Comments Add Comment

विप्लवको बन्दबिरुद्ध पोखरामा प्रदर्शन

Ralley-against-Banda-at-Pokhara

२७ जेठ, पोखरा । विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दबिरुद्ध पोखरामा प्रदर्शन भएको छ । परिवर्तनका लागि युवा र सामाजिक सञ्जाल फेसबुक ग्रुपको मेन्सरुम रिलोडेड नामक संस्थाको संयुक्त आयोजनामा बन्दबिरुद्ध प्रदर्शन गरिएको हो ।

नेपाल सधैं खुल्ला छ भन्दै युवाहरुले मोटरसाइकल र्‍यालीसमेत निकालेका थिए । पोखराको महेन्द्रपुलबाट शुरु भएको र्‍याली पालिखेचोक, तेर्सापट्टी, भैरबटोल, सिद्धार्थचोक, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नयाँबजार हुँदै पुनः महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै परिवर्तनका लागि युवा संस्थाका अध्यक्ष सरोज कोइरालाले बन्द सहेर बस्दा देशै बिग्रन लागेकाले आफूहरुले हिम्मत जुटाएर कार्यक्रम गर्नुपरेको बताए । उनले यो वा त्यो बहानामा बन्द हुँदा देश नै खत्तम हुन लागेको भन्दै आगामी दिनमा जुनसुकै पार्टी, संगठन वा संस्थाले गरेको बन्दबिरुद्ध पनि कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा युवाहरु सरिता पुरी, शुसन घिमिरे, विश्वदर्शन पराजुली लगायतले बन्दबिरुद्ध युवाहरुले आवाज उठाउनुपर्नेमा जोड दिए । सहेर बस्दाबस्दै देशको अवस्था जर्जर बनेको र अबपनि बसे भविष्य अन्धकारमय हुने चेतावनी दिँदै उनीहरुले बन्दको सबै मिलेर प्रतिकार गर्नुपर्ने बताए ।

र्‍यालीमा करीब ४०/४५ जना सहभागी थिए । पहिलोपटक आयोजना भएकाले सहभागिता कम भएपनि आगामी दिनमा बन्दबिरुद्ध आयोजना हुने कार्यक्रममा पोखरेलीको साथ रहने उनीहरुले विश्वास व्यक्त गरे ।

बन्दबिरुद्ध प्रदर्शन हुँदा बन्दकर्ताहरु कहिँ पनि देखिएनन् । प्रहरीले पोखरा र लेखनाथबाट ४२ जना बन्दकर्तालाई पक्राउ गरेको छ । बन्द खुलेपछि बन्दकर्तालाई छाडिने कास्की प्रहरीले जनाएको छ । पोखरामा बन्दका समयमा अपि्रय कुनैपनि घटना नघटेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment