’
जवाफमा सभापति देउवाले अबदेखि सबैसँग सरसल्लाह गरी अघि बढ्ने प्रतिवद्धता जनाएको ती नेताले बताए ।
शेरबहादुर देउवाले भारतबाट फर्कनासाथ एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका थिए । पार्टीको केन्द्रीय कार्यसमितिबाट निर्णय नै नगरी देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको र पार्टीलाई सत्ताको खेलमा मुछेर छवि धुमिल बनाएको असन्तुष्ट पक्षको आरोप छ ।
यसैबीच कोषाध्यक्ष सितादेवी यादवले धेरै साथीहरुसाग आफू देउवा निवासमा गएको तर आफ्नै पार्टी सभापतिलाई कच्चा खेलाडी नभनेको बताएकी छिन् ।
प्रतिक्रिया 4